
२९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको झण्डै सवा ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा न्यूरोड शाखाका तत्कालिन प्रबन्धक प्रेमहरि ढुंगेल, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बैंकमा विभिन्न व्यक्तिको नाममा प्राप्त एकाउन्ट पेई चेकलाई पुन प्रयोग गरी बैंकका शाखा प्रबन्धकसहित वरिष्ठ कर्मचारीबाट सदर गराई रकम झिकेर मिलेमतोमा हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले तत्कालिन शाखा प्रबन्धक ढुंगेलसँगै, टेलर सहायक दिपिका रेग्मी, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण अधिकृत सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्टा, तारानाथ पाण्डे, अवकाशप्राप्त सहायक रथी रमेशराज विष्ट, दुर्गा ज्वेलर्सका प्रकाश घतानीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाइमास्ने उद्देश्यले बैंकलाई गैर-कानूनी हानिनोक्सानी पुर्याउने योजना बनाई बैंकमा रहेको रकम झिक्ने, निकाल्ने र राख्ने काममा विभिन्न प्रक्रिया मिलाउने र निकालिएको रकम भाग लगाई हिस्सा लिने खाने गरेको अख्तियारले जनाएको छ ।
बैंकमा विभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका एकाउन्ट पेई चेक इलेट्रोनिक माध्यमबाट क्लियरिङ गरी सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरिसकेपछि सोही चेकमा भएको विवरण सच्याई दिपिका रेग्मीले प्रमाणित गरिदिन गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेश गरेको अख्तियारले जनाएको छ ।
त्यसपछि उनीहरुले पुन: प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरु मात्रैका आधारमा उक्त चेक सदर गरेको देखिएको अख्तियारको भनाइ छ । यी सबैको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरीत चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरी कृषि बिकास बैंकलाई ४ करोड २४ लाख १३ हजार ६ सय ११ रुपैयाँ ४५ पैसा नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4