Comments Add Comment

१० व्यस्त विमानस्थलको सरसफाईको अवस्था जाँचिने

८ माघ, काठमाडौं । नेपालका १० ठूला र व्यस्त विमानस्थलको सरसफाईको अवस्थाबारे सम्परीक्षण (अडिट) हुने भएको छ ।

विमानस्थलहरुमा सरसफाईको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा आगामी दिनमा प्रभावकारी काम गर्ने उद्देश्यले अडिट गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रालय र गैरआवासीय नेपाली संघबीच विमानस्थलहरुको अडिट गर्ने सम्बन्धमा समझदारी भएको छ ।

समझदारी अनुसार २० फागुनदेखि १९ चैत २०७६सम्म एक महिना विमानस्थलको स्थलगत अध्ययन भ्रमण गरी सरसफाईको अवस्थाबारे रिपोर्ट तयार गरिने भएको छ ।

सो क्रममा विमानस्थलको सरसफाईबारे मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थललगायत अन्य सांस्कृतिक तथा पर्यटकीय स्थलमा समेत सरसफाईलाई थप प्रभावकारी बनाउने योजना रहेको मन्त्रालयको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, र भरतपुर विमानस्थलमा अडिट गर्न लागेको हो ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तराष्ट्रिय विमानस्थल, नेपालगन्ज विमानस्थल र धनगढी विमानस्थल पनि सूचीमा छन् ।

नेपालका विमानस्थलको सरसफाईबारे विमानस्थल व्यवस्थापन र पर्यटन मन्त्रालयले धेरै गाली खाने गरेको छ ।

सोही कारण आकस्मिक भ्रमण गरी बेलाबेला निर्देशन दिनु परिरहेको छ । अघिल्लो साता विमानस्थलको भ्रमण गरेका पर्यटनमन्त्री योगेश भट्टराईले ‘टिस्यू पेपर खै ?’ भन्दै विमानस्थलका हाकिमहरुलाई सोध्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment