Comments Add Comment

फागुनबाट हिमालय टिभीमा ‘डान्सिङ विथ दि स्टार्स’

‘दि भ्वाइस अफ नेपाल’, ‘हिमालय रोडिज’ जस्ता रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब, नयाँ रियालिटी शो प्रसारण गर्ने भएको छ । फागुणबाट ‘डान्सिङ विथ दि स्टार्स’ नामक रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो ।

बीबीसी स्टुडियोले सुरु गरेको यो रियालिटी शोको फ्रेञ्चाइज अहिले विश्वका सयभन्दा बढी देशमा विभिन्न नाममा प्रसारण भैरहेको छ ।

अमेरिका र अष्ट्रेलियामा यो शो सर्वाधिक लोकप्रिय छ । भारतमा ‘झलक दिख ला जा’ नाममा ‘डान्सिङ विथ दि स्टार्स’को फ्रेञ्चाइज केही वर्षदेखि प्रसारण भैरहेको छ ।

यो शोलाई ‘दि भ्वाइस अफ नेपाल’को टिमले उत्पादन र व्यवस्थापन गर्नेछ । तर, यो शोको सम्पूर्ण अधिकार भने हिमालय टेलिभिजनसँग रहनेछ ।

यो शोका निर्देशक लक्ष्मण पौड्यालले अनलाइनखबरसँग भने, ‘यसमा स्टार भन्ने वित्तिकै चलचित्रका मात्र हुन्छन् भन्ने छैनन् । व्यवसायी, नायक-नायिका, पत्रकार, मोडल जो पनि यो शोको प्रतिस्पर्धी हुन सक्छन् ।’

यो शोमा २४ जना प्रतिस्पर्धी सहभागी हुनेछन् । जसमध्ये १२ जना स्टार र ती १२ जना स्टारका लागि १२ जना कोरियोग्राफर हुनेछन् । एक स्टार-एक कोरियोग्राफर जोडीले शोमा प्रतिस्पर्धा गर्नेछन् ।

निर्देशक पौड्यालले भने, ‘विशेष गरी दर्शकले कुन स्टारलाई नाचेको हेर्न चाहनुहुन्छ, हामी उहाँहरुलाई छनोट गर्नेछौं । यो शोमा नाच्नै नजान्ने स्टार पनि सहभागी हुन सक्नेछन् । यसको छनोट प्रक्रिया हामी सुरु गर्दैछौ ।’

कार्यक्रम प्रसारण भएसँगै हरेक हप्ता दर्शकको भोट र निर्णायकको मतको आधारमा १ जना प्रतिस्पर्धी बाहिरिने लक्ष्मणले बताए ।

उनका अनुसार २६ देखि ३० भागसम्म यो शो प्रसारण गर्ने योजना गरिएको छ । फागुनबाट यो शो हिमालय टेलिभिजनमा प्रसारण हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment