Comments Add Comment

कांग्रेस बैठक : नेताहरुबीच सहमति, कार्यकर्तामा गमला हानाहान

बूढानीलकण्ठको सहमति सानेपामा अनुमोदन

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्ण सिटौला समूहले २६ मंसिरमा बोलाइएको केन्द्रयि समिति बैठक बहिस्कार गरेपछि सुरु भएको विवाद १० माघमा बूढानीलकण्ठ बैठकमा टुंगिएको थियो ।

त्यही सहमतिअनुसार बोलाइएको बैठकमा पौडेल र सिटौला समूहका नेताहरु पनि उपस्थित थिए । बैठकले सहमतिअनुसार १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । महाधिवेशको मिति २०७७ फागुन ७–१० लाई कायम राखेर अरु तालिका संशोधन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

संशोधन गरिएको कार्यतालिका यस्तो छ

  • वडा अधिवेशन – १६ कात्तिक
  • गाउँ तथा नगरपालिका अधिवेशन – १८ कात्तिक
  • ३३० क्षेत्रीय अधिवेशन – २१ कात्तिक
  • प्रतिनिधिसभा क्षेत्र र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन – २१ कात्तिक
  • एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन – २३ कात्तिक
  • ७ प्रदेशको अधिवेशन – २९ मंसिर

बैठकले क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि गरेको छ । यसको संयोजक र सदस्यहरु भने नेताहरुसँग छलफल गरेर पार्टी सभापति शेरबहादुर देउवाले तोक्नेछन् । यो समितिले १३औं महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको समितिलाई दिएको टीओआर नै दिने सहमति यसअघि नै भएको छ ।

बाहिर गमला हानाहान

बूढानीलकण्ठ वार्तामा कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका मात्र होइन, नेपाल विद्यार्थी संघको विवाद पनि टुंग्गो लागेको थियो । देउवाले सभापाति तोक्ने ८ महामन्त्री (देउवा र पौडेल समूह ३/३ र सिटौला समूहले २) राखेर ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति बनाउने सहमति जुटेको थियो ।

तर शीर्ष नेताहरुबीच भएको सहमति अनुमोदन गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउँदा नेपाल विद्यार्थी संघका नेताहरुले पार्टी कार्यालयमा नाराबाजी मात्र होइन, गमला हानाहान गरे ।

पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले विधान कार्यान्वयनको माग गर्दै धर्ना दिँदै आएको थियो । पार्टी सभापति देउवा पार्टी कार्यालय पुग्दा यो समूहले विधान कार्यान्वयनको माग गर्दै नाराबाजी गर्‍यो । देउवा कार्यालयभित्र प्रवेश गर्नासाथ स्थिति तनावपूर्ण भयो । संस्थापन र काफ्ले समूहबीच धकेलाधकेल भयो ।

कांग्रेस कार्यसमिति बैठकमा नेताहरुले सहसतिका साथ निर्णय गरिरहँदा बाहिर भने तनाव चलिरह्यो । बैठक सकेर नेताहरु बाहिरिने क्रममा फेरि संस्थापन र अर्को समूहका विद्यार्थीहरुबीच धकेलाधकेल मात्र भएन, गमला हानाहान गरे ।

नेताहरुले सहमति गरिसक्दा विद्यार्थीहरुको झगडा कि भन्ने प्रश्नमा एक विद्यार्थी नेता भन्छन्, ‘विद्यार्थी संगठनमा माउपार्टीमा भन्दा धेरै गुट छ, त्यही गुटका नेताहरुले आफ्नो उपस्थिति देखाउन खोज्दा गमला हानाहानको अवस्था आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment