Comments Add Comment
टिप्पणी :

ओलीको स्टालिनपथ : मुटु छ भने नडराए हुन्छ !

प्रधानमन्त्री ओली कस्तो प्रेस चाहन्छन् ? कस्तो देश चाहन्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारलाई प्रायः गाली गरिरहन्छन् । ‘पत्रकारले आमालाई पनि तिमी भन्छ’ भन्दै आएका प्रधानमन्त्रीले मंगलबार बालुवाटारबाट अर्को वाण हाने, ‘सरकारको प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन् ।’

प्रधानमन्त्री भन्छन्, ‘हामीले काम गरेका छौं । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता कामको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस्, बिग्रिन्छस् भन्छन् । सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछ ।’

प्रधानमन्त्रीले पत्रकारको आलोचना गर्न वा मिडियाप्रति गुनासो गर्न हुँदैन भन्ने कतै लेखिएको छैन । मज्जाले हुन्छ । अभिव्यक्ति स्वतन्त्रताका पक्षधर विद्वानले भनेकै छन्, ‘तिम्रा विचारसँग म असहमत छु, तर तिम्रो विचारको रक्षाका लागि अन्तिम सास छउञ्जेल म लडिरहनेछु ।’

अहिले नेपालको सञ्चारमाध्यम यही अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा छ ।

देशको अभिभावक प्रधानमन्त्रीबाट पत्रकारले गाली खाइरहेकै छन् । पत्रकारलाई तर्साउन मिडिया काउन्सिल विधेयकको तरबार उध्याइएको छ । सूचना प्रविधि विधेयकका नाममा पत्रकारलाई मात्र होइन, आम नागरिकलाई पनि सामाजिक सञ्जालमा अभिव्यक्ति दिनबाट रोक लगाउने तयारी भइरहेको छ । मिडियाले सरकारी/गैरसरकारी गाली खाएर, अरिंगालको टोकाइ सहेरै भए पनि नागरिकको अधिकार रक्षाका लागि आवाज उठाइरहेका छन् ।

उद्योगी व्यवसायीहरु ओली सरकारको कार्यशैलीबाट खुशी छैनन् । उद्योगी व्यवसायीप्रति सरकारको व्यवहार राम्रो नरहेको गुनासो सुनिँदै आएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओली नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग गफिँदै थिए । त्यहाँ, प्रधानमन्त्रीले अप्राशंगिक कथनका रुपमा सम्पादकहरुको मुटुको रिपोर्ट प्रस्तुत गरे ।

स्टालिनपथमा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको मन र मुटुमा लोकतन्त्र, बहुलवाद वा बहुदलीयता छैन, मुखमा मात्र छ । प्रधानमन्त्रीको मन मुटुमा स्टालिनपथ छ, एकमनावाद छ । उनी जोसेफ स्टालिनले जस्तै आफ्ना आलोचकहरुलाई सिध्याएर प्रशंसकहरुको ‘हनुमानराज’ स्थापना गर्न चाहन्छन् ।

प्रधानमन्त्री ओलीसँग मुटु र ह्याऊ छ भने उनले चुनावअघि कसैसँग नडराए हुन्छ । उनीसँग बहुमत छ, निरीह नागरिकसँग विकल्प छैन ।

पार्टीभित्र केपी ओलीले स्टालिनको जस्तै एकमनावाद जबर्जस्त लागु गरिरहेका छन् । उनी पार्टी र देशलाई निरंकुशतातिर धकेल्न चाहन्छन् । तर, ओलीको यो यात्रामा सबैभन्दा ठूला बाधक भनेकै मिडिया र सामाजिक सञ्जाल हुन् । यही कारणले गर्दा उनी मिडिया र सामाजिक सञ्जालमाथि बारम्बार खनिने गरेका छन् । यही कारणले सरकार अलोकतान्त्रिक कानूनहरु बनाउन लागिपरेको हो ।

ब्युरोक्रेसीमा रहेका निरंकुशताका कोरियोग्राफरहरु यतिबेला धमाधम ओली सरकारको काँधमा राखेर बन्दुक पड्काइरहेका छन् । पाउन सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल ऐनको मस्यौदाकार हेरेपछि अरु प्रमाण खोजिरहनुपर्दैन ।

प्रधानमन्त्री ओली लोकतन्त्रका लागि १४ बर्ष जेल बसेको कुरा गर्छन् । हुन त उनी निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेरै १४ वर्ष जेल बसेका नेता हुन् । तर, उनी लोकतन्त्र र वाक स्वतन्त्रता लागि लड्दा जेल परेका होइनन्, चारु मजुम्दारको पछि लागेर झापामा व्यक्ति हत्याको आरोपमा जेल परेका हुन् । ०३६ सालमा जनमत संग्रह बहिस्कारको नारा लगाउने दलमा हुर्किएका ओली वाक तथा अभिव्यक्ति स्वतन्त्रताका पहरेदार होइनन् । जेलबाट निस्केपछि पनि उनले पार्टीभित्र आफ्नालाई च्याप्ने र विपक्षीलाई सेक्ने स्टालिनपथकै अभ्यास गरेको इतिहास साक्षी छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीमा देखियो अधिनायकवादको रुझान

प्रधानमन्त्री ओलीमा अधिनायकवादी उन्माद यति बढेको छ कि आफ्नो आलोचना गर्नेहरुलाई उनी जेलमा जाकिदिने कुरा गर्न थालेका छन् । आफ्नो बारेमा टिप्पणी गर्ने सम्पादकको उनी लोकमानसिंह कार्कीले जस्तै ‘फाइल खोज्न’ लगाउँछन् र भन्छन्, अब यो जाकिन्छ !

यस्तो स्टालिनपन्थी सोच भएका व्यक्तिको नेतृत्वमा अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतयुक्त सभ्य समाजको खोजी गर्नु भनेको कागतीको बोटमा अंगुरको खोजी गर्नुजस्तै हो । ओलीले रोपेको बिरुवा सामाजिक फासीवादकै हो, लोकतन्त्र वा समाजवादको हुँदै होइन । उनको सोच र कार्यशैली हेरेपछि अब यति भन्न आइतबार पर्खनुपर्दैन ।

विपक्षी वा आलोचकलाई सम्मान गर्न र उनीहरुको इज्जत गर्न ओलीले जानेकै छैनन् । तर, उनी मुखले बारम्बार मर्यादा र सभ्यताको कुरा गरिरहन्छन् । मुखमा रामराम, बगलीमा छुरा भनेकै यही हो ।

समृद्धि : यो त सब भन्ने कुरा हो !

ओली सरकार हरेक क्षेत्रमा असफल सावित हुँदै गइरहेको छ । सरकार विभिन्न काण्डै काण्डहरुमा फसेको छ । जनताको जीवनस्तर कष्टकर बन्दै गइरहेको छ । आफ्नो यही असफलतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्री ओली अरुलाई दोष देखाएर पानीमाथिको ओभानो हुने प्रयत्नमा लागेका छन् ।

विदेश नीति सम्बन्धमा होस् या घरेलु एकता, दुबैमा ओली सरकार असफलतातर्फ उन्मुख छ । बहुमतको दम्भका कारण राज्यका अन्य अवयवहरुसँगको सहकार्य हुन सकेको छैन । अरुसँग त टाढाको कुरा, नेकपाभित्रै इमान्दारलाई पाखा लगाउने र दलालहरुलाई काखमा राख्ने कार्य भइरहेको छ । लालबाबु पण्डित, गोकर्ण विष्ट, भीम रावलहरुको चिरहरण गरिएको छ ।

अधिनायकवादको घोडामा सवार प्रधानमन्त्री ओलीलाई चाहिएको छ – प्रशंसा अर्थात हनुमानकारिता । प्रधानमन्त्रीले मंगलबार आफूभित्रको नांगो सत्य बोलेका हुन् ।

मिडियालाई गाली गर्ने प्रधानमन्त्रीले भीम रावल, गोकर्ण बिष्ट र माधव नेपालहरुप्रति कस्तो व्यवहार गरेका छन् ? विष्ट र पण्डितलाई मन्त्रीबाट किन हटाइयो ? नेपाल ट्रष्टको कानून किन हेरफेर गरियो ? यहीँबाट थाहा हुन्छ प्रधानमन्त्रीको कथनी र करनी ।

समाजवाद, विकास, समृद्धि, सुशासन, यी त सब भन्ने कुरा मात्र हुन् । देश दिनदिनै कुशासन, भ्रष्टाचार र दण्डहीनतातर्फ अगाडि बढिरहेको छ । लोकतान्त्रिक मूल्य मान्यता समाप्त हुँदै गइरहेका छन् । सामाजिक न्यायको स्थिति के छ, दिलिप महतोको हत्याले बताउँछ । तैपनि, देशमा रामराज्य चलिरहेको जस्तो गरी प्रधानमन्त्री ओली बालुवाटारको चौपर्खालबाट चन्द्रसमशेरको पारामा दिउँसै रात पार्ने गरी भन्दैछन्– सरकारले राम्रा काम गरेको गर्‍यै छ, मिडियाले देखेन, सम्पादकहरुको मुटु भएन ।

भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने प्रधानमन्त्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनले मुखभरिको जवाफ दिइसकेको छ । अख्तियारमा प्रधानमन्त्रीले भनेजस्तो ‘मुटु नभएका सम्पादकहरु’ त पक्कै बसेका छैनन् । भ्रष्टाचारलाई छल्न मन्त्रिस्तरीय निर्णय गर्दा हुने विषयलाई क्याबिनेटमा लगेर निर्णय गरिएको अख्तियारको निश्कर्षले भ्रष्टाचारको स्रोत प्रधानमन्त्री ओली नै हुन् भन्ने स्पष्ट भएको छ । क्याबिनेटबाट भएको नीतिगत भ्रष्टाचारको मुख्य जिम्मेवार केपी ओलीले नै हुन् ।

बाटोमा कालोपत्रे भएको, महानगरपालिकाले सडक वालवालिकालाई व्यवस्थापन गरेको नियमित भइरहने कामहरुलाई देखाएर सरकारको सफलता पुष्टि हुँदैन । केपी ओली प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न अब एक महिना मात्र बाँकी छ, यो अवधिमा सरकारले गरेको सम्झन योग्य र अहा ! भन्ने काम के हो ? सरकारले थालेको गतिलो प्रोजेक्ट के हो ? जनताको हितका लागि गरेको काम के हो ? विगतकै सरकारले गरेको निरन्तरता जस्तो बाहेक केही पनि छैन ।

साना उद्योगी–व्यवसायीको रुवाबासी छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममै भ्रष्टाचार र बेथिति चुलिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम त्यस्तै छ । सामाजिक सुरक्षा कार्यक्रम पनि असफल जस्तै बनिसक्यो । पर्यटन भ्रमण वर्षको पूर्वसन्ध्यामा पूर्वाधारको हालत कस्तो छ भनेर हेर्न एकचोटि भैरहवाबाट लुम्बिनीसम्म पुगे हुन्छ ।

शिक्षा आयोगको प्रतिवेदन निजी स्कुलका सञ्चालनको कुरो सुनेर प्रधानमन्त्रीले दराजमा थन्क्याइदिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रको माफियाकरणले सरकारी संरक्षण पाइरहेको छ । ओली सरकारले बडो मिहेनत गरेर आर्जन गरेका बेथितिहरुको वयान गरेर साध्य छैन, यसका लागि बेग्लै आलेखमा चर्चा गर्नुपर्ने हुन्छ ।

चर्पी उदघाटनका समाचार पनि आएकै छन्

सरकारले गरेका राम्रा कामको प्रशंसा गर्ने मुटु र मन भएका सम्पादक नै छैनन् भन्ने प्रधानमन्त्री ओलीको दाबी प्रथम दृष्टिमै खारेजयोग्य छ । किनभने, नेपालका मिडियाले तीनै तहका सरकारले गरेका सबै कामहरुको फेहरिस्थ जनसमक्ष पस्कँदै आइरहेका छन् । कालोपत्रे भयो, त्यो पनि समाचार बनेकै छ । प्रधानमन्त्रीले पानीजहाज कार्यालय खोले, समाचार आएकै छ । संसद भवनको शिलान्यास भयो, समाचार आएकै छ । मुख्यमन्त्रीले चर्पी उदघाटन गरेका समाचारहरु पनि मिडियामा आएकै छन् । प्रधानमन्त्रीको नियमित डाइलासिस भयो आदि–आदि । कुनै समाचारहरु छुपेका, छुपाइएका छैनन् । तैपनि प्रधानमन्त्री मिडियालाई गाली गर्छन्, किन ?

किनभने, अधिनायकवादको घोडामा सवार प्रधानमन्त्री ओलीलाई चाहिएको छ – प्रशंसा अर्थात हनुमानकारिता ।

प्रधानमन्त्रीले मंगलबार आफूभित्रको नांगो सत्य बोलेका हुन् ।

तित्राको मुखै बैरी !

सिद्धान्ततः सरकार र मिडियावीचको सम्बन्ध अन्तरविरोधी नै हुन्छ । सरकार सूचना लुकाउन चाहन्छ भने मिडियाले उधिन्न चाहन्छ । सरकार आफ्नो प्रशंसामात्रै होस् भन्ने चाहन्छ भने राज्यको चौथो अंगले ‘बाच डग’ को भूमिका खेल्न चाहन्छ । सरकार प्रेस स्वतन्त्रताप्रति अरुची राख्छ भने मिडिया प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षाकवच बन्न चाहन्छ ।

तर, यति हुँदाहुँदै पनि सरकार र प्रेसवीचको सम्बन्ध सधैं शत्रुतापूर्ण नै हुन्छ र हुनुपर्छ भन्ने छैन । यदि लोकतान्त्रिक सरकारले मिडियालाई सही ढंगले ट्याकल गर्न सक्ने हो भने मिडियाले सरकारलाई बाधा हैन, साधकको भूमिका खेलिदिन सक्छन् । तर, आफैंभित्रको दृष्टिदोषका कारण ओली सरकारले सुरुदेखि नै नेपालका मिडियाहरुसँग राम्रो व्यवहार गर्न जानेन, जसले गर्दा सरकार र प्रेसवीचको सम्बन्ध बिग्रँदै गयो, गइरहेको छ । परिणामस्वरुप, नेकपाबाटैै सरकारका काम कारवाहीहरुको आलोचक हुन थालेको छ ।

नेपाली समाजमा एउटा आहान छ– तित्राको मुखै बैरी । जंगलमा तित्रा चुप लागेर हिँड्न सक्दैन । त्रीत्री गर्दै हिँडेपछि आफ्नै मुख बैरी बन्छ र मृत्युको शिकार बन्न पुग्छ । प्रधानमन्त्री ओलीले पनि आफ्नै मुखले मिडियालाई बैरी बनाएका हुन् । मिडियालाई गाली नगरी प्रधानमन्त्रीलाई खानै रुच्दैन ।

व्यवसायिक पत्रकारलाई हेर्ने प्रधानमन्त्रीको नजर नै अलोकतान्त्रिक एवं पूर्वाग्रहपूर्ण छ । मंगलबार बालुवाटारमा त्यसैको बान्ता भएको मात्र हो । आलोचनाको साँघुरो घेराबन्दीमा पर्दै गएको त्रित्रा कराएको मात्र हो । डराएर सरकारको प्रशंसा नभएको हैन, सरकारबाट प्रशंसायोग्य काम नभएको चाहिँ बढ्ता हो ।

मिडियाले सहानुभूति राखेकै हो, तर…

प्रधानमन्त्री ओलीप्रति जनताले जसरी आशा र विश्वास गरेका थिए, नेपालको आम मिडियाले पनि देश र जनताका लागि केही काम गर्लान् भनेर आशा राखेकै हो । आम चुनावपछि सरकार बनेको पहिलो तीन महिनासम्म ‘हनिमुन पिरियड’ भनेर मिडिया चुपै लागे । त्यसपछि पनि ‘भन्नुभयो पत्रकारिता’ गरेरै बसे ।

यहीवीचमा मिडिया काउन्सिल विधेयक आयो । त्यो विधेयकमा सम्पादकहरुले सामुहिक असहमति राख्दा प्रधानमन्त्रीले एकचोटि पनि सम्पादकहरुको भेला बोलाएर अन्तरक्रिया गरेनन् ।

राष्ट्रपतिले संसदमा ‘मेरो सरकार’ भनेको भोलिपल्ट प्रधानमन्त्रीले बालुवाटारमा दोस्रोपटक सम्पादकहरुको भेला बोलाएका थिए । गेटभित्र छिरिसकेपछि मेटल डिटेक्टर लगाएर जाँच गरियो, अनि अग्लो आसनमा बसेर प्रधानमन्त्रीले ‘मेरो सरकार’ बारे युट्युबमा रिसर्च गर्न प्रवचन दिएर पठाए । सरकारलाई केही सुझाव छ कि भनेर सोधेनन् । त्यसयता प्रधानमन्त्री ओलीसँग सम्पादकहरुको दोहोरो सम्वाद अहिलेसम्मै हुन सकेको छैन ।

यसवीचमा प्रधानमन्त्री ओली पटक–पटक बिरामी भए, भइरहेका छन् । कतिपय बेला गम्भीर बिरामी भएर बिदेशमा उपचार गर्नुपर्‍यो । अहिले पनि नियमित डाइलासिस भइरहेको छ । अब मृगौला पुनः प्रत्यारोपण गर्नुपर्ने छ । योबेला मुलुकको कार्यकारी प्रमुख शारीरिक हिसाबले निश्क्रियजस्तै बन्नुपर्ने हुन्छ ।

प्रधानमन्त्रीको यो अवस्थामा देखेर मन मुटु भएका मिडियाकर्मीले ओलीको उपचार खर्च खोतलेका छैनन् । प्रधानमन्त्रीमाथि सहानुभूति नै राखेका छन् । रोगीबाट सरकार चलाइनुहुँदैन भनेर कसैले मुख फोरेका छैनन् ।

तर, दुर्भाग्य ! जसले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्छ, उसैलाई ओलीले गाली गर्छन् । माधव नेपालले स्वास्थ्यलाभको कामना गर्दै ओलीले चाहिँदैन तपाईको स्वास्थ्यलाभको कामना भन्दै हप्काएको घटनाले सभ्य समाजलाई नै लज्जित बनाएकै छ ।

बहुमत छ, विकल्प छैन

सरकारले राम्रो काम गर्न सकेन भनेर मिडियाले आलोचना गरिरहे पनि प्रधानमन्त्री ओलीको राजीनामा कसैले मागेको छैन । प्रधानमन्त्री बनेको ५ महिनापछि बालुवाटारमा आयोजित सम्पादकहरुको भेलामा बाह्रखरीका सम्पादक प्रतीक प्रधानले प्रधानमन्त्री ओलीलाई स्पष्टसँग भनेका थिए, हामी राजनीतिक स्थायित्व चाहन्छौं, त्यसैले यो सरकार पूरै कार्यकालसम्म चलोस् ।

अहिलेको सरकार जननिर्वाचित, बहुमत प्राप्त सरकार हो । केपी ओली जनताको मत जितेर प्रधानमन्त्री बनेका हुन् । त्यसैले उनलाई पूरै कार्यकालसम्म देशको नेतृत्व लिने हक छ । नेकपालाई निरपेक्षरुपमा पाँच वर्ष सरकार चलाउने हक छ । मिडिया र जनताले सरकारको आलोचना त गर्न सक्छन्, तर जननिर्वाचित सरकारको विकल्प खोज्न मिल्दैन ।

मिडियाले केपी ओलीको विकल्प पनि खोजेका हैनन्, छैनन् । सम्पादकहरुले ओलीको राजीनामा मागेका होइनन् । बरु उनको पूर्ण कार्यकालको पक्षमा छन् प्रायः सबै सम्पादकहरु । कसैले चुनावअघि नै नेकपा सरकारको विकल्प खोज्छ भने सम्पादकहरु त्यस्तो अस्थिरतताको विपक्षमा उभिनेछन् । तैपनि, प्रधानमन्त्री ओली मिडियासँग डराइरहेका छन् । किन ? किनभने उनी लोकतन्त्रसँग डराइरहेका छन् । जनताको अभिव्यक्ति स्वतन्त्रतासँग डराइरहेका छन् । अहिलेको संवैधानकि प्रणालीसँगै डराइरहेका छन् । र, आफ्नै मान्छेहरुसँग डराइरहेका छन् । वामदेवनिवासमा आफ्नै नेताहरुले बसेर चिया खाँदा प्रधानमन्त्री ओली तर्सिन थालेका छन्, मिडिया त धेरै परको कुरा ।

प्रधानमन्त्री ओलीसँग मुटु र ह्याऊ छ भने उनले चुनावअघि कसैसँग नडराए हुन्छ । उनीसँग बहुमत छ, निरीह नागरिकसँग विकल्प छैन ।

हो, नेपालको मिडियामा पनि कमीकमजोरीहरु नभएका होइनन्, यसलाई सच्याउन हामी पत्रकारहरु तयार छौं, हुनैपर्छ । तर, यसका बावजुद मिडिया लोकतन्त्रको प्राण हो । राज्यको चौथो अंग केपी ओलीले खोजेजस्तो भजन गाउने, हनुमानचालीसा पाठ गर्ने मण्डली होइन । मिडिया सरकारले बाटो बिराउँदा खबरदारी गर्ने ‘वाचडग’ हो, ‘ल्यापडग’ होइन ।

आखिर, प्रधानमन्त्री ओली कस्तो प्रेस चाहन्छन् ? कस्तो देश चाहन्छन् ? अनि कस्तो समाज बनाउन चाहन्छन् ? र, कस्तो पार्टी बनाउन चाहन्छन् ? बग्रेल्ती प्रश्न उब्जेका छन्, नेकपाभित्र र नेकपा बाहिर ।

यो पनि पढ्नुहोस ओलीको समाजशास्त्रः मार्क्सवाद हो कि महाभारत ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment