Comments Add Comment

निष्प्राण उभिएको पोखराको आर्ट ग्यालरी

पोखरामा भएको आर्ट ग्यालरी मासियोे, नयाँ बनेन

१५ माघ, पोखरा । पोखरा महानगरको गत साता सकिएको छैठौं नगर सभाले पारित गरेको ‘पोखरा प्रज्ञा प्रतिष्ठान ऐन’ मा महानगरभित्रका भाषा, सहित्य, संगीत, कलालाई संरक्षण र प्रर्वद्धन गर्ने उल्लेख छ । तर पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भने महानगरको बेवास्तामा परेको छ ।

पोखरा महानगरको २०७५ चैत १ गते बसेको २८ औं नगर कार्यपालिका बैठकले एउटा निर्णय गर्‍यो, ‘महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय अन्यत्र सार्ने ।’

पुस्तकालय र आर्ट ग्यालरी रहेको भवन पुरानो भइसकेको छ । ‘त्यसमाथि त्यहाँ अनावश्यक भीड र होहल्ला पनि हुने भएपछि हटाउने निर्णय भएको हो,’ महानगर कार्यपालिका बैठकको निर्णय थियो, ‘अब यसलाई प्रदेश संग्रहालयमा स्थानान्तरण गर्ने भएका छौं ।’ योजनाअनुरुप महानगरले आर्ट ग्यालरीमा भएका चित्र तथा तस्वीरहरु त्यहाँबाट हटाइसकेको छ ।

फोटो र चित्र नै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन पोखरा आर्ट ग्यालरीबाहेक अरु छैन । त्यसैले पोखरामा हुने साना र ठूला प्रर्दशनी त्यहीँ गरिन्थे । महानगरले त्यहाँबाट ग्यालरी सारेर व्यवस्थित ढंगले अन्यत्र सार्ने भनेपछि सुरुमा कलाकार खुसी भए । तर, लामो समय भइसक्दा पनि महानगरले कुनै कदम नचाल्दा अहिले कलाकार निराश छन् ।

‘आर्ट ग्यालरी बनाउन पोखराका साना ठूला सबै कलाकारको मिहिनेत र श्रम लागेको छ । महानगरले सुरुमा अन्तै राम्रो ठाउँमा सार्छौं भन्दा खुसी लागेको थियो,’ कलाकार मिलन शेरचन भन्छिन्, ‘त्यहाँ भएका सबै सामान पनि हटाइसक्यो । ग्यालरी त अहिले शरीर भएर पनि निष्प्राण उभिएको छ जस्तो लाग्छ ।’

भएको एउटा आर्ट ग्यालरी बन्द भएपछि धेरै कलाकारका क्रियाकलाप बन्द भएको मिलनको दाबी छ । प्रश्न गर्छिन्, ‘हामी त पखेटा काटेका चराजस्तै भयौं । प्रदेशको राजधानी भन्ने अनि एउटा ग्यालरी पनि बनाउन नसक्ने ?’ उनले दिवंगत कलाकार किरण रञ्जितको सम्झनामा चित्रकला प्रर्दशनी गर्न लागिएको तर, ठाउँ अभावले अन्यौल भएको बताइन् ।

२०५६ सालमा स्थापना भएको एकमात्रै सार्वजनिक ग्यालरीछेउमा सार्वजनिक पुस्तकालयसमेत छ । पहिले खुलेर बन्द भएको पोखरा सार्वजनिक पुस्तकालय २०४८ सालदेखि पुन सञ्चालन गरिएको थियो ।

महानगरले लामो समयसम्म ग्यालरीको टुंगो नलगाइदिँदा कलाकार हेमकान्ती गुरुङ पनि रुष्ट छिन् । ‘त्यही आर्ट ग्यालरीको भर परेर संस्था पनि चलाइरहेका थियौं । अहिले त्यो पनि बन्द भएपछि त संस्था नै छिन्नभिन्न भइसक्यो,’ उनी दुखेसो पोखिन्, ‘प्रदर्शनी गर्न पनि कहिले सपिङ मल त कहिले होटल रेस्टुरेन्टसँग हात जोड्दै हिँड्नुपर्ने बाध्यता भयो ।’

कलाकार सुनील सिग्देल महानगरले चाँडोभन्दा चाँडो आर्ट ग्यालरीबारे ठोस निर्णय गर्नुपर्ने बताउँछन् ।

बनेन पार्किङ स्थल पनि

महानगरले साविक ठाउँबाट आर्ट ग्यालरी हटाउने निर्णय गर्दा भनेको थियो, ‘महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्र अत्याधिक ट्राफिक हुने क्षेत्र हुन् । त्यस क्षेत्रमा ठाउँ अभावले गर्दा पार्किङ समस्या आइरहेको छ । ग्यालरी हटाएर पार्किङस्थल बनाउँछौं ।’ तर, न अहिले त्यहाँ ग्यालरी छ, न व्यवस्थित पार्किङस्थल ।

‘व्यस्त ठाउँ भएकाले पार्किङस्थल बनाउने र दुर्घटना न्युनिकरण गर्ने मेयर साबको योजना हो,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘केही गर्नुपर्छ भन्ने त हामीलाई पनि फिल भएकै कुरा हो । तर, कुनै निर्णय लिन सकिरहेका छैनौं ।’ उनले न्युरोड क्षेत्रमा पार्किङस्थल तयार भइसकेको र चाँडै महेन्द्रपुलमा पनि पार्किङस्थल बनाइने जानकारी दिए ।

जग्गा प्राप्तिको समस्या छ : प्रवक्ता नेपाली

पोखरा महानगर प्रवक्ता धनबहादुर नेपाली आर्ट ग्यालररुी बनाउन जग्गा प्राप्तीको समस्या भएको बताउँछन् ।

आर्ट ग्यालरी र सार्वजनिक पुस्ताकालयलाई संग्रहालयमा राख्दा संग्रहालयले आफ्नो मातहतमा राख्ने भएमात्रै जग्गा उपलब्ध गराउने शर्त राखेको उनले बताए । ‘प्रदेशको मातहतमा राखेर चलाउन सकिन्छ कि सकिँदैन भन्ने नै अहिलेको समस्या हो,’ उनले भने, ‘योजना बनाएपनि प्रगति केही भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment