Comments Add Comment

सीमापार रेलको डीपीआर बनाउन चिनियाँ टोलीको प्रतिक्षा

८ माघ, काठमाडौं । नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली छिट्टै नेपाल आउने भएको छ । रेल विभागका अनुसार चिनियाँ नयाँ वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल आउने अपेक्षा गरिएको छ ।

नेपाल र चीनबीच काठमाडौं-केरुङ, काठमाडौं पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भइसकेको छ । चीनले आफ्नै खर्चमा तीनै रेलमार्गको सम्भाब्यता अध्ययन सुरु गर्दैछ । रेलमार्गको वातावरणीय अध्ययन भने नेपाली पक्षले गर्ने योजना छ ।

गत मंसिर १० मा भएको डीपीआर निर्माणसम्बन्धी समझदारीपछि चिनियाँ पक्षले अनौपचारिक रुपमा चिनियाँ नयाँ वर्ष मनाएपछि प्राविधिक टोली नेपाल पठाउने जानकारी दिएको थियो ।

रेल विभागमा महानिर्देशक बलराम मिश्राले अहिलेसम्म कहिलेबाट चिनियाँ टोली आएर काम सुरु गर्छ भन्ने अपौचारिक जानकारी आएको छैन । ‘हामीलाई अपेक्षा छ कि चिनियाँ नयाँ वर्षपछि नै टोली नेपाल आएर काम थाल्छ,’ उनले भने, ‘यसमा आवश्यक सहजीकरण विभागले गर्छ, हामी चिनियाँ टोलीलाई पर्खिरहेका छौं ।’

कसले के-के गर्नेछन् ?

असोजको अन्तिम सातामा भएको चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको कार्यान्वयनका लागि कठमाडौंमा मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाँडफाँट गरेको थियो ।
बैठकले नेपाली र चिनियाँ पक्षका काम र जिम्मेवारी टुंगो लगाएको थियो । यो अध्ययनपछि फिल्डमा गर्नुपर्ने सबै खालमा सर्भेका काम सकिनेछन् । चीनले आफ्नो खर्चमा म्यापिङ सर्भे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ ।

नेपालले भने वातावरणीय प्रभाव मल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षा लगायतका सहयोग उपलब्ध गराउने छ ।

डीपीआर बनाउन आवश्यक तथ्यांक उपलब्ध गराउने र सबै खालको सहजीकरण गर्न पनि नेपाल तयार छ ।

यस्तो छ योजना

केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार केरुङ-काठमाडौं रेलमार्ग बनाउन करिब ३ खर्ब बढी खर्च हुने अनुमान छ ।

करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने र निर्माण सम्पन्न हुने ९ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

चीनले बनाइदिने काठमाडौं-पोखरा रेलमार्ग करिब १६८ किलोमिटरको हुनेछ । यो रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै त्रिशुली नदीको किनारैकिनार पोखरासम्म बन्नेछ ।

पोखरा-लुम्बिनी रेलमार्ग कुरिनटारबाट भरतपुर हँदै बुटवल र त्यहाँबाट लुम्बिनीको मायादेवी मन्दिरको परिसरसम्म पुग्नेछ । यो रेलमार्ग करिब १५७ किलोमटर लामो हुनेछ । यसमा भरतपुरबाट बुटवलसम्म पूर्वपश्चिम रेलमार्गमा जोडिने सम्भावना छ । बुटवलबाट लुम्बिनीसम्म भने थप रेलमार्ग बनाउनुपर्ने हुन्छ ।

योजनाअनुसार रेलमार्ग निर्माण भएमा चीनबाट चढेका यात्रु काठमाडौं हुँदै सीधै पोखरा र लुम्बिनीमा उत्रनेछन् ।

काठमाडौं-पोखरा र पोखरा-लुम्बिनी रेलमार्ग निर्माण पनि केरुङ-काठमाडौं रेलमार्गभन्दा सहज हुने बताइन्छ ।

केरुङ काठमाडौं रेल ४ हजार मिटरबाट १४ सय मिटरमा र्झनुपर्छ । तर काठमाडौं-पोखरा र पोखरा-लुम्बिनी रेलमार्ग निर्माणका लागि तुलनात्मक रुपमा त्यति धेरै भौगोलिक चुनौती छैन । यी दुई रेलमार्ग निर्माण गर्दा भने १० देखि १२ किलोमिटर मात्रै सुरुङ निर्माण गरे पुग्नेछ ।

काठमाडौं-पोखरा रेलमार्गका लागि करिब ३ खर्ब ५० अर्ब र पोखरा-लुम्बिनी रेलमार्गका लागि करिब ३ खर्ब लागत अनुमान गरिएको छ ।

नेपालले यी तीनवटै रेलमार्गहरु अनुदानमा बनाइदिन आग्रह गरे पनि लगानीको मोडालिटी भने टुंगिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment