Comments Add Comment

मास महोत्सवमा १७ लाखको कारोबार

२९ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका ८ महादेवटारमा सञ्चालित हाटबजार तथा मास महोत्सवमा साढे १७ लाख रुपैयाँको कारोबार भएको छ ।

भीमसेन थापा गाउँपालिका ८ महादेवटारमा सञ्चालित महोत्सवमा २२ स्टलबाट साढे १७ लाखको कृषि उपज बिक्री भएको आयोजक उद्यमशील साना किसान सहकारी संस्थाले जनाएको छ ।

त्यसबाहेक काठमाडौं, नारायणगढलगायतका ठाउँका ब्यापारीले ८ लाख रुपैयाँको कृषि उपज बुकिङ गरेका अध्यक्ष भरत ढकालले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिका ८ नम्बर वडाको सहयोगमा सञ्चालित मास महोत्सवमा स्थानीय विषादीरहित उत्पादन काउली, गोलभेँडा, मुला, तरुल, मास, भटमास, गहत, बोडी, मस्याङ, बंगुर माछा आदि राखिएको थियो । त्यस्तै मासको मम, समोसा, बारा, फुरौला र खिचडी पनि राखिएको थियो ।

महोत्सवमा पाँच विधामा किसानलाई पुरस्कार पनि दिइएको थियो । खाद्य तथा दालबालीमा वुद्धिबहादुर कुमाल, तरकारी र फलफूलमा जयराम कुमाल, मसला कन्दमूलबालीमा ओमप्रसाद तिमल्सिना, पशुपंक्षी तथा मत्स्य रमेश दरै, स्टल सजावट तथा सरसफाइमा महादेव महिला समूह उत्कष्ट भई एक हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

महोत्सवको सुरुवातमा स्थानीय दरै समूहले पञ्चैबाजासहितको झाँकी प्रदर्शन गरी गाउँ परिक्रमा गरेको थियो । त्यस क्रममा किसानहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गरौं, किसानको पौरख हाम्रो गौरवलगायतको नारा लगाएका थिए ।

महोत्सव उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले यस्तो हाटबजार गाउँपालिकाको आठवटै वडामा विस्तार गर्ने बताए । उद्यमशील सहकारीले अब भीमसेन थापा गाउँपालिका ८ मा हरेक महिनाको मशान्तमा हाट बजार सञ्चालन गर्ने भएको छ । हाटबजारलाई गाउँपालिकाको अन्य वडामा पनि विस्तार गरिने अध्यक्ष ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment