
११ माघ, काठमाडौं । गत जेठमा सार्वजनिक मतपरिणाम अनुसार, सिक्किमको ३२ सदस्यीय विधानसभा निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ र सिक्किम डेमोक्र्याटिक फ्रन्ट (एसडीएफ) ले १५ स्थानमा जित हासिल गरे । लोकप्रिय मतमा भने एसडीएफ नै अगाडि रह्यो ।
एसडीएफले एक सिट बढाउन सकेको भए सिक्किमको राजनीतिमा आज जे छ, त्यो नहुन सक्थ्यो । त्यही एक सिटको कमीले २५ वर्षदेखि एकछत्र शासन गरिरहेका मुख्यमन्त्री पवनकुमार चाम्लिङलाई सत्ताबाट बाहिर पठायो । र, कुनैबेला चाम्लिङकै क्याबिनेटमा मन्त्री रहेका प्रेमसिंह तामाङ (पीएस गोले) बहुमतका लागि आवश्यक न्यूनतम १७ सिट जितेर मुख्यमन्त्री बने ।
६९ वर्षीय चाम्लिङ अहिले सिक्किमको राजनीतिमा आफैंले हुर्काएका गोलेले गान्तोकको सुनागाभा रोडस्थित मुख्यमन्त्री भवनमा गरिरहेको कामकुरा नियाली रहेका छन् ।
सन् १९८२ मा दक्षिणी सिक्किमस्थित याङगाङ ग्राम पञ्चायतको अध्यक्षबाट राजनीतिक जीवन प्रारम्भ गरेका चाम्लिङले भारतमा सबभन्दा लामो समय मुख्यमन्त्री बनेको रेकर्ड बनाएका छन् ।
‘यलम्बर हाङ’ सम्मान ग्रहण गर्न नेपाल आएका उनी गत हप्ता दिनभन्दा बढी काठमाडौंमा बसे । पितृ देशमा अनेक देवदेवीको दर्शन र निजी भेटघाट गरिरहेका उनले नेपाललाई जैविक खेती प्रणाली अगाल्न सुझाव दिएका छन् ।
अनलाइनखबरसँगको अन्तर्वार्तामा चाम्लिङले गणतन्त्र भारतमा नेपालीभाषी भएकै कारण विभेद भोग्नु परेको कुरा लुकाउन चाहेनन् । उनले विश्वभर फैलिएका नेपाली जातिको विश्व सम्मेलन गर्नुपर्ने प्रस्तावसमेत अनलाइनखबरमार्फत राखेका छन् ।
यस पटक कुन–कुन तीर्थस्थलमा जानु भयो ?
गोरखाको मनकामना र पुरानो भद्रकाली मन्दिर गएँ । काठमाडौंमा पशुपतिनाथलगायत देवदेवीको दर्शन गरेँ ।
राजनीतिक भेटघाट पनि भए कि ?
नेपालका नेताहरूसँग भेटघाट गरेको छैन । अहिलेको अवस्थामा त्यो आवश्यक पनि छैन ।
नेपालका नेताहरूसँग कस्तो सम्बन्ध छ ?
उहाँहरूसँग मेरो खासै चिनजान छैन । राजनीतिक सम्बन्ध त झनै छैन । पितृदेश भएकोले यहाँ को प्रधानमन्त्री हुँदैछन्, गृहमन्त्री को छन्, कुन पार्टी के भनिरहेको छ भन्नेमा चासोसम्म हुने हो । एउटा राजनीतिक प्राणी भएकाले छिमेकका राजनीतिक घटनाक्रमबारे बेखबर रहने कुरा पनि भएन ।
भारतबाट नेता मात्र होइन, कर्मचारी, कलाकारहरू समेत नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्रीलगायत भेट्छन् । यहाँले चाहिँ पहल नै नगरेको कि समय नपाएको ?
भेट्ने काम नभएर समय, पहल केही भएन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला साहबलाई दिल्लीमा एक पटक भेटेको थिएँ, त्यति हो ।
नेपालबाट सिक्किम जाँनेहरूसँग निकै भेटघाट गर्नु हुन्छ नि होइन ?
मुख्यमन्त्रीका रूपमा धेरैसँग भेटघाट हुन्थ्यो । ०७२ सालको महाभूकम्पपछि पनि धेरै जना मकहाँ आउनुभएको थियो । त्यतिबेला परामर्शमात्र नदिएर प्राविधिकहरू पनि पठाएँ । सिक्किम सरकारले पाँच करोड जतिको सहयोग गरेको थियो ।
सिक्किमबाट हेर्दा नेपाल कस्तो देखिन्छ ?
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । धर्मनिरपेक्ष बाटोमा लागेको छ । अहिले सुरुवाती चरणमा छ । यो सही बाटो हो भन्ने लाग्छ ।
नेपालको संघीयताको अभ्यासलाई कसरी हेर्नुभएको छ ?
भारतमा प्रदेशको अधिकार सूचीमा रहेको विषयमा काम गर्दा संघलाई सोध्नुपर्दैन । प्रदेशले कति अधिकार पाएको छ भन्ने महत्त्वपूर्ण कुरा हो । प्रदेशहरूले आफ्नो धरातलीय यथार्थ बुझेर योजना बनाउनुपर्छ ।
जस्तो, नेपालको प्रदेश १ ले योजना बनाउँदा पहाडी क्षेत्रलाई पर्यटन र जल विद्युतको केन्द्र तराईलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न सक्छ । विहार र पश्चिम बंगाल जोडिएकाले पनि त्यहाँ औधोगिक विकासको सम्भावना बढी छ, लगानीकर्ता आउन सजिलो छ ।
नेपाललाई जैविक देश बनाउन सुरुवात प्रदेश १ बाटै गर्न सकिन्छ । नजिकै सिक्किम छ । त्यहाँबाट प्राविधिक सहयोग, अनुभव, स्रोत व्यक्तिहरू लिन सकिन्छ । सिक्किममा हामीले गरेको काम प्रदेश १ मा सजिलै गर्न सकिन्छ ।
नेपाललाई प्रांगारिक खेतीमा जान सल्लाह दिइरहनुभएको छ । त्यसमा सिक्किमको अनुभव कस्तो छ ?
हामीले सन् २००२ देखि २०१६ सम्ममा सिक्किमलाई पूर्णजैविक राज्य बनायौं । राज्य नै अग्र्यानिक भएको घोषणा गर्ने सिक्किम विश्व मै पहिलो हो ।
यसका लागि हामीलाई १४ वर्ष लाग्यो । विधानसभाबाट अर्गानिक राज्य बनाउने प्रस्ताव पारित गरेर सरकार, प्रशासन, पार्टी सबै परिचालन गरेर जनताको समर्थनमा जैविक राज्य बन्न सफल भयो । सरकारको नीतिमा जनताको साथ भएपछि यो सम्भव भयो ।
अहिले सिक्किममा खेतीका लागि कुनै पनि रसायनिक पदार्थ भित्रिँदैन । रसायनिक वस्तु नभित्रिएपछि सबै आर्गानिक उत्पादनका लागि हाल्छन् । नेपाल देशलाई पनि नै विषादी मुक्त बनाउन सकिन्छ । सबभन्दा पहिला त कसैले खेतीपाती गर्दा रसायनिक पदार्थ प्रयोग नगरौं । अर्गानिक भएपछि उत्पादनको भाउ बढ्छ । उपभोक्ताको स्वास्थ राम्रो हुन्छ । रसायनिक तत्व नपरेपछि जमिन पनि उर्बर हुन्छ । यसमा नेपाल सरकारले ठोस नीति बनाउनु पर्दछ ।
यसका लागि सरकारले खेती र पशुपालन दुवैमा विउ उपलब्ध गराउनेदेखि बजार ब्यवस्थापनसम्मको काममा सहजीकरण गर्नुपर्ने हुन्छ । किसानले उत्पादनको मूल्य पाएन भने सरकारले आग्र्यानिक खेती गर्ने नीति ल्याएर मात्र हुदैन ।
लगातार पाँच पटक मुख्यमन्त्री बनेको नेता आफ्नै चेलासँग पराजित हुनुभएको छ । सिक्किममा अब पवन चाम्लिङको राजनीतिक पुनरागमन होला या नहोला ?
२५ वर्ष मुख्यमन्त्री भएको व्यक्ति परेँ, राजनीतिमा सक्रिय रहेसम्म यस्तो चर्चा भई नै रहन्छ । राजनीति मेरो लागि पेसा होइन, कर्म हो, सेवा हो । पुनरागमन मेरो प्राथमिकताको विषय होइन । यसमा सिक्किमका जनता जे चाहन्छन् त्यही हुन्छ ।
फेरि सरकार बाहिर बसेको एक वर्ष पनि भएको छैन । मेरै स्कुलिङमा हुर्किएका व्यक्ति मुख्यमन्त्री बनेका छन् । उनले पनि काम गरेर देखाउन पाउन पर्यो, देखाउन् । त्यसैले मैले एक शब्द बोलेको छैन । मानिसहरू चाम्लिङ किन बोल्दैन ? भनिरहेका छन् ।
सिक्किममा असहिष्णु राजनीति हुने गरेको देखिन्छ । चाम्लिङको उदय भएपछि नरबहादुर भण्डारीमाथि त्यस्तै भयो । इतिहास दोहोरिने सम्भावना कति देख्नुहुन्छ ?
खासगरी तेस्रो विश्वका मुलुकहरूमा सत्तामा पुगेर कसरी राम्रो काम गरेर देखाउँभन्दा पनि निवर्तमानलाई कसरी नराम्रो देखाएर आफू राम्रो देखिऊँ भन्ने प्रवृति हुन्छ ।
अमेरिकालगायत विकसित देशमा राम्रो काम गर्ने प्रतिस्पर्धा देखिन्छ । त्यहाँ अघिल्लो राष्ट्रपति वा प्रधानमन्त्रीले गरेको कामलाई संस्थागत गर्ने चलन हुन्छ । हामीकहाँ त्यसको ठीक उल्टो छ । आफू सत्तामा आएपछि निवर्तमानलाई सताउने, मुद्दा लगाउने, बदनाम गर्ने काम हुँदै आएको देखिन्छ । त्यसको कारण के हो भने हामीकहाँ सकारात्मक र रचनात्मक राजनीतिको विकास भएको छैन । हामी अरूलाई होचो देखाएर आफू अग्लिने राजनीतिमै अल्झिरहेका छौं । यस्तो प्रवृत्तिबाट सिक्किम राज्य पनि अलग छैन । जसले गर्दा शंका, उपशंका हुनु स्वभाविक हो ।
नरबहादुर भण्डारीलाई स्वर्गीय एलडी काजी (लेण्डुप दोर्जी) को मुद्दा लागेर एक महिना जेल सजाय भएको थियो । मैले उहाँलाई जेल जान दिइनँ, बिरामी बनाएर अस्पतालमा राखेँ ।
भण्डारीले लगाएको गाई मुद्दामा अहिलेका मुख्यमन्त्रीलाई एक वर्ष जेल सजाय भयो । भण्डारीले म मुख्यमन्त्री भएका बेला पाँच वर्षमा सातवटा मुद्दा लगाउनुभयो, अदालतबाट सबै खारेज भए ।
आरोप जसलाई पनि लाग्न सक्छ । अदालतबाट ठहर भए मात्र कोही दोषी हुन्छ । म सरकारबाट बाहिरिए यता कुनै आरोप लागेको छैन । २५ वर्षमा मैले एउटा पनि गैरकानूनी काम गरेको छैन ।
तर, केही न केही डर भएरै चाम्लिङ गर्जिंदैन भनिन्छ नि ?
पवन चाम्लिङ डरछेरुवा, मूर्ख नेता होइन । ममा केही छ र न भारतमा २५ वर्ष मुख्यमन्त्री बनेँ । सबभन्दा बढी मुख्यमन्त्री बनेको रेकर्ड राख्न सफल भएँ । म सत्ताबाट बाहिरिँदा तमाम मान्छेहरूले आँसु झारे । यस्तो विरलै हुन्छ ।
मेरो बहिर्गमनका कारण १० जनालाई हृदयघात भयो । कति हो कति डिप्रेसनमा गए । म जहाँ जान्छु, मान्छेहरू रुन्छन् । मलाई पनि रुवाउँछन् ।
त्यस्तो लोकप्रिय भएको भए किन पराजित हुनुभयो ?
अहिले म सरकार बाहिर भए पनि लोकप्रिय मत मेरै बढी छ । प्राविधिक रूपमा मात्रै हारेको हुँ । अहिले थुप्रै मानिस मुख्यमन्त्रीका नाममा सताउने सांसद्, मन्त्री, कार्यकर्ताको विरोधमा भोट हालेका थियौं, चाम्लिङ नै जाओस् भन्ने चाहेका थिएनौं भनिरहेका छन् । तलकालाई ठीक पारौंभन्दा हाम्रो सरकारै गयो भनेर पश्चाताप गर्छन् ।
अस्ति भर्खंरै गान्तोकमा गुरुङ बूढाहरू मलाई अंंगालो हालेर रोए । मुख्यमन्त्रीबाट बाहिरिएपछि मैले जनताले यति धेरै माया गर्दा रहेछन् भन्ने थाहा पाएँ । मलाई उनीहरूको अझै सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।
पवन चाम्लिङ भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्दैछन् भन्ने कुरा सत्य हो ?
लामो समयदेखि भाजपासहितको नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) मा छौं । तर यो चुनावी गठबन्धन मात्रै हो । भाजपा मात्रै होइन, क्षेत्रीय दलसँग एकीकरण वा प्रवेशबारे कुरा भएको छैन । अहिलेलाई त्यो सम्भावना पनि छैन ।
जनताको छोरोले राजा–महाराजाले जस्तो २५/२५ वर्ष शासन गर्याे । थप शासन नगर्दा पनि हुन्छ होला नि ?
हुन्छ, नगर्दा पनि हुन्छ ।
आफ्नो उत्तराधिकारी तयार नगरेको भन्ने आरोप पनि छ यहाँमाथि । के भन्नुहुन्छ ?
सिक्किम डेमोक्र्याटिक फ्रन्ट (एसडीएफ) मैले नै स्थापना गरेँ । सन् २००९ मा मैले भीम ढुंगेलको निर्वाचन क्षेत्रमा गएर उनलाई एसडीएफमा मेरो उत्तराधिकारी घोषणा गरेँ । प्रचुर सम्भावना बोकेका ढुंगेललाई त्यहाँका जनताले दुई पटक जिताए पनि । मैले पर्यटन तथा वन मन्त्री बनाएँ ।
तर, तेस्रो पटक उनलाई हराइ दिए । किन त भन्दा चुनावमा पैसा बाँड्दैन, रक्सी खुवाउँदैन, सिद्धान्तका कुरा गर्छ रे । यो कुरा किन सुनाएको हो भने उत्तराधिकारी मैले बनाएर हुँदो रहेनछ । जनताले नै बनाउनु पर्ने रहेछ ।
नेताले आफ्नो भाइछोरा वा चम्चाहरूलाई पनि उत्तराधिकारी बनाउने चलन छ । तर, म त्यसको पक्षमा छैन । म सक्रिय राजनीतिमा हुँदासम्म मेरो परिवारबाट कोही पनि आउँदैन । मैले भाइ, छोराछोरी नभएर नल्याएको होइन । हार्बडमा पढेर आएकी छोरी पनि छ ।
छोरीको चाहिँ राजनीतिमा रुचि छ भन्ने सुनिन्छ नि ?
हो, छ ।
नेपाली भाषी भारतीय हुँदाको दुःख धेरै सुनिन्छ ?
नेपाल पनि सिंगापुर, जापान, क्यानडा जत्तिकै विकसित भएको भए पक्कै त्यस्तो हुने थिएन । हाम्रो पितृ भूमिलाई देखाएर हामीलाई हेला, बदनाम गर्ने गर्छन् । नेपालको नागरिकता छ, हिजोअस्ति भर्खर नेपालबाट आएको हो भन्छन् । यो असह्य कुरा हो ।
सन् १९५० को सन्धिको धारा ७ अनुसार नेपालका नेपाली र भारतका भारतीयहरू बेरोकतोक आउजाउ र काम धन्दा गर्न, सम्पत्ति आर्जन गर्न, राख्न पाउँछन् । नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र देश हो । नेपालसँग जोडिएका कसैलाई नेपाली भनेर हेप्नुको अर्थ छैन ।
भारतमा नेपाली बसेको २ सय वर्षभन्दा बढी भयो । उनीहरूमध्ये एकथरी भारतलाई स्वतन्त्र बनाएर बसेका छन् । भारतको स्वतन्त्रता संग्राममा नेपाली भाषीहरूको ठूलो योगदान छ । दलबहादुर थापा, दुर्गा मल्ल, इन्द्रेणी थापा, पुतली देवीहरू भारतको लागि फाँसी चढे ।
यस्तो योगदान बिर्सेर हेप्न मिल्ने कुरा होइन ।
संसारभर छरिएका नेपाली भाषीहरूको आत्मसम्मानको लागि कुनै साझा अभियान चलाउन सकिन्छ कि ?
सबभन्दा पहिला नेपाली जातिको विश्व सम्मेलन गर्नु जरुरी छ । जहाँ बसे पनि नेपाली भएर सम्मानसाथ बाँचौं, नेपालीपन नमासियोस् भनेर सोच्नुपर्ने समय आएको छ ।
अहिले नेपाली भाषा सिक्न ‘ट्युटर’ राख्नुपर्ने अवस्था आइसकेको छ । सिक्किममै नेपाली भाषा क्लिष्ट भयो भनेर हिन्दी विषय रोज्नेहरू निस्किएका छन् ।
यसमा तपाईं आफैंले अग्रसरता लिने सोच बनाउनुभएको छ ?
यस विषयमा नेपालको प्रज्ञा प्रतिष्ठान वा संस्कृति विभागले पहल गर्दा राम्रो हुने थियो ।
तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4