Comments Add Comment

नेकपा बैठकमा ओलीको सम्बाेधन, सरकारी टेलिभिजनबाट ‘लाइभ’

१५ माघ, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ ।

राष्ट्रियसभा गृहमा बुधबार बिहान नेकपा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बसेकाे हाे ।

बैठकको सुरुमै सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताएका छन् ।

सरकारी टेलिभिजनबाट ‘लाइभ’

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

कम्युनिस्ट पार्टीको आन्तरिक बैठक गोप्यरुपमा हुने प्रचलन भएता पनि नेकपा बैठकमा अध्यक्ष ओलीको सम्वोधन सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा केन्द्रीय सदस्यहरु सामु सरकारले केके उपलब्धीहरु हासिल गरेको छ भन्ने विववरण प्रस्तुत गर्दै सरकारको बचाऊ गरेका छन् ।

नेकपाको जम्बो केन्द्रीय कमिटीमा सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले टेलिभिजमार्फत नै सरकारको बचाऊ गरेका हुन् ।

के–के हुन्छ बैठकमा

बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ ।

बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।

नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment