Comments Add Comment

एउटै म्यानपावरले एक करोड २१ लाख ठगेको ठहर, प्रतिव्यक्ति ११ लाखसम्म असुली

५ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले कामदार ठगेको आरोपमा एउटै म्यानपावर कम्पनीलाई एक करोड २१ लाख ६ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति र जरिवाना तिराउने निर्णय गरेको छ । विभागले बीएण्डबी एचआर म्यानेजमेन्ट प्रालिले ठूलो ठगी गरेको ठहर गर्दै यस्तो निर्णय सुनाएको हो ।

अफ्रिकी मुलुक घानामा आकर्षक रोजगारीमा लगाइदिने नाममा दर्जनभन्दा बढी युवालाई ठगेको पुष्टी भएपछि कम्पनीमाथि भारी जरिवाना र क्षतिपूर्ति तिराउने निर्णय भएको महानिर्देशक भीष्मकुमार भुसालले बताए ।

विभागका अनुसार यो म्यानपावर कम्पनी निरज पोखरेल, अजय तामाङ, अरुण कुमार मगर र डिल्लीराम दहालले चलाउँछन् ।

कम्पनीले विभागसँग स्वीकृति नै नलिई विनाअनुमति कामदार घाना पठाएको थियो । कम्पनीले घानामा सुरक्षा गार्डको काममा भन्दै मानव तस्करी गरेको भेटिएको भुसालले बताए ।

उसले कामदारलाई महिनामा १५ सय ७० अमेरिकी डलर तलव सुविधा हुने प्रलोभन देखाएको थियो । कम्पनीले प्रतिव्यक्ति ११ लाखसम्म उठाएको भेटिएको छ ।

विदेश पुगेका केही कामदार अलपत्र परेर एक महिनापछि फर्किएका थिए भने नक्कली कागजातका कारण केही यूएईको अध्यागमन नै पास नभई फर्किएका थिए । केही कामदारलाई घाना पठाउने भन्दै पैसा उठाएर प्रतिक्षामा राखिएको थियो ।

त्यहाँ अलपत्र परेर फर्किएकाहरुले विभागमा समूह-समूह बनाएर उजुरी हालेका थिए । घाना पुगेर फर्किएका ७ जनालाई कम्पनीले ५९ लाख ७६ हजार  तिर्नुपर्ने निर्णय सुनाइएको छ । अर्को ८ जनाको समूहलाई कम्पनीले ५८ लाख ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने भुसालले जानकारी दिए ।

कानून मिचेर रकम उठाएकाले विभागले एक लाख जरिवाना पनि गरेको छ । कम्पनीलाई ठगी गरेको प्रमाणित गर्दै विभागले २ लाख जरिवाना गराइसकेको छ । क्षतिपूर्ति र जरिवाना रकम विभागमा म्यानपावरले राखेको धरौटी र बैंक ग्यारेन्टी रकमबाट जफत हुनेछ । सरकारले यसै वर्षमात्रै यस्तै ठगीमा रकम उठाउन गाह्रो हुने भएपछि म्यानपावर कम्पनीहरुको धरौटी बढाएको थियो ।

महानिर्देशक भुसालले विभागसाग अनुमति नै नलिई विदेशमा कामदार पठाइरहेकाले कम्पनीले मान तस्करी गरेको ठहरिने बताए । उनले प्रहरीलाई पनि कम्पनीमाथि अनुसन्धान गर्न आग्ह गरिने बताए । विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी बाहेक मानव तस्करीको मुद्दा हर्ने पाउँदैन ।

तर, हालसालै प्रहरी र विभागबीच यस्ता मानव तस्करी र ठगीको मुद्दामा सहकार्य गरेर अनुसन्धान गर्ने समझदारी भएको छ । कम्पनीले अरु धेरै कामदारलाई पनि ठगी गरेको हुन सक्ने आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment