Comments Add Comment

राष्ट्रिय गौरवका आयोजनामा आधा वर्षसम्म ‘लज्जाजनक’ खर्च ! (सूचीसहित)

पोखरा विमानस्थल र तामाकोसीको खर्च मात्रै सन्तोषजनक

८ माघ, काठमाडौं । चालु आर्थिक वर्षको आधा समय घर्किएको छ । यसबीचमा कूल विकास खर्च निकै कमजोर छ । अर्थात् सरकारले ६ महिनाको अवधिमा औसत १४ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । समग्र विकास खर्च पनि यस्तै दरमा छ ।

विकास खर्च कम हुनुमा ठूलो बजेट ओगटेर बसेका राष्ट्रिय गौरवका आयोजनाले अपेक्षित गति नलिनुसमेत हो । विज्ञहरु यसलाई गौरबका आयोजनाको ‘लज्जाजनक’ प्रगति भन्छन् ।

यी प्रायः सबै आयोजना ठेक्का लागेर कार्यान्वयन चरणमा छन् , तर, पनि आधा वर्षसम्म यी आयोजनाको प्रगति निकै कमजोर छ ।

अर्थविद अच्युत वाग्ले राष्ट्रिय गौरवका भनिएका आयोजनालाई सरकारले त्यसअनुरुप व्यवस्थापन नगर्दा समस्या आएको बताउँछन् ।

‘यसको आर्थिक, प्रशासनिक र आयोजना (निर्माण)को व्यवस्थापन पनि गौरबका आयोजना जसरी नै गर्नुपर्‍यो, यो खालको व्यवस्थापनले त गौरबका आयोजना भनेर घोषणा गरेकै औचित्यपूर्ण भएन,’ उनी भन्छन्,’नामका मात्रै गौरबका अयोजना भनेर हुँदैन ।’

वाग्लेले कतिपय गौरबका भनिएका आयोजनाहरु मूल्यांकन गरेर प्रदेश र स्थानीय तहलाई दिन सके अहिलेभन्दा बढी काम हुने बताए ।

यस वर्ष सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि मात्र कूल १ खर्ब १ अर्ब रुपैयाँ छुट्याएको छ । त्यसमध्ये पूँजीगत खर्चमा ८५ अर्ब ७ करोड, चालु खर्चमा २ अर्ब १६ करोड र वित्तीय व्यवस्थापनमा १३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसमध्ये खर्च भने कूल १८ अर्ब ३२ करोड रुपैयाँ भएको छ । यो कूल विनियोजनको १८.१ प्रतिशत हो । खर्च गरेका आयोजनाको पनि ठूलो रकम मूआब्जा वितरणमा खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ६ महिना अवधि (साउन-पुस)मा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलले सर्वाधिक रकम खर्च गरेको छ । माथिल्लो तामाकोसीले वित्तीय व्यवस्थापनतर्फ विनियोजित १ अर्बमध्ये ६६ करोड ६६ लाख खर्चेको छ । खर्चको दरका हिसावले तामाकोसी अघि देखिन्छ ।

निर्माणाधीन पोखरा विमानस्थलको टर्मिनल भवन

प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि यस वर्ष छुट्याइएको बजेट एक रुपैयाँ पनि खर्च भएको छैन । यसबाहेक पशुपति क्षेत्र विकास कोषले समेत ६ महिनाको अवधिमा एक रुपैयाँ पनि विकास खर्च गर्न सकेको छैन ।

तथ्यांक अनुसार कूल ८ अर्ब वित्तीय व्यवस्थापनमार्फत पोखरा विमानस्थललाई बजेट गएको थियो । ६ महिनामा ४ अर्ब ३ करोड ५५ लाख रुपैयाँ खर्च भइसकेको छ । यता हुलाकी राजमार्गमा पूँजीगत खर्चका लागि मात्र १३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये ६ महिनाको अवधिमा ३ अर्ब ७ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ ।

पुष्पलाल राजमार्ग (मध्यपहाडी)ले समेत औसतमा राम्रै खर्च गर्न सकेको छ । तथ्यांक अनुसार यो आयोजनामा कूल १२ अर्ब ११ करोड ४४ लाख विनियोजन भएकोमा २ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।

नेपाली सेनाले बनाइरहेको काठमाडौं-तराई मधेस फास्ट ट्रयाकमा कूल १४ अर्ब ८० करोड ५० लाख विनियोजन भएकोमा ६ महिनामा मात्र २४ करोड खर्च भएको छ ।

कुनमा कति भयो खर्च

आयोजना विनियोजन (रु.) खर्च (रु.)
बबई सिंचाई आयोजना १ अर्ब ४९ करोड ८६ लाख २९ करोड ५ लाख
सिक्टा सिंचाई आयोजना १ अर्ब ५२ करोड ३ लाख ५१ करोड ३ लाख
रानी जमरा कुलरिया सिंचाई आयोजना २ अर्ब ४२ करोड ३४ लाख ६६ करोड १४ लाख
मेलम्ची खानेपानी आयोजना ७ अर्ब ३८ करोड ९५ लाख ३७ करोड ८३ लाख
पशुपति क्षेत्र विकास कोष ३५ करोड
लुम्बिनी विकास कोष १ अर्ब २८ करोड ४२ लाख
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम १ अर्ब ७३ करोड ६९ लाख २८ करोड ४६ लाख
काठमाडौं-तराई मधेस फास्ट ट्र्याक १५ अर्ब ७२ लाख २९ करोड ९८ लाख
पुष्पलाल राजमार्ग (मध्यपहाडी) १२ अर्ब १९ करोड ९२ लाख २ अर्ब ४८ करोड ६२ लाख
उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोशी) ५ अर्ब ९६ लाख ९१ करोड ८० लाख
हुलाकी राजमार्ग १३ अर्ब ६३ करोड ७ लाख ३ अर्ब १० करोड ४० लाख
रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना ७ अर्ब ६९ करोड ६९ लाख १ अर्ब ७४ करोड ५७ लाख
माथिल्लो तामाकोशी जलविद्यूत आयोजना १ अर्ब (वित्तीय व्यवस्थापन) ६६ करोड ६६ लाख
दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना (गौतमबुद्ध विमानस्थल) ३ अर्ब ३३ करोड ६४ लाख (वित्तीय व्यवस्थापन) ४६ करोड ३३ लाख
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ८ अर्ब (वित्तीय व्यवस्थापन) ४ अर्ब ३ करोड ५५ लाख
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, बारा १ अर्ब ५० करोड (वित्तीय व्यवस्थापन)

स्रोतः महालेखा नियन्त्रण कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment