Comments Add Comment

प्रदेश सांसदको प्रश्न- २० वर्षदेखि चर्चित पानोरमा रिसोर्टमा किन एसी छैन ?

१३ माघ, हेटौंडा । ८ जना भारतीय पर्यटकको मृत्यु भएको दामनको एभरेष्ट पानोरमा रिसोर्टको मापदण्ड जाँचबुझ गरी कारबाही गर्न प्रदेश सांसदले माग गरेका छन् ।

बागमती प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले भ्रमण वर्षको उत्साहमा रहँदा पहिलो गासमै ढुंगा परेको बताइन् ।

उनले ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणलाई जोड्दै प्रश्न गरिन्, ‘२०औं वर्षदेखि चर्चित रहेको पानोरमा रिसोर्टमा किन एसी छैन ? गार्डेन हिटर ल्याएर कोठामा जोड्न मिल्छ कि मिल्दैन ?’

रिसोर्टको लापरबाहीका कारण पर्यटकको मृत्यु भएको बताइरहेका बेला प्रदेश सरकार मौन बसेको भन्दै उनले सरकारको ध्यानाकर्षणसमेत गराइन् ।

नेकपाकी प्रदेशसभा सदस्य मुनु सिग्देलले भ्रमण वर्षको सुरुआतमै भएकोे दुःखद घटनाले होटल र रिर्सोटको मापदण्ड माथि प्रश्न उठाएको बताइन् । उनले एभरेष्ट पानोरमा रिसोर्ट मापदण्ड अनुसार सञ्चालन भएनभएको छानबिन गरी कारबाही गर्नु पर्नेमा जोड दिइन् ।

सांसद लालकुमारी पुनले भ्रमण वर्ष मनाउँदै गर्दा भारतीय पर्यटकको मृत्यु भएको घटनाले ठूलो क्षति पुगेको बताइन् । उनले सरकारले चासो नदिएको भन्दै यस्तो घटनाले सरकारले लिएको लक्ष्य पूरा हुनेमा आशंका प्रकट गरिन् ।

प्रदेशसभा सदस्य रिना गुरुङले सरकारले पर्यटन वर्ष घोषणा गरेर ल्याएको भिजिट नेपाल २०२० लाई एभरेष्ट पानोरमामा भएको घटनाले असर परेको बताइन् ।

उनले उक्त घटनाले विश्वभर गलत सन्देश जाने भन्दै घटनाको स्पष्ट छानबिन गर्न सरकारले चासो दिनुपर्ने बताइन् ।

गत ७ गते एभरेष्ट पानोरमा रिसोर्टमा बसेका ४ बालबालिकासहित ८ जना भारतीय पर्यटकको हिटरले निसास्सिएर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment