Comments Add Comment

प्रचण्डको स्पष्टीकरण : १७ हजार मारेको होइन, ५ हजारको जिम्मा लिन्छु

१ माघ, काठमाडौं । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको सुप्रिम कमाण्डर रहेका पुष्पकमल दाहाल प्रचण्डमाथि बारम्बार आरोप लाग्छ, १७ हजार मान्छे मारेर आएको ।

२०६२/६३ को जनआन्दोलन सफल भएसँगै शान्ति प्रक्रियामा आएका माओवादीले ०६४, ०७० र २०७४ को चुनाव लड्यो । प्रचण्ड दुई पटक प्रधानमन्त्री भए । सशस्त्र विद्रोहबाट आएका अर्का नेता डा. बाबुराम भट्टराईले पनि मुलुकको नेतृत्व सम्हाले । माओवादीले थुप्रै पटक सरकारको नेतृत्व गरिसक्यो ।

अहिले प्रचण्ड नेतृत्वको माओवादीले तत्कालीन नेकपा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको छ र, संसदमा एकल बहुमत प्राप्त नेकपाको दुई अध्यक्षमध्ये एक हुन् प्रचण्ड ।

तर उनलाई १७ हजार मान्छे मारेको आरोपले पछ्याउन छाडेको छैन । बुधबार टुँडिखेलमा आयोजित माघी महोत्सवमा प्रचण्ड प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । उनीभन्दा अगाडि सम्बोधन गरेको केही वक्ताले त्यही १७ हजारको कुरा निकाले ।

यो पनि पढ्नुहोस माघी महोत्सवमा प्रचण्डको सम्बोधन : रेशम चौधरीलाई छिट्टै छुटाउँछु

शायद यो आरोपले आजित भएर होला, प्रचण्डले यसबारे मुख खोलेका छन् । सम्बोधनको सुरुमा नै उनले तथ्यांक सच्याउन भन्दै उनले भने, मलाई १७ हजार मारेर आएको भन्न गरिन्छ । यो सत्य होइन ।’

यसबारे उनको भनाइ जस्ताको तस्तै :

मलाई ताकेर धेरै कुरा राख्नुभएको छ । मैले सबै कुराको एकएक गरेर जवाफ दिन सायद सम्भव छैन । तर म केही भन्न चाहन्छु । महिला त मलाई धेरै साथीहरुले बाहिर पनि भन्नुहुन्छ, त्यसको तथ्यांक सच्याउन चाहन्छु । त्यो के भने मलाई भन्न गरिन्छ, १७ हजार मारेर आएको । (सहभागीबाट हो हो भन्दै हुटिङ भयो)साथीहरु यो सत्य होइन । यो सत्य होइन, सत्य के हो भन्न दिनुस् । हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामाको दोष पनि मलाई थुपार्नु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment