Comments Add Comment

‘भीआइपी कलाकार’ को परिचय निल्नु न ओकल्नु !

७ माघ, काठमाडौं । गत कात्तिकमा वीरगञ्जमा आयोजित ‘राष्ट्रिय चलचित्र महोत्सव’मा सहभागी हुन त्रिभुवन विमानस्थल पुगेकी नायिका भुवन चन्दलाई विमानस्थलका कर्मचारीले भीआइपी कक्ष माग्दा प्रयोग गर्न दिएनन् ।

चन्दको हातमा चलचित्र विकास बोर्डले वि.सं ०७३ सालमा जारी गरेको ‘विशिष्ट श्रेणीको चलचित्रकर्मी’को परिचय पत्र थियो ।

चन्दले विशिष्ट कलाकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि उनीलगायत अन्य कलाकर्मीलाई भीआइपी कक्षमा बस्ने अनुमति विमानस्थल कर्मचारीले दिएनन् ।

चलचित्र विकास बोर्डले तीन वर्ष अगाडि राजकुमार राई अध्यक्ष हुँदा कलाकारहरुलाई तामझामका साथ तीन श्रेणीमा वर्गीकरण गरेर परिचयपत्र वितरण गरेको थियो । जसमा ‘विशिष्ट, वरिष्ठ र साधारण’ कलाकारहरुको वर्गीकरण गरिएको थियो । तत्कालीन सञ्चारमन्त्री शेरधन राईले कलाकारलाई विशिष्ट परिचयपत्र बाँडेका थिए ।

विशिष्ट श्रेणीको परिचय पत्रको रंग रातो, वरिष्ठको नीलो र सामान्य श्रेणीको परिचयपत्रको रंग हरियो छ । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्न चलचित्र क्षेत्रमा २० बर्ष भन्दा बढी समय बिताएको हुनुपर्ने छ । तर, यो वितरण प्रक्रिया २ पटकपछि रोकिएको छ । यसपछि, विकास बोर्डले प्रक्रियालाई अगाडि बढाउन सकेन ।

परिचय पत्र वितरण कार्यक्रममा तत्कालीन सञ्चारमन्त्री शेरधन राई (वर्तमान मुख्यमन्त्री) ले आफूलाई गर्वको महसुस भएको बताएका थिए । तर, उनले वितरण गरेको परिचय पत्रले चलचित्रकर्मीलाई भने गर्वको महसुस गर्न दिएको छैन ।

कार्ड वितरण गर्दैगर्दा कलाकारलाई परिचयपत्रको श्रेणीका आधारमा विभिन्न स्थानमा सुविधा दिने उल्लेख थियो । तर, नेपाल सरकारले वितरण गरेको यो कार्डको औचित्य कलाकारले आजसम्म पनि बुझेका छैनन् । कार्ड बोेकेर हिँड्ने कलाकारका लागि यो निल्नु न ओकल्नुजस्तै बनेको छ ।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले आफूले कार्ड बोकेर हिँडे पनि यसको प्रयोग कतै नभएको बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘म कहिलेकाहीँ चाहिन्छ भनेर बोकेर त हिँड्छु । तर, यसले कतै काम नै गर्दैन । जहाँ देखाए पनि त्यहाँका कर्मचारीले यो कार्डका बारेमा आफूहरुलाई थाहा नभएको बताउँछन् । कार्ड देखाउँदा पनि लाज लाग्छ ।’

भुवनले यो उमेरसम्म त राज्यबाट कलाकारहरुका लागि केही भएन भन्दै अब झन् के होला भनेर उदेक प्रकट गरिन् ।

नायिका करिश्मा मानन्धरले पनि कार्डको औचित्य कतै नभएको बताइन् । उनले भनिन्, ‘यो फेसबुकमा एकाउन्ट भएर पनि भेरिफाइर्ड नभएजस्तै हो । हामीलाई कार्ड त दिएको छ, तर यसलाई कतै पनि भेरिफाइर्ड गर्ने काम भएको छैन । यसलाई विभिन्न निकायमा लैजाने काम त विकास बोर्डको हो नि ।’

यो कार्डले कतै पनि काम नदिने भए पनि आफूले परिचय पत्रका लागि बोकेर हिँड्ने गरेको करिश्माले बताइन् । ‘नेपाल सरकारको छाप भएकाले नागरिकताजसरी बोकेर त हिँड्छु’ उनले भनिन्, तर विशिष्ट श्रेणीको चलचित्रकर्मीको कार्डले कतै पनि काम दिएको छैन ।’

यो कार्ड कहाँ प्रयोग गर्ने नै थाहा नभएको करिश्माले बताइन् । उनले भनिन्, ‘यो कार्डले धेरैले पाएका छैनन् । यसैले, कार्डको महत्व धेरै छ । तर, यसलाई विकास बोर्डले अगाडि बढाउन नसक्दा कार्डको औचित्य नै देखिएको छैन ।’

यद्यपि कार्ड प्राप्त गर्ने कलाकारलाई सिंहदरबार प्रवेशमा भने सहज हुने गरेको बुझिएको छ ।

यस विषयमा संगीतकार शम्भुजित बास्कोटाको भनाइ केही बेग्लै छ । उनी भन्छन्, ‘विकास बोर्डले हामीलाई त कार्ड दिएको छ । तर, कार्ड वितरण गरेर मात्र हुँदैन । यसलाई विभिन्न निकायमा चिठी पठाएर अगाडि बढाउनुपर्छ । तर, बोर्डले नै पहल नगरिदिएपछि कार्डको औचित्य कहाँ रहन्छ र ?’

बास्कोटाले संगीत नाट्य प्रतिष्ठानका तर्फबाट आफूले पनि कलाकारलाई कार्ड वितरण गरेको बताउँदै भने, ‘म उपकुलपति हुँदा सबैतिर पहल गरेको थिएँ । विमानस्थल, अस्पताल, बैंकलगायतका स्थानमा पहल गरेकाले यो कार्ड देखाउँदा कलाकारले सुविधा पाएका थिए । तर, विकास बोर्डले योखालको पहल नगर्दा कार्डको औचित्य नभएको हो ।’

कलाकार हरिवंश आचार्यलाई पनि नेपाल सरकारले कार्ड दिने निर्णय गरेको थियो । तर, उनले अहिलेसम्म परिचय पत्र नपाएको बताए ।

वि.सं ०७३ सालमा राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा कलाकारलाई तीन तहका परिचय पत्र वितरणको प्रक्रिया अगाडि बढाएका थिए । विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त गर्ने कलाकर्मीमा हरिप्रसाद रिमाल, यादव खरेल, भूवन चन्द, बसुन्धरा भुषाल, नीर शाह, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, सुभद्रा अधिकारी, शकुन्तला गुरुङ, उद्धव पौडेल, मञ्जुकुमार श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, बसन्त श्रेष्ठ, हरिहर शर्मा, शम्भुजित बास्कोटा, मिथिला शर्मा, रविन्द्र खड्का, प्रदिपकुमार उपाध्याय, शिव सुन्दर श्रेष्ठ, रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लयप्रसाद संग्रौला, टीकाबहादुर पहारी, मोहनप्रसाद निरौला, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, कृष्ण कुमार मल्ल, राजेन्द्र खड्गी, अशोक शर्मा, युवराज लामा, रुपा राना, गणेशप्रसाद उप्रेती, करिश्मा मानन्धर, लक्ष्मी गिरी, छविराज ओझा र राजेश हमाल छन् ।

चलचित्र विकास बोर्डमा राजकुमार राईपछि दुई अध्यक्षले कार्यभार सम्हाले । तर, दुबै अध्यक्षको कार्यकालमा बोर्डले कलाकारलाई दिएको परिचय पत्रको औचित्य पुष्टि गर्न पहल भएन । यसैले, अब आउने बोर्ड अध्यक्षले यो विषयमा पनि गम्भीर भएर सोच्न आवश्यक रहेको कलाकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment