+

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढेका पेम्बा भन्छन्, ‘म त महामूर्ख पो रहेछु’

२०८२ जेठ  १६ गते १७:२४ २०८२ जेठ १६ गते १७:२४
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढेका पेम्बा भन्छन्, ‘म त महामूर्ख पो रहेछु’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेको पेम्बा शेर्पालाई सम्मान गर्‍यो।
  • पेम्बाले आफ्नो अनुभव सुनाउँदै मूर्खता र साहसले सफलता प्राप्त गरेको बताए।
  • मन्त्री प्रदीप पौडेलले पेम्बाको साहसलाई प्रशंसा गर्दै उनलाई प्रत्यारोपण दूतको रुपमा नियुक्त गर्ने घोषणा गरे।

१६ जेठ, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढेर कीर्तिमान बनाएका पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान गरेको छ । शुक्रबार बिहान मन्त्रालयमा एक समारोह आयोजना गरी उनलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेल, स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठ लगायतको उपस्थिति थियो । स्वास्थ्य मन्त्री पौडेलले पेम्बा र उनको परिवारका सदस्यलाई समेत सम्मान गरे ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–७ सोलावनका ३६ वर्षीय पेम्बाले गत वैशाख ३१ गते सगरमाथा आरोह गरेका थिए । उनको २०७९ कार्तिक २ गते भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपण गरेको कोही पनि व्यक्तिले अहिलेसम्म सगरमाथा आरोहण गरेका थिएनन् ।

कार्यक्रममा पेम्बाले आफ्ना अनुभवहरू सुनाए । आफन्त र चिनजानका धेरैले हिमाल नचढ्न आग्रह गर्दा पनि नमानी अगाडि बढेको उनले सुनाए । मृत्युबाट उम्केर बल्लतल्न नयाँ जीवन पाएको मान्छे फेरि मृत्युको मुखमा किन जान्छस्, भनेर धेरैले सम्झाएको बताए । मिर्गौला प्रत्यारोपण गरेको मान्छे, अरुसँग सहयोग उठाएर २५–३० लाख खर्च गरेर सगरमाथा चढ्न खोजेको देख्दा धेरैले आफूलाई मूर्ख ठानेको बताए । सक्दैनस भनेर धेरैले भन्दा झन् चढेरै छाड्ने इख पलाएको पेम्बाले सुनाए ।

आफ्नो मूर्खताले नै सफलता दिलाएको उनको तर्क छ ।

‘अहिले मैले सोचेँ मूर्ख मान्छेहरू वास्तवमा यो संसारमा सफल हुने रहेछन्’ पेम्बा भन्छन्, मूर्खभित्रको महामूर्ख रहेछु म, किनभने मूर्ख नभएको भए मैले त्यस्तो आँट गर्नै सक्दिन थेँ।’ जे–जस्तो भए पनि आफूले मूखर्तापूर्वक ढिपी गरेर लक्ष्य हासिल गरिछाडेको पेम्बाले बताए ।

सानोमा घाँस काट्न जाँदा भीरबाट खसेर दिनभर बेहोस भई आफैँ उठेर आएको दिन पनि आफूले एउटा मृत्यु जितेको उनले सुनाए । ‘बिहानै भीरबाट खसेको थिएँ, कोही नभएको ठाउँमा कसैले देखेन, बेहोस भएछु दिउँसोतिर मात्रै होस खुलेर घर आएँ’ पेम्बाले भने ।

मलेसियामा ठूलो दुर्घटनामा परेर बाँचेको अनि मिर्गाैला फेल भएका मृत्युको मुखमा पुग्दा प्रत्यारोपण गरेपछि पुनर्जीवन पाएको पेम्बाले बताए । पेम्बाका अनुसार मलेसियामा दुर्घटनामा पर्दा मृत्यु भयो भनेर नेपालमा परिवारले उनको नाममा पूजा पाठ गर्ने तयारी गरिसकेका थिए ।

आफ्नो अनुभवमा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो प्रगति गरेको पाएको अनुभूति पेम्बाले सुनाए । ‘अस्पताल र डाक्टर भन्ने कुरा धेरै ठूलो रहेछ’ पेम्बाले भने, ‘नेपालमा यो खालको अस्पताल र राम्रो डाक्टर नभएको भए म मरेको ५ वर्ष भइसक्थ्यो ।

उनले आफूहरू सानो बेलामा भारी बोकेर सगरमाथाको बेस क्याम्प जाँदाको समय र अहिले त्यहाँको अवस्था धेरै फरक भएको सुनाए । हिउँ जलवायु परिवर्तनका कारण हिउँ पग्लेर हिमाल कुरुप हुँदै गएकोमा उनले चिन्ता व्यक्ति गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपित पेम्बाले सगरमाथा चढ्नुको धेरै ठूलो अर्थ रहेको बताए । मिर्गाैला प्रत्यारोपणका बारेमा उठ्ने धेरै प्रश्नको जवाफ पेम्बाको यो साहसले दिएको भन्दै मन्त्री पौडेलले प्रशंसा गरे ।

‘हामी कहाँ धेरै प्रश्नहरू छन्’ मन्त्री पौडेलले भने, ‘मिर्गाैला दिन मिल्छ ? एउटै मिर्गौलाले मान्छे बाँच्छ ? मिर्गाैला दिने र लिनेले साधारण मान्छे जस्तै बाँच्न सक्छ ? ।’

यस्ता सामान्य प्रश्नमै अल्झिरहेका बेला मिर्गाैला प्रत्यारोपण गरेको व्यक्तिले हिमाल चढ्न सक्छ भनेर कसैले पत्याउनै अवस्था नै नरहेको मन्त्री पौडेलले बताए । पेम्बाले साहस देखाएर नपात्याउने कुरालाई पत्याउने बनाएको भनी उनले धन्यवाद दिए ।

‘उहाँले आफूलाई मूर्ख भन्नुभयो, म भन्छु होइन आँटिलो हुनुहुँदो रहेछ’ मन्त्री पौडेलले भने, ‘प्रत्यारोपण गरेको तीन वर्ष नपुग्दै सगरमाथा चढेर यस क्षेत्रमा ठूलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।’

अंग प्रत्यारोपण गरेको व्यक्तिले अरु जस्तै समान्य जीवन बिताउन सक्छ भन्ने सन्देश दिन पेम्बाको कथालाई सबैमाझ पुर्‍याउन आवश्यक रहेको मन्त्री पौडेलले बताए ।

उनले ऐतिहासिक कार्य गर्ने पेम्बालाई प्रत्यारोपण दूतका रुपमा नियुक्त गर्ने घोषणा गरे ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पेम्बालाई हिमाल चढ्न मिल्छ भनेर आफूले पनि प्रेरणा दिएको बताए ।

मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति हिमाल चढ्न मिल्छ कि मिल्दैन भनेर पेम्बाले सोध्न आउँदा अरु जस्तै सामान्य जीवन यापन गर्छ जाँदा हुन्छ भनेर सल्लाह लिएको डा.पुकारले जानकारी दिए ।

यो सफलताका लागि उनले स्वास्थ्य मन्त्रालयलाई विशेष धन्यावद दिए । स्वास्थ्य मन्त्रालयले प्रत्यारोपण केन्द्र स्थापना गरेर यसलाई उच्च प्राथमिकतामा राखी सेवा गर्ने वातावरण नबनाइदिएको भए यो सम्भव नहुने उनको भनाइ छ ।

 

मन्त्रालयमा सम्मानपछि शुक्रबार दिउँसो राष्ट्रिय प्रत्यारोपण केन्द्रले पेम्बाको सम्मानमा भक्तपुर दरबार क्षेत्रमा र्‍याली निकालेको थियो ।

 

पेम्बा शेर्पा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय

असुरक्षित गर्भपतन : कतै समाजिक बाध्यता त होइन ?

असुरक्षित गर्भपतन : कतै समाजिक बाध्यता त होइन ?