+
+
Shares

होटलले घडेरी खन्दा मर्स्याङ्दी-स्यूचाटार प्रसारणलाइनको टावर जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १२:४७

७ माघ, काठमाडौं । मर्स्याङ्दी-स्यूचाटार १३२ केभी प्रसारणलाइनको २०५ नंम्बर टावर पहिरोको जोखिममा परी ढल्ने अवस्थामा पुगेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५को कुरिनटारस्थित मनकामना केबलकार जाने गेटको नजिकै रहेको जग्गा  सम्याउँदा टावर नै ढल्ने अवस्थामा पुगेको हो ।

जग्गाधनी पर्शुराम घिमिरेले पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा होटल खोल्न भिरालो जग्गालाई खन्दा पहिरो गई त्यहाँभन्दा माथि रहेको टावरको जगमा असर परी टावर नै ढल्ने जोखिमयुक्त अवस्था देखिएको छ ।

मस्र्याङदी नदी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाको लगभग एक सय मेगावाट विद्युत् मस्र्याङदी-स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौं आइरहेको छ ।

टावर ढलेमा काठमाडौ उपत्यकामा  एकातर्फ मागअनुसार विद्युत् आपूर्ति गर्न नसकी वाध्यकारी लोडसेडिङ गर्नु अवस्था आउने छ भने अर्कोतर्फ जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने प्राधिकरणको दावी छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङबाट आइतबार काठमाडौं  र्फकने क्रममा टावरको निरीक्षण गरी टावर ढल्ने जोखिम बढेर गएकाले सुरक्षात्मक उपाय नअपनाइ खन्ने कार्य बन्द गर्न आग्रह गरे ।

‘भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ  पहिरो जान सुरु भई टावर नै ढल्न सक्ने अवस्था देखिएको छ’ कार्यकारी निर्देशक घिसिङले जग्गाधनी घिमिरेलाई टेलिफोनमा भने, ‘जथाभावी खनिएकाले सुरक्षा पर्खाल लगाउँदासमेत पहिरो रोकिने अवस्था देखिँदैन, टावर ढलेर यसबाट उत्पन्न हुने हानी नोक्सानीको  जिम्मेवारी तपाईंले नै लिनु पर्नेछ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नु पर्ने छ ।’

जवाफमा घिमिरेले यस्तो अवस्था आउला भनेर नसोचेको र होटल खोल्न बैकबाट ऋण लिएकाले आफू डुब्ने अवस्थामा पुगी समस्यामा फसेको बताए ।

प्राधिकरणले गत वर्षको पुसमा घिमिरेलाई पत्राचार गर्दै तलतिर रहेको जग्गा खन्दा टावर ढल्ने सम्भावना रहेकाले टावरलाई असर पर्ने कार्य रोक्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको थियो । तर, खन्ने कार्य नरोकिएको र सुरक्षात्मक उपाय पनि नअपनाइकाले टावर झनै जोखिममा परेको हो ।

प्राधिकरणले मंगलबार पुनः पत्र पठाउँदै गत वर्ष गरिएको पत्राचार विपरीत खन्ने कार्य जारी राख्दा र सुरक्षात्मक कदम नचाल्दा टावर ढल्ने जोखिम बढेकाले तत्काल खन्ने कार्य रोकी सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

‘लगभग एक सय मेगावाट पावर आपूर्ति भई रहेको मुलुकको राजधानी केन्द्रित उक्त प्रसारण लाइनमा अवरोध उत्पन्न भएमा त्यसले ठूलो क्षति निम्त्याउने सक्ने र तपाईंबाट सिर्जित अवस्थाको जिम्मेवार तपाईं स्वयम् हुने व्यहोरा पुनः स्मरण गराउँदै यथासिघ्र सुरक्षात्मक कार्य सम्पन्न गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले जग्गाधनी घिमिरेलाई लेखेको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?