Comments Add Comment

मन्त्री बास्कोटाको प्रस्ताव– मन्त्री क्वार्टर घटाएर राम्रा पार्कमा लगानी गरौं

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अलग अलग भवन चाहिदैन

३ माघ,काठमाडौं । शहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत पाएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्री र मुख्यमन्त्रीका लागि बनाइने भवनको संख्या घटाएर पार्कमा लगानी गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिएका छन् ।

सरकारले ७ प्रदेशका प्रमुख, मुख्यमन्त्री र संघीय सरकारका मन्त्री तथा राष्ट्रियसभा उपाध्यक्ष सहितका लागि ४ वटा अत्याधुनिक भवन भैंसेपाटीमा बनाउन शुरु गरेको छ । शुक्रबार शहरी विकास मन्त्रालयका अधिकारीहरुसँग विकास निर्माणका कामको विवरण लिने क्रममा मन्त्री बास्कोटाले ४० वटा भवन नचाहिने बताए ।

उनले भने ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि ७ वटा भवन भए पुग्छ । अपार्टमेन्ट बनाएर अलग अलग बस्ने व्यवस्था गरौं । मन्त्रीका लागि अत्यावश्यक भवन बनाउँ बाँकी बजेटले पार्क र सडकहरुमा लगानी गरौं । अहिलेलाई २८ वटामात्र भवन बनाउने गरी लाग्नुस्, प्रधानमन्त्रीलाई भने हुन्छ अहिलेको मन्त्रीले मानेन भनेर ।’

मन्त्री बास्कोटाले गोदावरीमा निर्माणाधीन ३ हजार जना अट्ने देशकै ठूलो सभाहल चैत १२ भित्र सम्पन्न गरिसक्न निर्देशन दिए । उनले निर्धारित समयभित्र काम सम्पन्न हुनैपर्ने भन्दै आवश्यक कुनै सहयोग चाहिँ आफूले गाँठो फुकाइदिने बताए । सरकारले सगरमाथा डाइलग सोही हलबाट गर्न लागेकाले मन्त्रीले ताकेता गरेका हुन् ।

उनले सिंहदरवारभित्र निर्माणाधीन संसद भवन ३ वर्षभित्र सम्पन्न हुनैपर्ने भन्दै नेपाली सेनाको चण्डीदल गण, ब्याण्ड गुल्म,रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद सार्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन हुने बताए ।

उनले सरकारले निर्णय गरिसकेकाले उनीहरुले ठाउँ खाली गर्नुपर्ने भन्दै नत्र अन्यत्र सर्वसाधारणका घर टहरा खाली गराए जस्तै नीति लिनुपर्ने चेतावनी समेत दिए । सरकारले रक्षा मन्त्रालयका लागि नयाँ भवन बनाइसकेको छ भने सुरक्षा परिषद पनि सोही भवनमा सार्ने तयारी छ ।

चण्डी दल गण भने आधा हालको रक्षामन्त्रालयमा र आधा नयाँ संरचना बनाएर राख्ने निर्णय भइसकेको छ । सो कार्यका लागि नेपाली सेनालाई ९ करोड रुपैयाँ दिइसकिएको मन्त्रालयले जनाएको छ । ब्याण्ड गुल्म भने नारायणहिटीमा सर्नेछ ।

मन्त्री बास्कोटाले शहरी विकास मन्त्रालयका आयोजनाहरुको प्रगति विवरण आंशिक रुपमा मात्र सन्तोषजनक रहेको भन्दै काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्न निर्देशन दिए । तर भुक्तानीमा समस्या बनाउन पनि नहुने उनको भनाइ थियो । कर्मचारीले ठेकेदारलाई बोक्ने र ठोक्ने नीति नलिई कामका आधारमा भुक्तानी दिनुपर्ने उनले बताए ।

बास्कोटाले भने ‘घुसका प्रस्ताव त आउँछन्, मन्त्रीलाई करोडौंका प्रस्ताव आउँछन् । उनीहरुका कुरा सुन्ने तर काम नगर्ने नीति लियो भने विकासे आयोजनाहरुको प्रगति देखिन्छ र जनताले अनुभूत हुने गरी काम हुन्छ । जनतालाई जे गर्दा हित हुन्छ र सुविधा पाउँछन् त्यसमा केन्द्रित बनौं ।’

मन्त्री बास्कोटाले आफू जति दिन शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहे पनि प्रत्येक आयोजनाको विवरण लिने बताए ।

उनले तत्काल काठमाडौंको धोबिखोला किनारामा रहेको खाली जग्गामा जेष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै’ पार्क निर्माण गर्ने योजनाको मस्यौदा पेश गर्न समेत विभागलाई निर्देशन दिए ।

बास्कोटाले शहरी विकास मन्त्रालयको कार्यभार सम्हालेकै दिन बाजे बज्यै पार्क यसै आर्थिक वर्षभित्र निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment