+

१०० वर्षअघि नेपालमा औलोले कसरी आतंकित बनाएको थियो ?

२०८२ जेठ  १६ गते १९:२९ २०८२ जेठ १६ गते १९:२९
Shares
१०० वर्षअघि नेपालमा औलोले कसरी आतंकित बनाएको थियो  ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा औलो ज्वरोको इतिहास हजारौं वर्ष पुरानो छ र मुस्ताङको चोखोपानीमा तीन हजार वर्ष पुरानो मानवको दाँतको जिवाष्मामा डीएनए भेटिएको थियो।
  • सदियौँदेखि नेपालका तराई र भित्री मधेश औलोबाट प्रभावित थिए र विभिन्न परम्परागत उपायहरूले ज्वरो नियन्त्रण गर्न प्रयास गरिएका थिए।
  • २००४ देखि सुरु भएको औलो नियन्त्रण कार्यक्रमले स्वास्थ्य जनशक्ति तयार गरी र टिकाउ प्रयासहरूबाट औलोको प्रकोप घटाएको छ।

नेपालमा औलो ज्वरोको इतिहास हजारौ वर्ष पुरानो छ । म्याक्स प्लाङ्क इन्स्टिच्यूट अफ इभोलुसनरी एन्थ्रोपोलोजीका मेगन मिसेलका अनुसार कालीगण्डकीको किनार मुस्ताङको चोखोपानी भन्ने स्थानमा तीन हजार वर्ष पुरानो मानवको दाँतको जिवाष्मा प्लाज्मोडियम फाल्सिफेरमको डीएनए भेटिएको थियो । उनका अनुसार त्यो भेटिएको मानवको जिवाष्मा कुनै व्यापारीको हुन सक्छ । उनको औलोका कारण मृत्युभएको अनुमान छ ।

सदियौँदेखि नेपालका तराई र भित्री मधेश (दुन क्षेत्र) औलोबाट अत्याधिक प्रभावित थियो। यही रोगका कारण प्रत्येक वर्ष हजारौँ मानिसहरू बिरामी भई मृत्यूवरण गर्थे । त्यस समयमा पनि औलो प्रमुख जनस्वास्थ्यको समस्या थियो ।

हिमाल र पहाडमा बस्ने मानिसहरूले भित्री मधेश र तराईलाई ‘कालापानी’ वा ‘कालो ज्वरोको’ क्षेत्र भनेर सम्बोधन गर्थे । मोरङ, चितवन, सिन्धुली, दाङ, सुर्खेत जस्ता क्षेत्रलाई औलो लाग्ने भएर ‘अउल’ भन्ने गरिन्थ्यो।

औलो ज्वरो र त्यसको जोखिम (मृत्यु) बाट जोगिन मानिसहरूले स्थानीय रुपमा हजारौँ वर्ष देखि नै संघर्ष गर्दै आए । सानो जीव लामखुट्टे र मानिसका बीचमा ठूलो संघर्ष अहिलेसम्म चलिरहेको छ । इसापूर्व पाँचौ र इसापूर्व दोस्रो शताब्दीभित्र रचिएको चिकित्सा शास्त्रको पुस्तक चरक संहितामा विभिन्न ज्वरोमध्ये एक विषमज्वरो (औलो ज्वरो) को उपचारका बारेमा औषधि बताइएको छ ।

नेपालका परम्परागत चिकित्साकर्मी वैद्य, पण्डित, ज्योतिष, दैवज्ञ, झारफूक गर्ने गुरुवा व्याक्तिहरूले यही पुस्तकमा आधारित भएर वा स्थानीय परम्परागत अनुभवका आधारमा औलो ज्वरोको उपचार गर्दै आए।

चितवन र बटौली(बुटवल)बाट पहाड घर (पर्वत) फर्किंदा आउने कामज्वरोको स्थानीय उपचार तितेपातीको मुना र पारिजातको पात थिचेर/पिनेर निकालिएको रस उमालेर ५-७ दिन खायो भने ‘अउल ज्वरो’ ठिक हुन्थ्यो भनेर हाम्रा बुबाहरू सुनाउनुहुन्थ्यो । अहिले वैज्ञानिकहरूले पत्ता लागाए अनुसार तितेपातीमा आर्टेमिसिन (औलो ज्वरोको मूख्य औषधि) रहेछ । जसले ‍औलो ज्वरो गराउने परजीवीलाई मार्छ।

चितवन, हेटौंडा र तराईलाई कसरी औलो नियन्त्रण गरी मानिसहरू वस्न लायक बनाउन सफलता प्राप्त भयो त ?

माथि नै चर्चा गरिसकियो कि चितवन, हेटौँडा, अमलेखगञ्ज औलोबाट अत्यन्तै प्रभावित क्षेत्र थिए । नेपालको राजधानी भित्रिने र बाहिरिने बाटो भीमफेदी हुँदै आवत-जावत गर्नुपर्थ्यो । यो क्षेत्र पनि औलोको जोखिमयुक्त क्षेत्र थियो।

इतिहासका कुरा

अहिलेसम्म प्राप्त प्रमाणिक दस्तावेजहरूका आधारमा हेर्ने हो भने वि.सं. १८३४ चैत्र ५ गते राजकुमार बहादुर शाहलाई पादरी माइकल एन्जेलोले लेखेको पत्रमा ‘औलोका कारण तपाईं र मलाई पनि मुस्किल छ । औलोका कारण मरिन्छ कि भन्ने डर छ’ भनी बेतिया (भारत)बाट पत्र पठाएका थिए। (पूर्णिमा, अंक ५५ पृ ३६-३७)

वि.सं. १८८६ मंसिरमा कलकत्ताबाट वकिल (राजदूत) उमाकान्तले जनरल भीमसेन थापालाई लेखेको पत्रमा ‘घर (काठमाडौ) जाँदा तराईका औलाले केटाकेटी खराब हुनन्’ भनी पत्राचार गरेका थिए।(पूर्णिमा, पूर्णाङ्क ५७ पृ. २७)

वि.सं. १८९८ असोजमा हेटौडाको बाटो हुँदै वनारस (काँशी) तर्फ जाँदै गर्दा राजा राजेन्द्र विक्रम शाहकी जेठी महारानी साम्राज्य लक्ष्मीदेवीको औलोको कारण हेटौडामा मृत्यु भएको थियो।(बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रुपरेखा, २०३३ पृ-२९३)

वि.सं. १९०३ भदौमा गगन सिंहको हत्यामा संलग्न भनिएका लाल झाको औलोकै कारण काठमाडौंमा मृत्यु भयो।(ऐ.वालचन्द्र २०३३, पृ-३०७)

आदिकवि भानुभक्त आचार्यले वि.स.१९०९ तिर काठमाडौंको जेलमा रहँदा त्यहाको व्यवस्थापन र अवस्थाका बारेमा बडो रोचकपाराले व्यंग्य कसेका छन्

‘लामखुट्टया उपियाँ उडुस यी सङ्गी छन् यिनकै लहडमा बसी
लामखुट्टया गाउछन् ती उपियाँ नाच्छन् म हेर्छु बसी बसी।’

आदिकवि भानुभक्त आचार्यले कवितामा उल्लेख गरेका ती लामखुट्टेहरूले काठमाडौंमा पनि औलो सार्थे। काठमाणडौंमा अमलेखगन्ज-हेटौँडाको बाटो हुँदै मानिस र सामानहरू आवतजावत गर्नु पर्ने भएकोले यहाँ पनि लामखुट्टे र औलो ज्वरो हुन्थ्यो।

वि.स.१९६१ जेष्ठ ४ गतेको गोरखापत्रमा औलो रोगको महामारीको बारेमा यसरी लेखिएको छ-अउल भन्ने रोगले व्याप्त गर्दा बखत आइपुगेकालाई मृत्यु पनि हुने रहेछ, बखत नआइपुगेकाहरू दुख पाउँछन् ।’

यसरी हेटौडा, चितवन क्षेत्रमा सयौँ वर्ष पहिलेदेखि औलोको समस्या रहेको, त्यसको महामारी फैलिएको र स्वदेशी, विदेशी, धनी, गरिब सबै मानिसहरू औलोबाट प्रभावित भएको विभिन्न ऐतिहासिक दस्तावेजहरूमा भेटिन्छ ।

त्यस क्षेत्रमा औलोबाट जोगिनका लागि पहाडबाट जाडो शुरु भएपछि मात्र मानिसहरू चितवन-हेटौँडा तिर झर्दथे राणा शासकहरू शिकार खेल्न पनि पौष लागेपछि मात्रै त्यतातिर झर्दथे । वि.सं. १९०५ मा जंगबहादूर र राजा सुरेन्द्र विक्रम शाह सिपाही र कर्मचारीको ठूलो डफ्फा लिएर रौतहटतिर झरेका थिए। त्यस क्षेत्रमा औलोको महामारीले सयौँ जनाको मृत्यु भएको थियो । त्यही डरले जंगबहादुर र राजा सुरेन्द्र शिकारको क्याम्प उठाएर तुरुन्तै काठमाडौँ फर्केका थिए ।

चितवन र हेटौँडा लगायत तराई क्षेत्रमा फैलिएको औलो ज्वरोबाट जोगिन (स्थानीय तहमा सालधुप वाल्ने, नीम वा अणेलको पात कोठामा राख्ने घर वरिपरि तुलसीका विरुवा रोप्ने, आयुर्वेदिक औषधि ‘विषम सुदन रस’ ‘सुवर्णमालती वसन्त’ जस्ता औषधिहरू प्रयोग गरेर कामजरो वा औलो ज्वरोका बिरामीको उपचार गरिन्थ्यो ।(पं.कुलचन्द्र गौतम, स्वयम वैध- १९७२, पृ १६-२४ )

जंगबहादुरको समयदेखि नै ‘कुइनीन’ भन्ने औषधिको पनि प्रयोग गर्न थालिएको थियो । राणाकालमै तराई केन्द्रित औषधालयहरू खोली स्वास्थ्यकर्मीहरूलाई खटाइएको थियो । वि.सं. १९८२ (इ.सं.१९२५) मा आइएमएसका मेजर फिलिपलाई ल्याएर चितवन र मकवानपुरमा औलो ज्वरोको प्रकोपबारे अध्ययन गर्न लगाइएको थियो ।

वि.सं.१९९० को दशकतिर चितवन-हेटौँडाको बाटो भएर भारतीय भूमितर्फ तीर्थयात्रा गर्न जानेहरूका लागि औलो ज्वरो लाग्नबाट जोगिन ‘औलो लाग्ने जग्गामा धेरै नबस्नू, ‘आयुर्वेदिक र डाक्टरी औषधि साथमा राखेर हिँड्नू’ जस्ता सूचना र सल्लाह जारी गरिन्थ्यो ।

त्यही समयमा औलो ज्वरोलाई नै महत्व दिएर नेपाल सरकारले आधुनिक चिकित्साको ज्ञान र शीप प्राप्त गरेको जनशक्ति तयार गर्ने ली योजना मुताविक डा. पिनाकी प्रसाद उपाध्याय आचार्य लगायतलाई ट्रपिकल मेडिसिनमा डिप्लो (डीटीएम)मा गर्न बेलायत पठाइयो । त्यहाँबाट डीटीएम गरी वि.सं.१९९८ चैत्रमा उनी नेपाल फर्केर काम शुरू गरे, जसले गर्दा किटजन्य रोगहरूको रोकथाम र उपचारमा ठूलो सहयोग पुग्यो ।

वि.सं. २००४ साल फागुनमा नेपाल सरकारबाट ‘दुनियाँलाई सुख शान्ति मिलोस’ भन्दै हेटौडा-चितवन लगायत औलो ज्वरो लाग्ने ठाउँहरूको अध्ययनका निम्ति औलो ज्वरो सम्बन्धी भारतीय ६ जना विज्ञहरू नेपाल झिकाइए । त्यो विज्ञ समूहले औलो सम्बन्धी यथार्थ प्रतिवेदन पेश गर्न हेटौँडा-चितवन-सिमरा लगायतका स्थानहरूको निरीक्षण गर्‍यो ।

औलोबाट वार्षिक ‘दशौँ हजार नेपालीको मृत्यु हुने र कृषि उन्नतिको निम्ति ठूलो बाधाका रूपमा रहेको यो रोग ‘निर्मूल पार्न’ भित्री मधेश र तराईमा वस्ती बसाई देश समृद्ध बनाउने विश्वासका साथ भारतीय विज्ञ टोली नेपाल भिकाइएको थियो । यो विज्ञ टोलीले सकारात्मक सुझाव र प्रतिवेदन दियो ।

वि.सं. २००४ सालतिर भीमफेदी, हेटौँडा, चितवन लगायत तराईतिर व्यापक रूपमा ‘मलेरिया स्प्रे’ भन्दै डीडीटी 50 प्रतिशत किटनाशक विषको प्रयोग भइसकेको थियो ।

वि.सं. २००७ साल वैशाख ३० गते ‘औलो ज्वरो हटाउने’ कामका लागि ‘खड्ग निशाना’ प्राप्त भएको थियो । जस अन्तर्गत त्यस वर्ष हेटौँडामा ४ महिनासम्म चिकित्सकसहित ४० जना कम्पाउण्डर र सेनाका पल्टनका हाकिम र जवानहरू खटिएका थिए जसलाई ‘एन्टी मलेरिया अपरेसन’ भनिएको थियो ।

सो अपरेसनका लागि राज्यकोषबाट बिसौं हजार रुपैयाँ निकाशा भएको थियो । यो काम २००७ अषाढबाट सुरु भएको थियो । हेटौँडामा कार्यालय स्थापना गरी चितवन, हेटौँडा र अमलेखगन्जलाई यसको कार्यक्षेत्र तोकिएको थियो।

यो ‘औलो ताडन’ (एन्टी मलेरिया अपरेसन)अन्तर्गत डिडिटी छर्किने र लामखुट्टेको वासस्थान नष्ट गर्ने काम भएको थियो। यो काम ‘अनुभवका लागि’ (पाइलट प्रोजेक्ट) सञ्चालन गरिएको थियो । जसको परिणाम अत्यन्तै सकारात्मक देखियो । औलोका बिरामी र मृत्युहुने संख्या घट्यो । यस कामको मूल्यांकनका लागि भारतको दिल्लीबाट औलोविज्ञ डा. राघवनलाई झिकाइयो । उनले ‘औलो ताडन’ को कार्य सन्तोषजनक भनी प्रतिवदेन दिएका थिए ।

औलो ज्वरो विरुद्धको स्वास्थ्य जनशक्ति कसरी तयार भयो ?

वि.सं १९९८ चैत्रमा डा. पिनाकी प्रसाद उपाध्याय आचार्य बेलायतबाट ट्रपिकल मेडिसिनमा डीटीएम प्राप्त गरी नेपाल फर्किए । नेपाल सरकारले २00४ साल देखि नै भारत सरकारसँग समन्वय गरी दिल्लीस्थित ‘दिल्ली मलेरिया इन्स्टिच्युट अफ इण्डिया’ मा योग्यता पुगेका नेपाली पठाई औलो ज्वरोविरुद्धको तालिम दिइएको थियो।

डा. भरतराज वैद्यलाई सोही इन्स्टिच्यूटमा पठाई ‘मलेरियोलोजी’ को ३ महिने तालिम दिई २००७ साल अषाढमा हेटौँडामा स्थापना भएको ‘मलेरिया निवारण आयोजना’ मा पठाइएको थियो। (गो.प. २००७ अषाढ १९)

चिकित्सकवाहेक अन्यलाई दिल्लीमा नै एक महिने मलेरिया कोर्सको तालिम दिएर हेटौँडाको अफिसमा खटाइएको थियो ।

डा. दिनेशानन्द वैद्यलाई बेलायतमा ट्रपिकल मेडिसिन र हाइजिन’ सम्बन्धी तालिम लिन पठाइयो र उनी फर्केपछि वि.सं. २००६ सालमा स्थापना भएको ‘मेडिसिन र पब्लिक हेल्थ विभाग’ को जिम्मेवारी दिइयो।

नेपाल सरकारले सञ्चालन गरेको औलो ज्वरो विरुद्धको कार्यक्रममा विश्व स्वास्थ्य संगठनले पनि शुरुवाती दिन देखि नै सहयोग गर्दै आएको थियो । संयुक्त राज्य अमेरिकाको तर्फबाट २००७ माघबाट प्राविधिक र आर्थिक सहयोग प्राप्त भएको थियो । (नेपाल गजेट, १० फागुन, २०१०)

‘मलेरिया कोर्स’ तालिम लिएका जनशक्तिले डीडीटी पानीमा कसरी मिलाउने, घरघरमा कसरी छर्किने, औलोको जाँचका लागि रगत कसरी लिने, कसरी जाँच गर्ने, अनुगमन गरी रिपोर्टिङ कसरी गर्ने भन्ने बारेमा शिप, ज्ञान प्राप्त गरेका थिए।

‘आयन्टी मलेरिया प्रोजेक्ट’ देखि, मलेरिया कन्ट्रोल कार्यक्रमसम्म

स्वास्थ्य जनशक्ति तयार भइसकेपछि वि.सं. २०११ सालमा ‘राप्ती भ्याली मलेरिया कन्ट्रोल पाइलट प्रोजेक्ट’ सुरु भएर वि.सं.२०१५ मंसिरसम्म सञ्चालित थियो । त्यसपछि वि.सं.२०१५ मंसिर २० गते शुक्रबारदेखि नेपालमा औलो उन्मूलन कार्यक्रम चरणवद्ध रूपमा देशभरी सुरु भयो।

पहिलो चरणमा मध्यमाञ्चल र पूर्वाञ्चल एबम २०२० कार्तिकमा पश्चिमाञ्चलको नेपालगञ्जमा औलो उन्मूलनको कार्यालय स्थापना भयो । औलोको प्रकोप कम हुँदै गएपछि यही कार्यक्रमलाई ‘मलेरिया कन्ट्रोल’ भनी नामाकरण गरियो । (डा.कृष्णजङ्ग राणा, जिन्दगी नै कहानी हो, २०७८, पृ-८४) राप्ती भ्याली मलेरिया कन्ट्रोल पाइलट प्रोजेक्टले गरेको अध्ययन (आरभीएमपीपी) अनुसार चितवन सबैभन्दा बढी (९० प्रतिशत भन्दा बढी) मानिस औलोबाट प्रभावित थिए ।

वि.सं.२०१३ सालमा नेपाल सरकारले राप्ती दुन विकास परियोजना घोषणा गरी हेटौँडा र चितवनमा राप्ती दुन स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्यो । यस कार्यक्रमलाई नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र अमेरिकी सहायता नियोगको सहयोग रहेको थियो । यही सहायता अन्तर्गत चितवन र हेटौँडामा २०१३ सालमा अस्पताल र स्वास्थ्यकेन्द्रहरू खोलिएका थिए । चितवनमा १५ शय्याको महेन्द्र आदर्श चिकित्सालय भवनको राजा महेन्द्रले २०१५ माघ महिनामा शिलान्यास गरे ।

यस अस्पतालबाट जनस्वास्थ्य, वातावरणीय सरसफाइ, सरूवा रोगको रोकथाम, उपचार, प्रयोगशाला कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन भयो । औलो उन्मूलनका लागि गाउँ बस्तीमा व्यापक रूपमा ‘डिडीटी’ छर्किने काम गरिएको थियो ।

यस अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाइ ज्ञान र शीप वृद्धिका लागि तालिम र विशेष अध्ययन गर्न विदेश पठाइएको थियो। केही अमेरीकी प्राविधिकहरूले पनि दुन क्षेत्रमा आएर काम गरेका थिए । सबैको संयुक्त प्रयासका कारण औलो ज्वरोको पोजेटिभ दर करिब ९० बाट ०.४७ मा झर्‍यो । यो ठूलो सफलता थियो ।

यसरी वि. सं. १९९० को दशक देखि नै नेपाल सरकारको दीर्घकालीन योजना अनुसार नै विश्व स्वास्थ्य संगठन र मित्र राष्ट्र अमेरिकाको सहयोगमा हेटौँडा- चितवन लगायत भित्री मधेश र तराईमा सफलतापूर्वक औलो नियन्त्रणमा आयो । नेपालको बिफर खोप पछिको दोस्रो ठूलो जनस्वास्थ्य कार्यक्रम औलो निवारण कार्यक्रमको अहिल एक सय वर्ष पछि यो सफलताको कथा गौरवका साथ यसरी सुनाउन पाइएको छ ।

औलोको इतिहास नेपाल
डा. झलक गौतम
लेखक
डा. झलक गौतम
जनस्वास्थ्यविद्

डा. गौतम स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा राष्ट्रिय खोप कार्यक्रमका पूर्वप्रमुख हुन् । उनले जनस्वास्थ विषयमा स्नातकोत्तर गरेका छन् । उनको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर १३९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय