Comments Add Comment

बहुदरमाई नगरपालिकामा विद्यार्थीद्वारा आगजनी र तोडफोड

प्रहरीसँग झडप हुँदा केही घाइते

१० माघ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहस्थित महावीर साह माध्यमिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार प्रदर्शन गरेका छन् । विद्यालयमा नियमित पठन पाठन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

विद्यालयमा प्रदर्शनपछि नगरपालिकामा पत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ । झडपमा परी केही विद्यार्थी घाइतेसमेत भएका छन् । झडपमा कक्षा ९ का सञ्जयकुमार तुराहा, अजय कुमार तुराहा कक्षा ७ का शेषनाग प्रसाद यादव, पुनिता कुमारी पटेल घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागे पनि अवस्था सामान्य छ ।

पत्रमा ०६७ भदौदेखि कै तलब नपाएकोले शिक्षकहरु अनुपस्थित रहँदा कपी जाँच गर्न कठिनाइ भएको उल्लेख छ । विषयगत शिक्षक र नगरपालिकाबाट आएका शिक्षकको तलब निकासा गरिदिन पत्रमा माग गरिएको थियो ।

विद्यार्थीले शुरुमा विद्यालयमा प्रदर्शन गरेका थिए । विद्यालयका प्रधानाध्यापकले लेटर प्याडमै लेखेर पत्र बनाइदिएपछि बुझाउन नगरपालिकाको कार्यालयमा गएका थिए ।
तर नगरपालिकामा नगर प्रमुख, उप प्रमुख नभेटेपछि उनीहरुले नगरपालिकामा तोडफोड र आगजनी गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको अनुसार विद्यार्थीले एउटा मोटरसाइकल, केही थान फर्निचर, कम्युटरका पार्टपुर्जा जलाएका छन् । डीएसपी वीरेन्द्र शाहीले विद्यार्थी तोडफोड र आगजनीमा उत्रिएको जानकारी पाएपछि प्रहरी पुगेको जानकारी दिए । उनले विद्यार्थीहरुमाथि लाठिचार्ज नभएको बताए ।

‘तोडफोड र आगजनी भएको खबर पाएपछि प्रहरी पठाइएको हो । प्रहरी पुग्दा आगजनी र तोडफोड भइसकेको थियो,’ उनले भने ‘प्रहरी गएर उनीहरुलाई बाहिर निकालेर शान्त बनाएको हो । धकेला धकेलमा परेर केहि विद्यार्थी सामान्य घाईते भएका होलान् ।’

विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा १४ जना शिक्षक शिक्षिका छन् । विद्यालयमा ९ सय ५० को हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । शिक्षकको कमीका कारण पठन पाठनमा बाधा पुगेको, पुस्तकालय भए पनि राम्रोसँग सञ्चालन नभएको लगायतको गुनासो विद्यार्थीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment