Comments Add Comment

सबै प्रदेशमा पुग्यो राष्ट्रियसभा निर्वाचनको मतपत्र

२ माघ, काठमाडौं । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याएको छ ।

माघ १ गतेसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछट्टै मतपत्र बनाइएको छ । प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरिएको छ । स्थानीय तहका सदस्यका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरिएको छ ।

माघ ९ गते १८ जना सदस्यका लागि निर्वाचन हुनेछ । जसमध्ये प्रदेश १ बाट महिला, दलित र अन्य समूह गरी तीनजना, प्रदेश २ बाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चारजना, बागमतीबाट महिला र अन्य समूह गरी जम्मा दुई जना निर्वाचित हुनेछन् ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना, प्रदेश ५ बाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी तीनजना, कर्णाली प्रदेशबाट महिला र अन्य समूह गरी दुईजना र सुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना निर्वाचित हुनेछन् ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य ५५० जना र स्थानीय तहका सदस्य १,५०६ जना गरी जम्मा २,०५६ जना मतदाता रहेका छन् ।

जसमध्ये प्रदेश १ मा ३६७ जना, प्रदेश २ मा ३७९ जना, प्रदेश ३ मा ३४८ जना, गण्डकी प्रदेशमा २३० जना, प्रदेश ५ मा ३०५ जना, प्रदेश ६ मा १९८ जना र सुदूरपश्चिम प्रदेशमा २२९ जना मतदाता रहेका आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment