Comments Add Comment

खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

१२ माघ, काठमाडौं । खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाका एसपी मुकेशकुमार सिंहले बताए ।

उनीहरुले डाँका गरेको रकम बाँडेर लिएको र मोटरसाइकल, सुनका गहना, मोवाइल लगायतका सामान किन्ने र घरायसी काममा खर्च गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डाँका गरेको ५० लाखमध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

डाँका गरेको ५० लाख रुपैयाँमध्ये बेदबहादुर भन्ने भीमबहादुरले ७ लाख, सञ्जित वाइवाले ५ लाख, कुमार बुढाथोकीले ४ लाख ५० हजार, दावा छिरिङले ५ लाख, नकुर तामाङले ५ लाख रुपैयाँ लिएका प्रहरीले जनाएको छ ।

यसरी पाएको रकमबाट सञ्जितले २ लाख ११ हजार रुपैयाँ बैंकमा जम्मा गरेको, ७७ हजार रुपैयाँमा सुनको औंठी, १९ हजारमा मोवाइल किनेको र घर बनाएको ऋण तिर्न १ लाख रुपैयाँ दिदीलाई पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै बेदबहादुरले ३ लाख ३० हजारमा मोटरसाइकल किनेको, दावा छिरिङले १ लाख ५० हजार रुपैयाँ ऋण तिरेको, कुमार बुढाथोकीले ४ लाख ५० हजारमध्ये ७५ हजार रुपैयाँ घरभाडा तिरेको र १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको बताएको प्रहरीले बताएको छ । नकुर तामाङले ३० हजार फाइनान्सको किस्ता तिरेको र बाँकी मासेको प्रहरीले बताएको छ ।

प्रहरीले सञ्जितको साथबाट २३ हजार ५ सय, तेन्जिङबाट ५ लाख ८० हजार, भीमबहादुरबाट ३ लाख ५ हजार, नकुरबाट ४ लाख ३१ हजार, कुमारबहादुरबाट २ लाख ५ हजार र दावा छिरिङको साथबाट ३ लाख ३१ हजार रुपैयाँ बरामद गरेको छ । त्यस्तै डाँका गरेको पैसाले किनेको मोटरसाइकल, डाँका गर्न प्रयोग भएको ३ थान मोटरसाइकल, औंठी र मोवाइल बरामद गरेको छ ।

उनीहरुले बल्ने ढुंगा, बनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर र पूरातात्विक चिज आफूसँग छ भनेर किन्नका लागि दबाब दिने र एकान्तमा बोलाई समूह मिली लुटपाट र डकैती गर्ने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment