Comments Add Comment

स्याङजामा माघको अन्तिम साता लाटोकोसेरो उत्सव हुने

५ माघ, काठमाडौं । लाटोकोसेरो तथा हुचील उत्सवको नवौं संस्करण स्याङजाको राङभाङ-९ भैंसेगौँडामा हुने भएको छ । संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो ।

भैंसेगौंडामा आगामी माघ २४ र २५ गते लाटोकोसेरे उत्सव आयोजना गर्न लागिएको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समितिका संयोजक बालकुमार गुरुङले जानकारी दिए । लाटोकोसेरोलाई किसानको साथी भनेर पनि चिन्ने गरिन्छ । विगत ८ वर्षदेखि लाटोकोसेरो उत्सव नेपालमा पनि मनाउन थालिएको हो ।

यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ। यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

स्याङजा जिल्लाको विरुवा गाउँपालिका-३ र पुतलीबजार नगरपालीका-२ को सिमानामा पर्ने राङभाङ-९ भैंसेगौंडा पर्यटकीय क्षेत्र हो।

राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको उनले बताए ।

उत्सव सुरु हुनु अघि विद्यालयहरुमा लाटोकोसेरो चेतना शिविरहरु सञ्चालन गरिने गुरुङले बताए । उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरो सम्बन्धी म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गीत तथा नृत्यको प्रर्दशनी गरिने उनले बताए ।

उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रमहरु घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटी आदिको प्रर्दशनी हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धी नाँच समेत प्रदर्शन गर्नेछन् ।

उत्सवमा गहुँको छ्वालीबाट, चुराबाट, ढुङ्गाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकोसेरोहरु समेत प्रदर्शनीमा राखिने छन् । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको उनले बताए । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको गुरुङले बताए । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने छ ।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

उत्सवको अन्तिम दिन चार जना नेपाली अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ। संरक्षणकर्मीहरुलाई जनही नगद २५ हजार रुपैयाँसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ ।

संस्थागत सम्मान

लामो समय देखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका दुईवटा संस्थालाई पनि दोसल्ला र ताम्रपत्रले सम्मान गर्न लागिएको छ ।

यसरी सम्मानित हुनेमा वर्दिया जिल्लामा कार्यरत बर्दीया प्रकृति संरक्षण क्लब र पाचँथर जिल्लामा  कार्यरत श्री दिपज्योती युवा क्लब रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment