२० असोज, काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मातातीर्थ–चोभार खण्ड निर्माण पूरा भएको छ ।
काठमाडौं मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित विद्युत् प्रवाह हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपास क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप सहज हुने बताए ।
कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसनदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाइएको बताए ।
प्राधिकरणले आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न ८ असोजमा मातातीर्थ–चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । लाइन चार्ज गर्न आवश्यक पूर्वाधार अन्तर्गत चोभार सबस्टेसनमा दुई बे निर्माण गरिएको छ ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन काठमाडौं, ललितपुर र भक्तपुर समेट्ने १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।
आयोजना अन्तर्गत ललितपुर खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीय अवरोधका कारण प्रसारण लाइन निर्माण प्रभावित भएपछि वैकल्पिक रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण अगाडि बढाइएको हो ।
चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका नौ वटा फिडर छन् । उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुना लगायत क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ ।
सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत् भोल्टेज सुधार हुनुका साथै आपूर्ति प्रणाली थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।
मुख्यत: त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसन मार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ ।
मातातीर्थ सबस्टेसनबाट चोभार सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।
चोभार सबस्टेसनबाट चक्रपथ हुँदै ललितपुर लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ । यसका लागि पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ ।
नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।
आयोजना अन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । काठमाडौंतर्फ निर्माण सम्पन्न भएको चोभारसम्मको लाइनलाई चार्ज गर्न लागिएको हो ।
ललितपुरतर्फ भने खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीयवासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरेपछि उक्त खण्डको निर्माण अघि बढ्न सकेको छैन ।
यसका कारण काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने कार्य प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया 4