
१३ माघ, काठमाडौं । सभामुखमा निर्वाचित भएलगत्तै अरु सांसदलाई पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न हतारिएको भन्दै अग्निप्रसाद सापकोटा सामाजिक सञ्जालमा ट्रोलको शिकार भए ।
आइतबार सभामुख निर्वाचित भएलगत्तै सापकोटालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले बधाई दिन चाहेका थिए । तर नेकपाका सांसदहरुको पहिलो रोमा बसेका उनको ध्यान भने प्रधानमन्त्रीतिर देखिन्थ्यो ।
हात मिलाएर बधाई दिन चाहेका उनी पार्टीका प्रमुख सचेतक देव गुरुङ लगायतका नेताहरुलाई पन्छाउँदै उनी प्रधानमन्त्री ओली भएतिर लम्किए ।
कतिपयले पार्टीभित्र ठूलो रस्साकस्सीका बीच सभामुख बनेका सापकोटाको यो ‘दौड’ प्रधानमन्त्री रिझाउने प्रयासको रुपमा अर्थ्याए ।
नवनिर्वाचित सभामुख सापकोटाले भने आफूले प्रधानमन्त्रीबाट बधाई लिएर जिम्मेवारी सुरु गर्न चाहनु स्वाभाविक भएको बताए ।
आज मैले सपथ गरेँ, आजबाट म पूर्ण रुपमा साझा भएँ । हिजोसम्म त मेरा लागि प्रधानमन्त्री मात्र होइन, सभामुख बनाउने पार्टीको अध्यक्ष पनि हो, दलको नेता पनि हो । त्यसकारण सदनमा त्यतिखेर (बधाई) प्रधानमन्त्रीबाट सुरु गर्न खोजेँ मैले’ उनले भनेका छन्, ‘यो एकदम स्वाभाविक छ । संसदीय मूल्य मान्यताअनुसार नै छ ।’
सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न हतार गर्नु नपर्ने धारणा राखे भने आफ्नो नियुक्तिलाई लिएर भइरहेको विरोध र अदालतमा परेको मुद्दाबारे बोल्न मनासिव नहुने बताए ।
प्रतिक्रिया 4