+

चुरोटलाई नेपालबाट ‘फेज आउट’ नै गर्नुपर्छ

२०८२ जेठ  १७ गते ९:५२ २०८२ जेठ १७ गते ९:५२
Shares
चुरोटलाई नेपालबाट ‘फेज आउट’ नै गर्नुपर्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि कानुनी प्रयास भए पनि सार्वजनिक ठाउँमा धुम्रपान रोक्न समस्या छ।
  • युवा पुस्तामा हुक्का र भेपको प्रवृत्ति बढ्दै गएको र यसले स्वास्थ्यमा गम्भीर असर पार्छ भनिएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमनका लागि प्रयास भएका छन् । राज्यले विज्ञापनमा पूरै प्रतिबन्ध लगाएको छ । त्यो एकदम राम्रो कुरा हो । अनि सुर्तीजन्य पदार्थका बट्टामा चुतावनीमूलक चित्रहरू ९० प्रतिशत, १०० प्रतिशत राख्न लगाउने कानुन पनि आएको छ । त्यो कत्तिको प्रभावकारी भयो, भएन भन्ने अर्को कुरा होला ।

मान्छेहरूले किन्न त्यस्ता चित्र भएका बट्टा फाल्दिने, अरु कागजहरूमा बेर्न । अन्य भाँडामा हाल्ने गर्छन् भन्ने सुनिन्छ । जे भए पनि यसलाई राम्रै प्रयास मान्न सकिन्छ ।

राज्यले गर्न नसकेको के हो भने सार्वजनिक ठाउँहरूमा धुम्रपान गर्नबाट रोक्न । वीर अस्पतालकै छेउमा हेर्ने हो भने, मान्छेले मज्जाले चुरोट तानेर फुकिरहेको देख्न सकिन्छ । त्यो नियन्त्रण गर्न सकिरहेको छैन।

सार्वजनिक ठाउँमा चुरोट सेवन गर्नेका लागि अहिले जरिवाना अहिले १०० रुपैयाँ छ, यो निकै थोरै भयो । त्यसलाई बढाएर ५ हजार पुर्‍यायो भने मान्छेले सार्वजनिक ठाउँमा खाँदै खाँदैन नि । यसमा सरकारले काम गर्नुपर्छ जस्तो लाग्छ ।

अर्कोतर्फ भयावह रुपमा के देखिएको छ भने, हुक्का, भेप(विद्ययुतीय चुरोट) तर्फ युवा पुस्ता धेरै आकर्षित भइरहेको छ । यो निकै नै डरलाग्दो कुरा देखिन्छ । यी पदार्थमा झन् खतरनाक केमिकलहरू छन् भन्ने कुरा आइरहेको छ । चुरोटले भन्दा बढी हानि गर्छ भनिएको छ । त्यो खुलेआम सबैतिर विक्री भइरहेको छ ।

अहिले त यस्तो फेसन आयो कि बेलुका भएपछि केटाकेटीहरू रेस्टुरेण्टतिर जम्मा हुने, हुक्का तान्ने, भेप तान्ने गर्छन् ।

अहिले युवाहरूको यो अवस्था भएपछि भोलिको दिनमा यसले निम्त्याउने भनेको भयावह अवस्था नै हो । अहिलेको यो असर २०–३० वर्षपछि देखिन्छ । त्यतिखेर कसरी सम्हाल्ने भन्ने चिन्ता अहिले लिनुपर्छ । यसका लागि राज्यले सोच्नैपर्छ ।

यसले ती युवाका भावी सन्ततीमा पनि असर गर्छ । जन्मने बालबालिकामा पनि त्यसको असर त पर्छ नै । धुम्रपान गर्नेका बच्चाहरू जन्मदै स्वास्थ्यका हिसाबमा कमजोर हुनसक्छन् । डरलाग्दै स्थिति छन् ।

अहिले क्यान्सर पनि यति धेरै बढेको छ, मैले २००४ तिर पढ्दा यति धेरै क्यान्सर देखिँदैनथ्यो । अहिले हप्तामा दुई देखि तीन जना चिनजानकै मान्छेको फोन आउँछ । ‘क्यान्सर देखियो, यो गर्दे न । यहाँ भन्दे न’ भनेर ।

खाली रोग लागेपछि उपचार गर्ने कुरामा मात्रै राज्य केन्द्रित भएर हुँदैन ।रोग लाग्नै नदिने कुरामा पनि विचार पुर्‍याउनु पर्‍यो । उपचारको कुरा त खर्चैखचै हो नि, त्यो अवस्था आउनु भन्दा पहिला नै सोच्नुपर्ने हुन्छ ।

करिब ३० प्रतिशत क्यान्सरको कारण सुर्तीजन्य पदार्थकै कारण हुन्छ भन्ने विश्वव्यापी तथ्यांक छ र नेपालको अवस्था पनि त्यस्तै छ । यसले सबैभन्दा धेरै गराउने भनेको फोक्सोको क्यान्सर हो । मुखको क्यान्सर, पेटको क्यान्सरमा पनि यसको धेरै भूमिका छ ।

मुत्रथैलीको क्यान्सर पनि धेरै देखिएको छ । त्यसमा पनि सुर्तीजन्य पदार्थको भूमिका छ । तान्दा खेरी फोक्सोमा मात्रै जाँदैन शरीरका अन्य भागमा पनि यसको असर धेरै छ।

धेरै धुम्रपान गर्नेलाई मुटुरोग हुने नै भयो । नसामा रक्तसञ्चार बन्द भएपछि त्यस सम्बन्धि रोगहरू पनि देखिँदैछ । मस्तिष्कका साना नसाहरूमा रगत जान बन्द भएर देखिने रोग ‘स्मल भेसल डिजिज’ अहिले धेरैलाई देखिन थालेको छ ।

चुरोटमा भएको केमिकलले रगतको नसा बिगारिरहेको छ । यसले सोच्ने क्षमतामा असर पार्छ । मान्छे मरि त नहाल्ला तर उसले सोच्ने क्षमतामा कमी आयो भने उसको उत्पादकत्व त घट्यो नि ।

यसले परिवार, समाज र प्रत्यक्ष–अप्रत्यक्ष असर राज्यलाई पनि गरिरहेको छ ।

यसलाई नियन्त्रण गर्न धेरै उपाउ लगाइएको छ तर प्रयोगकर्ता घटेका छैनन् । झन् बढ्दो छन् ।सकेसम्म बिस्तारै चुरोट भन्ने कुरालाई नै फेजआउट गर्नुपनुपर्छ ।

पहिला-पहिला चुरोट भन्ने कुरा नै थिएन, नहुँदा पनि चलेकै थियो । यो मान्छेले नै बनाएको हो, अब असर गर्ने रहेछ भन्ने थाहा पाएपछि मान्छेले नै यसलाई फेजआउट गर्नु आवश्यक छ । भुटानले ननस्मोकिङ कन्ट्री बनाउँछ भने नेपालले किन सक्दैन । राज्य लागिपर्नु पर्‍यो । राज्यले लगानी गर्नुपर्‍यो ।

आजको भोलि त चुरोट खान पाउँदैनौँ भनेर सम्भव छैन । चुरोटको लत लागेको हुन्छ मान्छेलाई, त्योबाट निस्कन गाह्रो हुन्छ । अहिले छाडिहाल भन्दा मान्छे बौलाउन सक्छ। खानेलाई कसरी छोडाउँदै लैजाने र नयाँ पुस्तालाई यसबाट कसरी टाढा राख्ने भन्ने कुराको योजना बनाउनुपर्‍यो ।

चुरोट खराब हो, यसले हानि गर्छ भन्ने कुरा मान्छेको दिमागमा छिनछिनमा पुर्‍याउनु आवश्यक छ । विकसित देशहरूले यति धेरै सचेतनाका कार्यक्रमा गरे कि ध्रूम्रपान एकदमै खराब हो भन्ने कुरा निरन्तर दिइरहे । मान्छेको दिमागमा घुसाउने काम गरिरहे र प्रयोगकर्ता घटाउन सफल भए ।

पश्चिमी देशमा यो व्यवसायलाई कस्दै गएपछि त्यहाँ मुनाफा कमाएकाहरू हाम्रो जस्तो कमजोर नीति भएका देशका मान्छेलाई उकास्न आइरहेका छन् । त्यसलाई हामीले चिर्नुपर्छ ।

अर्को चिन्ताको कुरा भनेको चुरोट खाने व्यक्तिले आफूलाई मात्रै हानि पुर्‍याइरहेको छैन, अरुलाई पनि रोगको शिकार बनाइरहेको छ । हामीकहाँ जाँचका लागि आउने धेरै महिला बिरामीहरू आफू चुरोट, सुर्ती खाँदैनन्, श्रीमानहरूले खाँदा भएको असर उनीहरूमा देखिन्छ ।

एउटै कोठामा बसेर चुरोट खाँदा त्यसले अरुलाई पनि उत्तिकै असर पुर्‍याइरहेको छ । त्यसमा खासै ध्यान दिइएको देखिँदैन ।

यी सबै तथ्यहरूले के देखाउँछ भने आउने २०-३० वर्षपछि बिरामी भर्ना गरेर कहाँ राख्ने भन्ने समस्या हुनसक्छ । नेपाल एकदम चुरोट खाने देश अन्तर्गत नै पर्छ । खासमा सुर्तीजन्य पदार्थ आयात र उत्पादन नै बन्द गर्ने बाटोमा राज्य लाग्नुपर्छ । यसका लागि लामो रणनीति चाहिन्छ । १० वर्षीय वा २० वर्षीय रणनीति आवश्यकपर्छ । त्यहाँ काम गर्ने व्यक्तिलाई अन्य रोजगारको व्यवस्था गर्न सक्नुपर्‍यो । त्यो व्यवसाय गर्नेलाई अर्को व्यवसायको विकल्प तयार गर्नुपर्‍यो । अब चाहिँ यसको विकल्पबारे सरकारले सोचेर सुरु गर्नैपर्छ जस्तो लाग्छ ।

यति वर्षमा यतिसम्मलाई चुरोट छोडाउँछु भन्ने लक्ष्य राखेर राज्य अघि बढ्नका लागि ढिला भइसक्यो ।

क्यान्सर धुम्रपान सुर्तीज्नय पदार्थ
प्रा. डा. विवेक आचार्य
लेखक
प्रा. डा. विवेक आचार्य
क्यान्सररोग विशेषज्ञ

प्रा. डा. आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । उनले रेडिएसन ओन्कोलोजीमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २६३४ हो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय