Comments Add Comment

अवैध सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमानको हत्या !

१४ माघ, विराटनगर । मोरङ कटहरी गाउँपालिका– ७ का विकास सरदारको हत्या उनकै श्रीमतीको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रेमीसँगको सम्बन्धका बारेमा ४५ वर्षीय श्रीमान विकास सरदारले थाहा पाएपछि श्रीमती दयावती सरदारको सल्लाहमा प्रेमी बद्री सरदारसहितको समुहले हत्या गरेको खुलेको हो ।

३५ वर्षीय दयावती सरदारको दुई वर्षयता बोस भनिने ३६ वर्षीय बद्री सरदासँग प्रेम सम्बन्ध थियो । सम्बन्धका बारेमा थाहा पाएपछि मदिरा सेवन गराई तास खेल्ने बाहनामा हत्या गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

विकासको शव टाउकोमा पछाडि चोट लागेको अवस्थामा ग्रामथान गाउँपालिका–३ स्थित पानी जमेको खाल्डोमा ६ माघमा फेला परेको थियो । श्रीमतीको परपुरुषसँगको सम्बन्ध नै विकासको हत्याको मुख्य कारण रहेको अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

‘दयावती र उनका प्रेमी बद्रीकै सल्लाहमा हत्याको योजना बनाएको देखिन्छ’ उनले भने ‘पछि हत्या गर्ने बेला ललन सरदार र करिया भनिने मुकेश सरदारले पनि सहयोग गरेको देखिन्छ ।’

अधिकारीका अनुसार विकासको घरमा मदिरा पसल पनि छ । पसलमा मदिरा सेवन पछि तीनजनाले तास खेल्न भन्दै लिएर गएका थिए । घरदेखि केही पर पुगेपछि साथमै लगेको फलामको डण्डीले ललनले टाउकोको पछाडि प्रहार गरे ।

रड प्रहारपछि ढलेका विकासको घाँटीमा गाम्छाले कसेर हत्या गरी नजिकैको खाल्डोमा फालेका थिए । हत्या गरिसकेपछि पानीमा डुबेर मृत्यु भएको देखाउन खाल्डोमा लगेर हालेको अधिकारीले बताए ।

प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट पक्राउ गरेको थियो । उनको बयानका आधारमा दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको अधिकारीले बताए । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment