
१ माघ, काठमाडौं । काठमाडौंका मुख्य ६ वटा चोकमा लामो समयपछि ट्राफिक लाइट बल्न थालेका छन् । कालीमाटी, मित्रपार्क, गौशाला, पुरानो वानेश्वर, सिंदरबार, पद्मोदय चोकमा ट्राफिक लाइट जोडेर सञ्चालनमा ल्याइएको हो ।
महाराजगञ्ज र नयाँ बानेश्वर चोकमा डेढ वर्षअघि वर्षदेखि नै लाइट बलिरहेका छन् । सडक विभागमा उपमाहनिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाका अनुसार कालिमाटी र पद्मोदय चोकमा २-२ युनिट लाइट राखिएको छ । अन्य चोकमा भने एक-एकवटा लाइटहरु छन् ।
महाराजगञ्ज र नयाँ बानेश्वर चोकको परीक्षण सफल भएपछि नयाँ चोकहरुमा पनि त्यसलाई विस्तार गरिएको सापकोटाले जानकारी दिए । तीनकुनेमा ३ युनिट ट्राफिक लाइट जोडिए पनि विजुली आपूर्तिको समस्याका कारण चल्न नसकेको विभागले बताएको छ । थापाथलीमा जोडिएको बत्ती मर्मत गर्नुपर्ने अवस्था छ भने कोटेश्वर चोकको ट्राफिक लाइट पनि विजुली आपूर्तिको समस्याले चलेको छैन ।
यी बत्तीहरु नेपाली कम्पनीले नै बनाएका हुन् । नेपाली इन्जिनियरहरुको टिमले बत्ती बनाएर जोडेका हुन् । सडक विभागले यसका लागि एक वर्षअघि नै ठेक्का गरेको थियो । यी चोकहरुमा बत्ती बाल्न विभागले ९७ लाख ५० हजार रुपैयाँमा ठेक्का दिएको थियो । कतिपय चोकमा पुरानै बत्ती मर्मत गरेर चलाइएको छ ।
यी बत्तीहरु जोड्ने काम केही समय अघि नै सकिए पनि परीक्षण गरेर सञ्चालनमा ल्याउन समय लागेको सापकोटाले बताए ।
‘यी बत्तीहृरु स्थानीय प्रविधि हुन्, हामीले यो काममा स्थानीय जनशक्तिलाई नै प्रोत्साहित गर्यौं,’ सापकोटा भन्छन्, ‘ट्राफिक लाइट बलेपछि सवारी व्यवस्थापनमा सहयोग पुगेको छ ।’
यसअघि एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्न खोजिएको थियो । तर, सफल भएन । स्मार्ट लाइट जडान नहुने भएपछि स्थानीय प्रविधिमै आधारित ट्राफिक लाइट बालिएको हो ।
२०७४ सालमा काठमाडौं महानगरपालिका, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।
काठमाडौंका सडकमा ट्राफिक बत्तिहरु ०६५ सालमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा जडान गरिदिएको थियो । तर, पछिल्लो समय ती अधिकांश बत्ती निभेका छन् । उपत्यकाका २० भन्दा बढी चोकका ट्राफिक बत्ती बिग्रिएका छन् ।
‘भविष्यमा इन्टालिजेन्ट ट्राफिक लाइट सिस्टम जोड्नुको विकल्प छैन, तर अहिले यीनै बत्तीले पनि सवारी व्यवस्थापन सहज हुन्छ,’ सापकोटाले भने ।
तर, बानेश्वर चोकको ट्राफिक लाइटमा भने पटक-पटक समस्या पनि आइरहेको छ । कतिपय अवस्थामा अतिविशष्टि व्यक्तिहरुको सवारी हुँदा प्रहरीले बत्ती निभाएर राख्ने गर्दा पनि समस्या हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइट नहुँदा दुर्घटना बढिरहेकाले तत्काल मुख्य चोकहरुमा यसको व्यवस्थापन गर्नुपर्ने माग पटक-पटक गर्दै आएको छ । लाइट नहुँदा आवश्कताभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरीलाई सडकमा सवारी व्यवस्थापनका लागि खटाइरहनु परेको छ ।
प्रतिक्रिया 4