Comments Add Comment

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी, नेकपालाई राहत !

साख फर्काएको भन्दै नेकपा समर्थकमा खुसीयाली

२९ पुस, चितवन । उद्योग वाणिज्य संघ चितवनको ५३ औं साधारणसभाबाट अध्यक्ष पदमा नेकपा समर्थक राजु श्रेष्ठ निर्वाचित भएका छन् । उनले कांग्रेस निकट उम्मेदवार ज्ञानेन्द्रमान शाक्यलाई ७८७ मतान्तरले हराउँदै जित निकाले ।

कुल ३ हजार १ सय ७३ मत खसेकोमा श्रेष्ठले १ हजार ९ सय ८० र शाक्यले १ हजार १ सय ९३ मत ल्याए । १८ पदका लागि २५ जनाको उम्मेदवारी परेको थियो । विजयी भएका सदस्यहरु भने मिश्रित छन् ।

५३ औं साधारणसभा एवम् ३६ औं अधिवेशनमा यसपटक अध्यक्ष पदका लागि नेकपा र कांग्रेस समर्थकहरुको टक्कर पेचिलो बनेको थियो । संघको वरिष्ठसहित चार उपाध्यक्ष निर्विरोध भैसकेका छन् । वरिष्ठ उपाध्यक्षमा यसअघि पनि वरिष्ठ रहेका चुननारायण श्रेष्ठ, उपाध्यक्षमा सुमन श्रेष्ठ, चिरञ्जीवि सुवेदी र भोजराज कौडाल निर्विरोध बनिसकेका छन् ।

भाग्यमानी राजु

राजु श्रेष्ठ यसअघिको ५१ औं साधारणसभा तथा ३५ औं अधिवेशनमा निवर्तमान अध्यक्ष सहनलाल प्रधानसँग पराजित भएका थिए । प्रधान र श्रेष्ठ दुवै पूर्वएमाले समर्थक थिए । अहिलेका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र राजु श्रेष्ठ अध्यक्ष पदका आकांक्षी थिए । चुननारायण कांग्रेस समर्थक हुन् ।

चुननारायण अध्यक्ष उठ्दा जति राजुलाई समस्यामा पार्न सक्थे, ज्ञानेन्द्रमान राजुका लागि सजिला प्रतिस्पर्धी थिए । गोलाप्रथामा भाग्य लडाएका राजुले अन्ततः उवासंघ चितवनको नेतृत्व गर्ने अवसर पाए

यही पुस २० गते संघका पूर्व अध्यक्षहरुको पहलमा नेतृत्व सर्वसम्मत गराउने प्रयास भएको थियो । पूर्व अध्यक्षहरुले दुवै आकांक्षीलाई गोलाप्रथामा सहमती गराए । गोलाप्रथाबाट एक अध्यक्ष र अर्को वरिष्ठ उपाध्यक्ष बन्ने सहमतिअनुसार राजुले अध्यक्षको चिठ्ठा ताने, चुननारायणले वरिष्ठको ।

गोलाप्रथाबाट नेतृत्व चयन गर्न खोजिएको भन्दै कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठले पार्टी कार्यालय कमलनगरबाट उवासंघ चितवनको नेतृत्वलाई चुनौती दिए । पार्टी समर्थक नै गोलाप्रथामा सहमत भएकाले कांग्रेसले अर्को अध्यक्षको उम्मेदवार खडा गर्यो ज्ञानेन्द्रमान शाक्य । शाक्य यसअघि २०६८ सालमा भएको संघको अधिवेशनमा डा. तिलचन्द्र भट्टराईसँग पराजित भएका थिए । राजु श्रेष्ठका पक्षमा भोट माग्दै हिँडेका चुननारायणलाई कांग्रेसले ‘दाम्लो चुडाएर’ नहिँड्न चेतावनी मात्रै दिएन, सहमतिबाट पछाडि हटाइ छाड्यो । राजु प्यानल छाडेर उनी शाक्यको प्रचारमा हिँड्न थाले ।

कांग्रेसले वरिष्ठमा उठाएका विष्णु कँडेलको उम्मेदवारी फिर्ता गराएर चुननारायण निर्विरोध बनाइयो । नेकपा समर्थक व्यवसायीहरुले उम्मेदवारी दिन नसक्ने अवस्थामा कांग्रेसले यो सहमति गराउन सफल भयो । सहमतिबाट चुननारायण फिर्ता भएपछि राजुलाई समस्या पार्न सक्ने आंकलन गरिए पनि परिणाम शाक्यको पक्षमा आएन । वरिष्ठ उपाध्यक्ष चुननारायण स्वाभाविक रुपमा अध्यक्षको उम्मेदवार थिए । चुननारायण अध्यक्ष उठ्दा जति राजुलाई समस्यामा पार्न सक्थे, ज्ञानेन्द्रमान राजुका लागि सजिला प्रतिस्पर्धी थिए । गोलाप्रथामा भाग्य लडाएका राजुले अन्ततः उवासंघ चितवनको नेतृत्व गर्ने अवसर पाए ।

राजु श्रेष्ठ २०६४ सालमा उवासंघको पहिलो पटक कार्यसमिति सदस्य भएका थिए । तृतीय उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसमेत बने । उनी होटल ग्राण्ड भ्यू र नेशनल सिटी अस्पतालका सञ्चालक हुन् ।


साख फर्काएको भन्दै नेकपा समर्थकमा खुसीयाली

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिए । उनले उवासंघ चितवनलाई सबैलाई समेटेर लैजाने र उद्योगी व्यवसायीको हितमा सक्रिय हुने बताए ।

गत भदौमा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार छवि गौतम समर्थक उम्मेदवार उमानन्द कँडेलसँग भारी मतान्तरले हारे । जबकी कँडेललाई हराउन पूर्वएमालेको मत नै काफी थियो । यो नतिजाले नेकपाभित्र ठूलै तरङ्ग मात्रै ल्याएन, पार्टीमा क्यान्सर संक्रमणको खतरा बढेको स्वयम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममै भने ।

गृह जिल्ला चितवन बाक्लै आइरहने प्रचण्डको प्रतिष्ठासँग जोडेर यो हारको प्रचार विपक्षीले गर्नु त स्वाभाविक नै थियो तर स्वयम् नेकपा समर्थकहरुले समेत एकअर्कोलाई आरोप प्रत्यारोप गरे । त्यसलगत्तै स्थानीय तहको उपनिर्वाचनमा नेकपाले नसोचेको धक्का भेट्यो ।

चितवनका दुई स्थानीय तहका तीन वडामा भएको चुनावमा नेकपा उम्मेदवार पराजित बने । अरु त अरु तत्कालीन एमालेले प्यालनसहित जितेको भरतपुर महानगरपालिका वडा नं. १६ मा दुवै पार्टी मिल्दासमेत भएको पराजयले नेकपा चितवनभित्र गम्भीर समस्या देखिएको प्रमाणित भयो । प्रचण्डको निर्वाचन क्षेत्रमा समेत पर्ने वडामा भएको हारलाई प्रचण्डको हारका रुपमा पनि कतिपयले अर्थाए । तर, उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठको जितले नेकपाका नेता कार्यकर्ताहरुले राहत महसुस गरेका छन् ।

नेकपा चितवनले उद्योग वाणिज्य संघको निर्वाचनलाई प्रतिष्ठाको विषयसमेत बनाएको थियो । अध्यक्ष उम्मेदवार श्रेष्ठसँग मतभेद राख्ने नेकपा समर्थकहरुसमेत यसपटक उनकै पक्षमा खुलेर लागेको देख्न सकिन्थ्यो । नेकपा समर्थकहरुले सामाजिक सञ्जालहरुमा पार्टी एकढिक्का बन्दाको सुखद परिणाम भन्दै खुसी व्यक्त गरेको देख्न सकिन्छ । श्रेष्ठको जितले व्यवसायीहरुको बीचमा नेकपाको छवि लोकप्रिय रहेको देखिएको विश्लेषण नेकपाका प्रदेश सांसद विजय सुवेदीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment