Comments Add Comment

रानीकोटबाट काठमाडौं नियाल्दा

४ माघ, काठमाडौं । रानीकोट । नाम नै काफी छ । काठमाडौंबाट नजिकको गन्तव्य । सूर्यविनायक चोकबाट उक्लिएपछि सहजै पुगिन्छ । चारैतिर घना जंगल । माझमा अग्लिएको डाँडा ।

यो डाँडामा पाइला टेकेपछि तपाईंको मन उमंगित हुनेछ । किनभने यहाँबाट देखिने आसपासका दृश्यहरुले तपाईंलाई मोहित तुल्याउनेछ । चारैतिर हिम चुचुरो, आफु उभिएको सतहभन्दा तल लमतन्न काठमाडौं उपत्यका । यहाँबाट लाङटाङ र दोर्जे लाक्पा हिमश्रृखला देख्न सकिनछ । जति हेरेपनि मन नअघाउने ।

रामकोटको महिमा यतिकै सकिँदैन । यो धार्मिक तथा ऐतिहासिक महत्वको ठाउँ पनि हो । भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको रानीकोट समुन्द्री सतहबाट दुई हजार मिटर उचाईमा छ ।

कुनैबेला राजा-महाराजाले विश्राम गर्ने थलो रहेको स्थानियवासीहरुको भनाइ छ । त्यहाँ कुनै बखत बसोबास रहेको थियो भन्ने प्रमाण चाहिँ त्यहाँ भेटिने ईंटाहरुले संकेत गर्छ ।
रानीकोटसम्म पुग्न कालोपत्रे बाटो छ । त्यसैले सहजै आउजाउ गर्न सकिन्छ ।

त्यसो त हाइकिङका लागि पनि शहरियाहरु रानीकोट उक्लिने गरेका छन् । खासगरी सूर्यविनायक रानीकोट हुँदै आशापुरी हाइकिङ, सूर्यविनायक रानीकोट हुँदै फुलचोकी हाइकिङ जाने प्रचलन छ ।

रामसुन्दर बके
पर्यटन व्यवसायी

रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो ।

यहाँबाट मनास्लु, गौरीशंकरलगायत हिमाल देख्न सकिन्छ । खासगरी साँझको समयमा काठमाडौं उपत्यका नियाल्न रमाइलो हुन्छ । आफु उभिएको ठाउँभन्दा तलको सतहमा झिलिमिली देख्दा मन रमाउँछ । रानीकोट आफंैमा सुन्दर छ । यहाँबाट देखिने दृश्यहरु सुन्दर छन् । तर, रानीकोटको बारेमा जति प्रचार प्रसार हुनुपर्ने, सो भएको छैन ।

यो हाइकिङ रुट पौराणिक पदमार्ग पनि हो । यो रुटमा विशेषगरी नयाँ बर्षको सुरुवातमै भक्तपुरका स्थानीयहरु पूजा गर्न फूलचोकीसम्म जाने गर्छन् । त्यस्तै अर्को सुर्यविनायक रानीकोट लाकुरीभन्ज्याङ हुँदै गोदावरीसम्म जाने चल्तीको हाइकिङ रुट छ ।

रानीकोटमा बाघ भैरव पनि छ । ढुंगामा बाघको आकृति रहेकाले यसलाई बाघ भैरव भनिएको हो । यहाँ वैशाख पूणिर्मा र मंसीर पूणिर्मामा मेला लाग्छ ।

भक्तपुर सूर्यविनायक मन्दिरदेखि ६ किलोमिटरको दूरी छिचोलेपछि रानीकोट । सूर्यविनायक चोकबाट भने सात किलोमिटर उक्लिनुपर्छ । तपाईं डोलेश्वर मन्दिरबाट पनि रानीकोटसम्म पुग्न सक्नुहुन्छ । डोलेश्वर मन्दिरलाई नेपालको चारधाम मध्ये एक मानिन्छ ।

हाइकिङ गर्नका लागि उपयुक्त गन्तव्य हो यो । यात्राका क्रममा थरीथरीका चराचुरुंगी, बन्यजन्तु देख्न पाइने होटल भिलेज हाइल्याण्डका संचालक रामसुन्दर बके बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment