Comments Add Comment

वीर सपूतहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै

१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ ।

जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।

निरंकुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ । शहीद दिवस मूल समारोह समितिले आजको दिन लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रम सहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । गत वर्ष प्रदेश ३ सरकार (हालको बागमती प्रदेश) ले शहीद दिवसमा सार्वजनिक विदा दिए पनि यस वर्ष भने दिएको छैन ।

मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment