
८ माघ, काठमाडौं । गायिका आस्था राउत प्रकरणमा प्रहरी लचक बन्ने संकेत देखिएको छ । राउतले गल्ती गरेको निष्कर्ष निस्किए पनि पक्राउ गरेर अनुसन्धान लम्ब्याइराख्नु पर्ने स्थिति नरहेको प्रहरीले बताएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले कानूनी प्रक्रिया पूरा गर्नै पर्ने भए पनि लचक हुनसक्ने ठाउँ रहेको अनलाइनखबरलाई बताए ।
‘विमानस्थलमा पक्राउ पर्छिन्, पर्दिनन् भन्ने कुरा चाहिँ अहिले भन्न सकिने विषय होइन’, उनले भने, ‘पीडितलाई न्यायको चाँडो अनुभूति गराउन हामीले पक्राउमा हतार गर्ने हो । तर, त्यो कसुर अनुसार हुन्छ ।’
भारतको सिक्किममा आयोजित एक सांगीतिक कार्यक्रम सहभागी हुन जाने क्रममा राउत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । काठमाडौं–चन्द्रगढी उडान अघि सुरक्षा जाँचका क्रममा उनको प्रहरी जवान रमिला श्रेष्ठसँग विवाद भएको थियो ।
त्यसपछि फेसबुक लाइभ गरेर अपशब्द बोलेका कारण राउतको आलोचना भएको थियो । प्रहरीले पनि कारबाही गर्ने तयारी गरेको थियो ।
विमानस्थलमा भएको व्यवहारभन्दा पनि सिंगो प्रहरी संगठनलाई गाली गलौज गर्दै अपशब्द बोलेको विषय ठूलो हो’, एक उच्च प्रहरी अधिकृतले भने, ‘विमानस्थलमा हुने जुन घटना छ, त्यो बेलाबेला हुने गर्छ ।’
प्रहरी जवान श्रेष्ठले अभद्र व्यवहारको कसुरमा आस्थाविरुद्ध दिएको उजुरी आइतबार दर्ता भएको छ । अब कानूनतः आस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएपछि मात्रै यो प्रकरण टुंगिनेछ ।
प्रतिक्रिया 4