+
+
Shares

आन्द्राको क्यान्सरबाट बचाउने डाक्टर कश्यपको अभियान

एउटा यस्तो स्वास्थ्य परीक्षण, जसले आन्द्राको क्यान्सरबाट बचाउनसक्छ

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ माघ १ गते २०:३७

१ माघ, काठमाडौं । बच्चा जन्मानासाथ किन खोप लगाइन्छ ?

धेरैलाई थाहा होला खोपले बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास गर्छ । खोपले रोग लाग्ने दर, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी ल्याउँछ । त्यसैले बच्चाहरु जन्मनासाथ सुरु हुने खोप तालिका अधिकांश अभिभावकले पछ्याउछन् ।

बच्चाहरुको खोपजस्तै पाठेघरको मुखको क्यान्सरबाट जोगाउन महिलालाई ‘एचपीभी भ्याक्सिन’ दिनुपर्छ । स्तनको क्यान्सरबाट बच्न लागि ‘मेमोग्राम’ गर्नुपर्छ ।

बच्चालाई रोगविरुद्ध लड्न दिइने भ्याक्सिनजस्तै वयस्कलाई पनि रोगविरुद्ध लड्ने विविध उपचार प्रविधि आइसकेका छन् । यस्ता प्रविधिको सहयोगले रोग लाग्ने सम्भावना भए नभएको थाहा हुन्छ । यस्ता पूर्वतयारीले चेतना त बढ्छ नै, पैसा र समय बरबाद हुनबाट पनि बच्न सकिन्छ ।

कोलोनोस्कोपी गर्दा आन्द्रामा मासुको डल्लो (पोलिभ, ऐँजेरु, ट्युमर) देखियो भने त्यसलाई शल्यक्रिया गरेर फाल्न मिल्छ । ऐँजेरु फालेको १० वर्षसम्म आन्द्रामा क्यान्सर हुने सम्भावना न्यून हुन्छ ।

तर धेरै यस्ता प्रविधिबारे सामान्य  मानिस अनविज्ञ छन् ।

त्यस्तै एक प्रविधि हो– कोलोनोस्कोपी।

यसलाई मेडिकल साइन्सको महत्वपूर्ण आविष्कार मानिन्छ । मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने र आन्तरिक स्थिति थाहा पाउने प्रविधि हो कोलोनोस्कोपी ।

ग्लोबोक्यानको तथ्यांकअनुसार सन् २०१७ अघि नेपालमा पेट तथा ठूलो आन्द्राको क्यान्सर सातौं नम्बरमा थियो । २०१८ को आइपुग्दा यो दोस्रो नम्बरमा आइपुग्यो । फोक्सोको क्यान्सरपछि पेटको क्यान्सर भयावह हुनुको कारण खानपान, नियमित स्वास्थ्य जाँच नगर्नु र व्यायाम नहुनु भएको अध्ययनहरुले देखाएका छन् ।

अध्यनले भन्छ, ‘४५–५० वर्ष उमेर समूहको मानिसले कोलोनोस्कोपी गर्दा पेटको क्यान्सर हुने दर घट्छ । अर्थात कोलोनोस्कोपी गर्दा आन्द्रामा मासुको डल्लो (पोलिभ, ऐँजेरु, ट्युमर) देखियो भने त्यसलाई शल्यक्रिया गरेर फाल्न मिल्छ । ऐँजेरु फालेको १० वर्षसम्म आन्द्रामा क्यान्सर हुने सम्भावना न्यून हुन्छ ।

युरोपका केही देशले नीति नै बनाएर ४५ वर्ष कटेका नागरिकलाई ‘कोलोनोस्कोपी’ गराउने गरेको छ । जसका कारण दक्षिण एसियाका देशमा पेटको क्यान्सरका रोगी बढिरहँदा यूरोपमा घटिरहेका छन् ।

तर नेपालका धेरै मानिसहरु कोलोनोस्कोपीबारे अनविज्ञ छन् । जबकी काठमाडौंका केही केन्द्रीय अस्पतालमा यो प्रविधि उपलब्ध छ । उपत्यकाबाहिरका केही अस्पतालले पनि आफूसँग ‘कोलोनोस्कोपी’ प्रविधि भएको दाबी गरेका छन् ।

तर जनचेतना अभावका कारण कोलोनोस्कोपीको प्रयोग न्यून भएको चिकित्सकहरु बताउँछन् ।

डा. अखिलेशकुमार कश्यप भन्छन्, ‘एकदम सिकिस्त भएर अल्सर बिग्रिसकेपछि क्यान्सरको शंका गर्दै अस्पताल पुगेर कोलोनोस्कोपी गर्ने चलनले हामीकहाँ धेरेलाई बर्बाद बनाएको छ ।’

धेरैले ठान्छन्, कोलोनोस्कोपी महंगो छ। कमजोर आर्थिक अवस्था भएकाहरुले धान्न सक्दैनन्। तर, अधिकाशंले सोचेजस्तै यो प्रविधी महंगो छैन।

वीर अस्पतालमा इन्डोस्कोपीको शुल्क ७५० रुपैयाँ छ भने कोलोनोस्कोपीको शुल्क २ हजार रुपैयाँ छ । वार्डमा भर्ना भएका बिरामीको हकमा यो शुल्कमा ५० प्रतिशत छुट हुन्छ ।

निजी अस्पतालहरुमा भने इन्डोस्कोपीको शुल्क २ हजारदेखि ४ हजार ५ सयसम्म छ भने कोलोनोस्कोपीको शुल्क ४ हजारदेखि १२/१५ हजार रुपैयाँसम्म रहेको पाइन्छ ।

यो रकम पनि तिर्न नसक्नेका लागि एउटा विकल्प छ, ग्यास्ट्रो लिभर फाउण्डेशन नेपाल ।

सरकारले मिर्गौला रोगीको नि:शुल्क डायलासिस गरेको छ । जटिल आठ प्रकारको रोग लागेकाको उपचार गर्न १ लाख रुपैयाँ दिने गरेको छ । तर रोग लाग्नुअघिको पूर्वतयारीबारे ध्यान दिएको छैन । डा. कश्यप भन्छन्, ‘सरकारले जनचेतना नै फैलाएको छैन, कसरी क्यान्सर निर्मुल हुन्छ ?’

****

पेट तथा कलेजो रोगका नामी डा. कश्यपको प्राथमिकतामा सूचीमा समाजसेवा पनि थियो । खर्च धान्न नसकेर उपचार गर्न नसक्ने जनताहरुलाई सेवा गर्न चाहन्थे, तर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बसेर त्यो सम्भव देखेनन् । ग्राण्डी छाडेर पनि केही गर्न सक्ने अवस्था थिएन । किनकी सरकारी सेवाबाट विरक्तिएका उनले पैसा नकमाई मागेर मात्रै समाज सेवा सम्भव नहुने देखेका थिए ।

त्यसो भए के गर्ने त ?

उपाय केही फुरेको थिएन्।

‘प्राइभेट अस्पतालमा काम गर्ने डाक्टरहरु पैसाको पछि मात्र कुद्छ। मर्दा पनि समाजलाई केही दिएर जादैन्।’

बारम्बार यस्ता भनाई सुन्दा तनाव हुनथ्यो। जागिरे जीवनमा आत्मसन्तुष्टी पटक्कै थिएन्।

उनी केहि गरेर देखाउन चाहन्थे। समाजलाई केही योगदान गर्ने हुटहुटी मनदेखि नै जागिरहेको थियो।

त्यही बेला उपाय फुर्यो, ‘ग्याष्ट्रो लिभर कलेजो फाउण्डेशनको।’

मनमनै आफैलाई सोधे, ‘फाउण्डेशन खोलेर के गर्छस् ?’

आफैंले जवाफ दिए, ‘आर्थिक अवस्था कमजोर हुनेको पेट तथा कलेजो रोगको उपचार गर्छु ।’

पेट रोगको उपचारका लागि चाहिने भिडियो एक्स–रे, इन्डोस्कोपी, क्लोनोस्कोपी र अन्य ल्याब सामाग्री आफ्नै थियो । समय छुट्याउनबाहेक अरु समस्या थिएन । अस्पतालको ड्युटीपछि क्लिनिकमा काम गर्नुको साटो साँझ ५ बजेपछि समय दिने निधो गरे । केही साथीले सहयोग गर्ने वचन दिएपछि हिम्मत आयो ।

तर अहिले पनि कतिपय साथीभाइ सोध्छन्, ‘अरुको सेवाको लागि व्याक्तिगत खर्च किन ?’

उनी सहज जवाफ दिन्छन्, ‘अलिकति समय खर्चिएको त हो, मैले कुनै ठूलो समाजसेवा गरेको छैन । आफ्नो कर्तव्य पूरा गरेको मात्रै हो ।’

हो, उनले भनेजस्तै फाउण्डेसनमा आउने सबैलाई ‘कोलोनोस्कोपी’ गर्न आर्थिक क्षमताले भ्याउँदैन ।

त्यसैले विकट ठाउँमा दिसाको नमुना (स्टुल) संकलन गर्न ‘बट्टा’ पठाएका छन् । ती ठाउँबाट ५० वर्ष कटेकाहरुले नमुना पठाउँछन् ।

परीक्षण गर्दा दिसामा ‘आँखाले नदिखिने रगत’ देखियो भने मात्र ‘कोलोनोस्कोपी’ गर्नुपर्छ । त्यसैले ठूलो रकम खर्चनु पर्दैन । कम खर्चमा ठूलो उपलब्धी हुने भएकाले नै डा. कश्यपले फाउण्डेशन चलाउन आँट गरेका हुन् ।

‘एक जनाको दिसा जाँच गर्ने ‘किट’को मात्र २५ रुपैयाँ पर्छ । त्यति खर्च धान्न त म सकिहाल्छु नि’ डा. कश्यप भन्छन्, ‘मेरो उद्देश्य भनेकै ४५/५० वर्ष कटेपछि अनिवार्य ‘कोलोनोस्कोपी’ गराउनुपर्छ भनेर थाहा पाउन् भन्ने हो ।’

डाक्टर कश्यपका अनुसार विकट ठाउँहरुबाट संकलन गरिएको दिसाको नमुनामा रगत देखियो भने ‘कोलोनोस्कोपी’ गरिन्छ ।

कोलोनोस्कोपी गर्दा आन्द्रामा ट्युमर पलाएको भेटियो भने काटेर फाल्नुपर्छ । अहिले सुरुवातको चरणमा वर्षमा ५० जनाको ट्युमर काटेर फाल्ने योजना छ । यसरी क्यान्सर हुनु पहिले केही मानिसलाई बचाउन सकियो भने ठूलो उद्दार हुने उनी बताउँछन् ।

रोगको पहिचान, निदान र उपचार गर्ने उद्देश्य बोकेको उनको फाउण्डेशनमा हाल लगानी र जनशक्ति सीमित भएकाले जटिल केसलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ । साथै फाउण्डेशनमा दर्ता भएका बिरामी सेवाबाट बञ्चित नहुने सुनिश्चित गरिएको छ ।

कोलोनोस्कोपी सरल, प्रभावकारी र कम खर्चिलो हुने भएकाले खर्च धान्न गाह्रो नहुने फाउण्डेशनले बताएको छ ।

डाक्टर कश्यप भन्छन्, ‘अबको १० वर्षपछि मानिसहरुलाई अवश्य चेतना आउँछ होला….।’

सरकारको जयजयकार हुन्थ्यो

सरकारले मिर्गौला रोगीहरुलाई डायलासिस गर्न सहयोग गरेको छ । जटिल आठ प्रकारको रोग लागेकाहरुलाई उपचार खर्च भनेर १ लाख रुपैयाँ दिने पनि नीति दिएको छ । तर रोग लाग्नुअघिको पूर्वतयारीबारे ध्यान नदिएको उनलाई लागेको छ ।

भन्छन्, ‘सरकारले जनचेतना नै फैलाएको छैन, कसरी क्यान्सर निर्मुल हुन्छ ?’

डा. कश्यपको यो पनि दाबी छ कि यदि नीति नै बनाएर काम गर्ने हो भने अहिले सरकारले गरिरहेको भन्दा कम खर्चमा क्यान्सरका रोगी घटाउन सकिन्छ ।

कसरी ?

यसको सरल हिसाब किताब छ उनीसँग ।

पहिलो चरण —४५/५० वर्ष उमेर कटेका मानिसलाई सरकारले नै अनिवार्य कोलोनोस्कोपी गराइदिने ।

दोस्रो चरण—कोलोनोस्कोपी गर्दा आन्द्रामा ऐँजेरु देखिए शल्यक्रिया गरेर निकाल्ने ।

यसो गर्दा १० वर्षसम्म मानिसलाई क्यान्सर नदेखिने डा. कश्यप बताउँछन् ।

‘सरकारले चाहने मात्र हो भने पनि आधा जसो क्यान्सर रोगी घटाउन सकिन्थ्यो । यति सामान्य कुरामा पनि सरकारले ध्यान नदिँदा दिक्क लाग्छ ।’

कोलोनोस्कोपी सम्भव नभए सरकारसँग अर्को विकल्प पनि छ ।

‘४०/४५ वर्षको मानिसहरुहरुको पहिले ‘स्टुल टेस्ट’ (दिसा जाँच) गर्ने, यसो गर्दा एक व्यक्तिको लागि २५ रुपैया पनि खर्च हुन्न’ उनी भन्छन् ‘स्टुल टेस्ट’ गर्दा आखाँले नदेखिने रगत देखिएकाहरुको मात्रै कोलोनोस्कोपी गर्ने ।’

सरकारले चाहने हो भने प्रमुख सरकारी अस्पतालहरुमा कोलोनोस्कोपी मेसिन राख्न गाह्रो पनि छैन । नीति बनाएर कार्यन्वयन गरे धेरै मानिस पेटको क्यान्सरबाट बच्नेछन् र क्यान्सरको उपचारका नाममा सर्वस्व गुमाउनुपर्ने दिन आउँदैनथ्यो ।

डाक्टर कश्यप भन्छन्, यसो गरे सरकारको जयजयकार हुन्थ्यो ।’

डाक्टर कश्यपका दिक्कदारी र आत्मसन्तुष्टि

जनकपुरमा जन्मिएका कश्यप काठमाडौंमै हुर्किए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गरेका उनले भारतको कस्तुर्बा मेडिकल कलेज मणिपालबाट एमडी गरे । अल इण्डिया इनिस्च्युट (एम्स) बाट फेलोसिप सकेपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट डीएम गरे ।

धेरै चिकित्सकहरु समान अनुभव हो, ‘अधिकांश मानिस गाह्रो नपरिकन जचाउँदैनन् । अस्पताल पुग्नको लागि थला पर्नैपर्छ । यस्तै बानीका कारण धेरैले रोग पालिरहेका हुन्छन् ।’

यस्तै बानीका कारण धेरै मानिसहरु रोग पालेर बाँचिरहेका छन्। रोग ढिलो थाहा पाएर ज्यान गुमाएका धेरै बिरामीका परिवारसँग चिकित्सकहरुले साक्षात्कार गरिरहेका हुन्छन्। त्यसैले कश्यपलाई मानिसहरुले समयमै स्वास्थ्य जाँच गरुन भन्ने लाग्छ। अझ ५० कटेकाहरुले कोलोनोस्कोपी गर्न छुटाउनु नहुने भन्दै जोड गरिरहन्छन्। क्यान्सर भइसकेपछि अस्पतालको चक्कर लगाउदा लगाउदै सम्पती सकेर बाँच्न नसकेका परिवारसँग धेरै भेटेकाले पनि दिक्क लाग्छ।

भन्छन्, ‘सरकारले चाहेर गर्ने हो भने त आधा जसो क्यान्सर रोगिहरु त्यतिकै घट्थेँ नि। यति सामान्य कुरामा पनि सरकारले ध्यान नदिदाँ दिक्क लाग्छ।’

डाक्टरी जीवनमा दिक्दारी र आत्मसन्तुष्टि दुबै अनुभव गरिरहेका उनको फाउण्डेशनको कार्यालय नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताल भएको भवनको चौथो तल्लामा छ ।

पेटको समस्या रहेका जो कोहीलाई निःशुल्क काउन्सिलिङ गर्छिन् । ५० वर्ष कटेकाहरुले दिसा जाँच र कोलोनोस्कोपी सेवा निःशुल्क पाउनेछन् । काठमाडौं उपत्यकाहिर भएकाहरुले पनि यहाँ सम्पर्क गर्न सक्छन् ।

कश्यपलाई फाउण्डेशन सुरु गरेसँगै प्रशंसा र अविस्वास गर्नेहरु उत्तिकै सङख्यामा छन्। सोही कारण अहिले देखि नै दिर्घकालिन योजना बनाइसकेका छन्। फाउण्डेशन स्थापनाको सुरुवाती चरणमै राम्रो प्रतिक्रिया पाएको बताउँदै उनी भन्छन्, ‘यो काम सरकारले नै योजना बनाएर गरे देखि धेरै जनताले आन्द्राको क्यान्सरबाट अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो।’

तस्वीरहरु : शं‌कर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?