Comments Add Comment

उद्योग वाणिज्य महासंघको चुनाव : २ उपाध्यक्ष एकै कित्तामा

किशोर प्रधान भन्छन्– यसपालि त जित्छु, जित्छु

१५ माघ, काठमाडौं । आगामी चैत २९ गते हुने उद्योग वाणिज्य महासंघको चुनावमा दुईजना बहालवाला उपाध्यक्षहरु एकै कित्तामा उभिने भएका छन् । वर्तमान ३ उपाध्यक्षमध्ये चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ एकै कित्तामा उभिने भएका हुन् ।

यी दुईबीच चुनावमा कसरी अघि बढ्ने भन्नेमा सहमति भइसकेको छ । चुनाव नजिकिँदै जादा आकांक्षीहरुले दौडधुप तीब्र बनाएका छन् । ढकाल र श्रेष्ठको प्यानलले आगामी चुनावका लागि गृहकार्य तीब्र बनाएको छ । मंगलबार मात्रै पनि यो समूहको बैठक बसेको थियो ।

दुई उपाध्यक्षहरु एक ठाउँमा उभिएपछि अर्का उपाध्यक्ष किशोर प्रधान एक्लिएका छन् । तर, दुई उपाध्यक्ष एकातिर लागे पनि आफूले जित निकाल्ने दाबीसहित प्रधानले पनि भेटघाटलाई तीब्र बनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । अध्यक्ष पक्का भए पनि अन्य पदहरुमा भने चुनावी प्रतिस्पर्धा रोचक हुँदैछ ।

आगामी निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति नै गोल्छापछि अध्यक्ष हुनेछन् । यसकारण सबैभन्दा रोचक भने वरिष्ठ उपाध्यक्ष पदमा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षकै लागि आकांक्षी देखिएका दिनेश श्रेष्ठले पनि उपाध्यक्षमा लड्ने तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न गृहकार्य

दिनेशलाई फकाउने प्रयास भने भइरहेको ढकाल समूहका एक व्यवसायीले बताए । ‘दिनेशजीसँग हामीले छलफल गरिरहेका छौं, वहाँलाई उपाध्यक्ष चाहियो भनेका कारण कुरा मिलिरहेको छैन’ ती व्यवसायीले भने, ‘कसरी हुन्छ हामी मनाउने प्रयास गरिरहेका छौं ।’

आगामी वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ बलियो दाबेदारका रुपमा थिए । हाल उपाध्यक्ष रहेका श्रेष्ठ नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र चर्चित वामपन्थी नेतृ स्वर्गीय साहना प्रधानका छोरा हुन् ।

‘तपाई उपाध्यक्ष भइसकेको मान्छे किन फेरि उही पदमा दोहोरिन लाग्नुभएको त ?’ भन्ने अनलाइनखबरको प्रश्नमा श्रेष्ठले भने, ‘महासंघको राजनीतिमा लागिहालियो, खाली के बसौं भनेर हो ।’ उनले आफू अब वस्तुगत उपाध्यक्षमा लड्ने जानकारी दिए ।

महासंघमा १०३ वटा वस्तुगत संघहरु छन् भने द्वीदेशीय संगठनहरु १८ वटा छन् । यो पनि वस्तुगतमै जोडिन्छ । वस्तुगततर्फको उपाध्यक्षमा सौन्दर्य व्यवसायी कमला श्रेष्ठ आकांक्षा राखेकी थिइन् । उमेशले आफू वरिष्ठ उपाध्यक्षमा उठे उनलाई वस्तुगत उपाध्यक्षमा सहयोग गर्ने बताएका थिए । तर, वस्तुगत उपाध्यक्षमा उमेश आफै उठ्ने भएपछि हाल महासंघको केन्द्रीय सदस्य श्रेष्ठले उम्मेद्वारी नदिने भएकी छन् । नाताले उनीहरु काकी–भतिज हुन् ।

वस्तुगत उपाध्यक्षका लागि व्यवसायी अञ्जन श्रेष्ठसमेत आकांक्षी देखिएका छन् । लक्ष्मी ग्रुपका अध्यक्ष रहेका श्रेष्ठ नाडा अटोमोवाइल डिलर्स एशोसिएसनका अध्यक्ष भइसकेका व्यक्ति हुन् । उमेश र अञ्जनबीच चुनावी प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ ।

ढकाल समूहले गुणनिधि तिवारीलाई जिल्लानगर उपाध्यक्षमा उठाउने तयारी गरेको ढकाल समूहका एक व्यवसायीले बताए । समूहको बैठकले वस्तुगततर्फ उमेशलाई र जिल्लानगर उपाध्यक्षमा तिवारीलाई उठाउने निर्णय गरेको हो । तिवारी हाल महासंघको प्रदेश नम्बर ५ को अध्यक्ष रहेका छन् । एशोसिएटकाे भने टुंगाे नलागेकाे ति व्यवसायीले बताए ।

गत अधिवेशनमा चन्द्र ढकाल एशोसिएटबाट उपाध्यक्ष चयन भएका थिए । यसपटक एशोसिएट उपाध्यक्षका लागि शौरभ ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् । आजभन्दा एक महिनाअघि नै उनले पत्रकार भेटघाट गरी आफू उम्मेद्वार हुने जानकारी गराइसकेका छन् ।

हुन त यसअघिको निर्वाचनमा पनि उनले उम्मेद्वारी दिने तयारी गरेका थिए । तर, अन्तितमा आएर उम्मेद्वारी नदिएका कारण नै ढकाल सर्वसम्मत उपाध्यक्ष बनेका थिए । यसपालि भने उम्मेद्वारी फिर्ता नहुने उनले बताएका छन् ।

किशोर प्रधान भन्छन्– यसपालि त जित्छु, जित्छु

ढकाल र श्रेष्ठ दुई उपाध्यक्ष एक कित्तामा देखिए पनि उनीहरुको विपक्षमा अर्का उपाध्यक्ष प्रधान बरिष्ठ उपाध्यक्षका लागि लड्दैछन् । प्रधान यसअघि नै गोल्छासँग वरिष्ठ उपाध्यक्षमा लडिसकेका व्यक्ति हुन् । प्रधान आफूले यसपटक बरिष्ठ उपाध्यक्षमा जित्ने दाबी गर्छन् ।

अनलाइनखबरसँगको कुराकानीमा आफु यसपालिको वरिष्ठ उपाध्यक्षको उम्मेद्वार भएको र यसपालि जित हासिल गर्ने प्रधानले दाबी गरे । कसैले चुनावमा उठ्दैन भन्ने कुरा गरिरहेको, तर त्यो गलत भएको उनले बताए ।

किशोर जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट उदायका व्यक्ति हुन् । विराटनगरका व्यवसायी प्रधान बिजुलीको पोल उत्पादन गर्ने व्यवसायीहरुको संगठनको अध्यक्ष छन् ।

जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो । यसपालि भने भने आफूले जित्ने र जितकै लागि चुनावी मैदानमा उत्रिन लागेको उनले बताए ।

किशोरले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म मैले कमाएको सम्पत्ति नै इमान्दारिता हो, सबैले बुझ्नुभएको छ’ उनले भने, ‘यसपालि त जित्छु–जित्छु, मलाई धेरैको समर्थन छ ।’

यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघमा नेता बन्न दौडधुप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment