
७ माघ, गोरखा । निजी आवास पुनर्निर्माणका लागि जिल्लाका करिब एक सय भूमिहीन भूकम्प पीडितले सम्झौता गरेका छन् ।
७४ जनालाई जग्गा खरिदका लागि रकम निकासा भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय गोरखाले जनाएको छ ।
‘उहाँहरुले अरुको जग्गा किन्नुभयो,’ कार्यालयका अम्बिका पौडेलले भने, ‘हामीले जग्गाधनिको खातामा रकम हालिदियौं, उहाँहरुको नाममा जग्गा भएपछि आवास निर्माणका लागि सम्झौता गर्यौं ।’ उनका अनुसार जग्गा खरिद गर्ने लाभग्राही अधिकांश पालुङटार नगरपालिकाका छन् ।
गोरखा नगरपालिका, आरुघाट, सिरानचोक र गण्डकी गाउँपालिकाका लाभग्राही पनि रहेको उनले जानकारी दिए ।
भूमिहीन भूकम्प पीडितका लागि जग्गा खरिद गर्न सरकारले बढिमा दुई लाख रकमसम्म उपलब्ध गराउने प्रावधान रहेको उनले बताए ।
४४ जना भूमिहीन लाभग्राहीलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गामा घर बनाउन दिने निर्णय पुनर्निर्माण जिल्ला समन्वय समितिले गरेको छ ।
प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी संयोजकत्वको उक्त समितिले पालुङटार नगरपालिकाका ४१ र गोरखा नगरपालिकाका तीन जनालाई हाल बस्दै आएको ठाउँमै जग्गा दिने निर्णय गरेको हो ।
‘वनको जग्गामा वर्षौदेखि उनीहरु बस्दै आएका छन्, त्यही ठाउँमा घर बनाउन जग्गा दिने निर्णय भयो, उनीहरुको नाममा जग्गा पास हुँदैन, घर बनाउन मात्र स्वीकृती दिने हो ।’ दिगो सामाधान परियोजनाको जिल्ला संयोजक धिरेन्द्र कुमार आरसीले भने ।
६ आनाभन्दा बढी जग्गा नचेप्ने गरी घर बनाउनुपर्ने प्रावधान रहेको उनले बताए । हालसम्म कुल २१३ भूमिही लाभग्राही कायम भएको जिमालीले जनाएको छ ।
३८ जनालाई लाभग्राही कायमका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा सिफारिसका लागि पठाइएको बताइएको छ ।
प्रतिक्रिया 4