Comments Add Comment

टिकटक सेलिब्रिटीको भिडियोमा बढ्दो क्रेज, छायामा पर्दै राम्रा कलाकार

अहिले म्युजिक भिडियोमा प्रिन्सी–प्रिज्मा खतिवडाको अनुहार खुबै देख्न पाइन्छ । यतिसम्मकी, चलचित्रका कलाकारमाथि विश्वास नभएर उनीहरुलाई एक चलचित्रको गीतमा नृत्य समेत गराइएको छ ।

टिकटकमा ‘ट्विनी गर्ल’को नामबाट चिनिएका यी दुई अहिले निरन्तर म्युजिक भिडियोमा काम गरिरेहका छन् । अर्को जुम्ल्याहा जोडी दीपा–दीमान्त श्रेष्ठ पनि म्युजिक भिडियोमा निरन्तर काम गरिरहेका छन् । उनीहरुले पनि झण्डै आधा दर्जन भिडियोमा काम गरिसकेका छन् ।

जुम्ल्याहा कै कुरामा पुरुष जुम्ल्याहा अमर–अमृत दाहालले पनि म्युजिक भिडियोमा अनुहार देखाइसकेका छन् । उनीहरुले निशान भट्टराईको गीतमा अभिनय गरेका हुन् । उनीहरुको क्रेज टिकटकमा राम्रो छ ।

टिकटकमा सर्वप्रिय कलाकारमा पर्छिन्, रेश्मा घिमिरे । रेश्माले चलचित्र ‘यो साइनो मायाको’मा काम गरिसकेकी थिइन् । तर, उक्त चलचित्र खासै सफल भएन । तर, टिकटकमा १५ सेकेन्डको भिडियो बनाएको भरमा उनको क्रेज चुलियो ।

अहिले रेश्मा म्युजिक भिडियोमा निकै व्यस्त छिन् । उनले दर्जन हाराहारी भिडियोमा काम गरिसकेकी छिन् ।

त्यस्तै टिकटकबाट नै उदाएका अर्का कलाकार हुन्, मन्जिल बस्नेत । मन्जिल टिकटकमा निकै सक्रिय छन् । उनका भिडियोहरुलाई टिकटकमा धेरै रुचाइन्थे । यही लोकप्रियतालाई म्युजिक भिडियो निर्देशकले प्रयोग गर्न खोजे र भिडियोको अफर गरे ।

मन्जिलले पनि भिडियोको अफर नकारेनन् । उनले अहिलेसम्म झण्डै आधा दर्जन भिडियोमा काम गरेका छन् । टिकटक सेलिब्रेटी कै रुपमा चिनिएकी अमिता गुरुङले पनि म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले सन्तोष लामाको ‘मंसिर’ बोलको गीतमा काम गरेकी छिन् ।

यी केही उदाहरण मात्र हुन् । यस्ता धेरै कलाकारहरु छन्, जो टिकटक भिडियोबाट म्युजिक भिडियोमा प्रवेश गरेका छन् ।

स्थापित कलाकारलाई असर !

टिकटकमा राम्रै फ्यान कमाएका धेरै अनुहार म्युजिक भिडियोमा प्रवेश गरिरहँदा स्थापित कलाकारहरु भने छायाँमा परेका छन् । भिडियो निर्माताहरु पनि भाइरलको पछाडि लाग्दा राम्रो कलाकारहरुले अवसर पाउन छोडेका छन् ।

नायिका वर्षा सिवाकोटी जो जसरी आएपनि राम्रो गर्ने सक्नेहरुलाई अवसर दिनुपर्ने बताउँछिन् । उनले भनिन्–‘यहाँ हाम्रोमा अभिनयको कुनै दायरा नै छैन । जसले जुनसुकै क्षेत्रबाट प्रवेश गर्न सक्छ । तर, राम्रो गर्नेहरुले मात्र अवसर पाउनु पर्छ भन्ने लाग्छ ।’

वर्षाले भिडियो बनाउनेहरु भाइरलको पछि लागेको कुरामा भने असन्तुष्टी पोखिन् । उनले भनिन्–‘यहाँ भाइरलहरुलाई यतिसम्म प्रयोग गरिन्छ कि, उहाँहरुलाई हेर्दा हेर्दा दर्शक नै वाक्क भइसकेका हुन्छन् । त्यो कुरालाई भने मेकरले ध्यान दिनुपर्छ ।’

नायिका शिल्पा मास्के पनि फलोअर्स हेरेर चलचित्र वा भिडियोमा अभिनय गराउने प्रवृतीप्रति असन्तुष्ट छिन् । डेब्यु चलचित्र ‘दि ब्रेकअप’को समयदेखि नै उनले ‘चलचित्र वा भिडियोमा काम गर्न फलोअर्स होइन अभिनय चाहिन्छ’ भन्ने तर्क दिदैँ आएकी छिन् ।

उनले भनेकी छिन्–‘फलोअर्स हुँदैमा उसको अभिनय राम्रो हुन्छ वा चलचित्रलाई सुहाउँदो हुन्छ भन्ने हुँदैन । त्यसैले अडिसन गरेर मात्र काम गराउन जरुरी हुन्छ ।’ यदि राम्रो काम गर्न सक्ने क्षमता भएको व्यक्ति छ भने उसलाई अवसर दिनुपर्ने शिल्पा बताउँछिन् ।

अहिले म्युजिक भिडियोमा व्यस्त बनिरहेका निर्देशक शान थापा टिकटक एउटा ‘हुइम’ मात्र भएको बताउँछन् । यसले स्थापित र संघर्ष गरेर आएका कलाकारहरुलाई असर नगर्ने उनको बुझाई छ ।
उनले भने–‘यो भनेको ट्रेण्डी चिजहरु हो । यसको आयु लामो हुँदैन । अहिले नै टिकटकमा हिट भएकाहरुको क्रेज घटिसकेको छ । तर, संघर्ष गरेर स्थापित भएका कलाकारहरुको क्रेज अझै उस्तै छ । त्यसैले संघर्ष गर्नेहरुलाई असर गर्दैन ।’

भाइरल अनुहारलाई मात्र भिडियोमा प्रयोग गर्नु एकदमै झुर काम भएको शान थापाले बताए । उनले भने–‘यहाँ त गीतले उक्त पात्रलाई माग नगरेको भए पनि गीत हिट बनाउने दाउमा भाइरलहरुलाई प्रयोग गरिन्छ । त्यसले क्षणिक र व्यक्तिगत फाइदा गरेपनि पछि पक्कै असर नै गर्नेछ ।’

टिकटक सेलिब्रेटी भन्छन्–‘भाइरल भएर मात्र भिडियो खेलेको होइनौं’
टिकटकबाट म्युजिक भिडियोमा आएकाहरुको गुनासो पनि उस्तै छ । उनीहरु आफ्नो क्षमता भएकै कारण भिडियोमा काम गर्ने अवसर पाएको बताउँछन् ।

रेश्मा घिमिरे आफूले पहिल्यैदेखि यसै क्षेत्रमा रहेर काम गरेको बताउँछिन् । उनले भनिन्–‘म टिकटकमा भाइरल भएँ होला । तर, त्यो भन्दा पहिलादेखि नै मैले अभिनय सिकेर काम गर्दै आएको थिएँ ।टिकटकको कारण मात्र मैले काम पाएको हुँ जस्तो मलाई लाग्दैनँ ।’

टिकटकको कारण आफ्नो क्रेज बढेको कुरालाई नकार्न भने सक्दिनन्, रेश्मा । उनले भनिन्–‘होला पहिला काम कम थियो । अहिले बढी भएको छ । तर, म राम्रो काम गर्न सक्दिन थिएँ भने उहाँहरुले मलाई छान्नु नै हुन्न थियो होला ।’

रेश्माका केही भिडियोहरुले न्यून भ्युज पनि पाएका छन् । तर, पनि रेश्मालाई भिडियो खेलाउन धेरै जना लालायित छन् । रेश्मा भन्छन्–‘मेरो भिडियो फ्लप पनि भएका छन् । तर, मलाई अफर गर्नेहरु सबैले तिम्रो भिडियो हेरेको थिए, राम्रो लाग्यो र सँगै काम गर्न खोजेको भन्नुहुन्छ । त्यो भाइरल भएर होइन होला ।’

त्यस्तै, प्रिन्सी र प्रिज्मा आफूहरु भाइरल भएको कुरालाई स्विकार्दैनन् । उनीहरुले एक कार्यक्रममा आफूहरु भाइरल नभएको बताएका थिए । प्रिन्सीले भनेकी थिइन्–‘हामी भाइरल होइन । भाइरल भनेको सिमित समयको लागि हुन्छ । हामी त १ वर्ष बढी भइसक्यो । यसलाई कसरी भाइरल भन्ने ?’

उनीहरुले धेरै मिहिनेत गरेर आफूहरुले स्थान बनाएको दाबी समेत गरे । यी दुइले अफर धेरै आएपनि आफूहरुले छानेर मात्र काम गरेको दाबी गरे ।

उसो त अहिले युटुबको भ्यूजको आधारमा गीतको चर्चाको मापन गरिन्छ । तर, धेरै कलाकार यस्तै भ्रमको पछि दौडिएका छन् । गीतले केही लाख भ्यूज पाउने आधार धेरै हुन्छन् । तर, ती गीतले बजारमा कस्तो प्रभाव पारे भन्ने ख्याल निकै कमले मात्र गर्ने गरेका छन् । सामाजिक संजालमा भाइरल बनेका केही अनुहारलाई भिडियोमा देखाउँदा एकाध लाख भ्यूज त बढ्छ होला । तर, यसले गीतको लोकप्रियतामा फाइदा पनि खासै दिदैन । भाइरल भन्दा पनि राम्रालाई अवसर दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment