Comments Add Comment

मकवानपुरगढीमा मनाइयो २५७औं विजय उत्सव

पूर्खाले बनाएको विरासतलाई टिकाऊँ : मुख्यमन्त्री

१० माघ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका-२ स्थित ऐतिहासिक गढीमा २५७औं विजय उत्सवको अवसरमा शुक्रबार सेनवंंशीले चढ्ने सेतो हात्तीको अनावरण र विशाल भण्डोत्तलन गरिएको छ ।

विदेशी फौजमाथि विजयप्राप्त गरेको खुशीयालीमा विजय उत्सव मनाइएको हो । हेटौंडाको बुद्धचोकवाट १६ किलोमिटर पूर्वामा पर्ने मकवानपुरगढीमा मुखयमन्त्री डोरमणि पौडेलले तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनले चढ्ने एकदन्ते सेतो हात्तीको अनावरण र राष्ट्रिय झण्डोत्तलन गरेका हुन् ।

सेतो हात्ती हेमकर्ण सेनले ज्वाइँ पृथ्वीनारायण शाहलाई दाइजो दिएका थिए तर जेठान दिगबन्धन सेनले शाहलाई हात्ती नदिएकाले ज्वाइँ जेठानकोवीच मनोमालिन्य जन्मिएको थियो ।

हात्ती त्यहीँ मरेको थियो । हात्ती मरेको स्थानमा सेतो हात्तीको अनावरण गरिएको हो । मकवानपुरको गढीको मध्यभागमा करिब ३० मिटर अग्लो फलामको पाइपमा झण्डोत्तोलन गरिएको थियो ।

राष्ट्रिय झण्डा मकवानपुर उद्योग वाणिज्य संघले तयार पारेको हो । साढे चार फिट अग्लो सेतो हात्ती पाटनका कालीगढले निर्माण गरेका हुन् । करिब ५ लाखको लागतमा हात्ती तयार पारिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए ।

सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न गएका थिए ।

नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्व्त १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।

मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकवाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएका थिए ।

विदेशी फौजमाथि विजय प्राप्त गरेको स्मरणमा विजय उत्सव मनाएको हो । नेपाली फौजले मीर कासिम फौज पराजित भएपछि उनीहरुवाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास सुरु गरेका हुन ।

पृथ्वीनारायण शाहले त्यतिवेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए ।

नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि रहेको छ । पाल्पाका राजा मुकुन्द सेनले आफना चार छोरालाई राज्य बाँडेका थिए ।

मकवानपुर सेनको कान्छा छोरा लुहाङको भागमा परेको थियो । आफनो राज्यलाई सुरक्षित गराउन लुहाङले विक्रम सम्व्त १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ ।

नेपालमा भएका गढीहरुमध्ये सबैभन्दा ठूलो मकवानपुरगढी हो । गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाइ भएको पर्खाल लगाइएको छ । वीरताको इतिहास बोकेको ऐतिहासिक मकवानपुरगढीको संरक्षणका लागि गाउँपालिका, नेपाली सेना र स्थानीयवासी संयुक्त रुपमा जुटेका छन् ।

पूर्खाले बनाएको विरासतलाई टिकाऊँ : मुख्यमन्त्री

विजय उत्सव कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देश अहिले आर्थिक समृद्धिको अभियानमा अघि बढेको भन्दै सबैले उत्पादनमा जोडिनुपर्ने बताए ।

उनले मुख्यमन्त्री पौडेलले कृषि र पर्यटनलाई सँगै जोडे मात्रै समृद्धि सम्भव हुने भएकाले मकवानपुरजस्तो ऐतिहासिक क्षेत्रमा पर्यटन प्रवद्धन गरी लाभ हासिल गर्नुपर्नेमा जोड दिए । पूर्खाले बनाएको विरासतलाई टिकाउँदै अघि बढ्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका अर्थ समितिका अध्यक्ष कृष्ण दाहाल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायतले मन्तव्य राखेका थिए ।

सरकारले सय वटा महत्वपूर्ण गन्तब्य मध्ये मकवानपुरगढीलाई पनि सूचीकृत गरेको छ । गढी एक हजार १७ मिटरको उचाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment