Comments Add Comment

राष्ट्रियसभाले पत्रकारको परीक्षासम्बन्धी प्रावधान हटाउने

प्रतिनिधिसभामा जानु अगावै विधेयक सच्याउने गृहकार्य सुरु

१६ माघ, काठमाडौं । राष्ट्रिसभा अन्तरगत विधायन समितिले पारित गरेको पत्रकारको परीक्षासम्बन्धी प्रावधानलाई राष्ट्रियसभाले हटाउने गृहकार्य थालेको छ । अब परीक्षासम्बन्धी दफालाई हटाएर मात्र मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पठाइने भएको छ ।

तीन दिनअघि विधायन समितिको बैठकले पत्रकारले काउन्सिलमा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रतिवेदन तयार पारेर राष्ट्रियसभालाई बुझाएको थियो ।

पत्रकारलाई परीक्षा दिने व्यवस्था मिडिया काउन्सिल विधेयकमा राख्न नहुने अडान सञ्चारमन्त्री गोकुल बास्कोटाले समेत राखेका थिए । तर, नेकपाकै सांसदहरुको जोडबलमा परीक्षासम्बन्धी प्रावधान पारित भएको थियो ।

विधेयक तयार पार्ने सञ्चार मन्त्रालयसमेत परीक्षाको विपक्षमा रहेकाले समितिबाट आएको सुझावलाई सच्याउन लागिएको राष्ट्रियसभा सचिवालय स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस पत्रकारको परीक्षा देशले धान्न सक्दैन : सञ्चारमन्त्री बाँस्कोटा

अब राष्ट्रिय सभाका अध्यक्ष र सञ्चारमन्त्रीले छलफल गरेर विधेयकमाथि सुधार गर्ने स्रोतले बताएको छ । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘अब परीक्षाको प्रावधान हटाएर विधेयक प्रतिनिधिसभामा पठाइनेछ । जुन सभामा विधेयक उत्पत्ति भएको हो, त्यहीँ सच्याउनु राम्रो हुन्छ, मिडिया काउन्सिल विधेयकलाई प्रतिनिधिसभामा पठाउनुअघि नै सच्याइने छ ।’

मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभाबाट उत्पत्ति भएको हो ।

यो पनि पढ्नुहोस ‘पत्रकारको परीक्षा लिनेको अनुहार हेरौं न’

विधेयकमा रहेको सजाय सम्बन्धी प्रावधानमा अदालतले नै हेर्ने गरी संशोधन भएको छ । साथै सञ्चार मन्त्रालयले काउन्सिल गठन गर्ने प्रावधानलाई संशोधन गरेर क्याबिनेटबाटै मिडिया काउन्सिल गठन हुने गरी संशोधन भएको छ ।

तर, मिडिया काउन्सिलले पत्रकार र समाचार देखिएको पक्षसँग मेलमिलाप गराउने दफा विधेयकमा थपिएको भन्दै त्यसलाई पनि सच्याउन सञ्चारकर्मीहरुले माग गरेका छन् । समाचारका विषयमा मेलमिलाप गराउने प्रावधानले बिचौलियाहरु उत्पादन गर्ने गुनासो पत्रकारहरुले गरेका छन् ।

यो पनि पढ्नुहोस मिडिया काउन्सिल विधेयकमा हेरफेर : जरिवाना हट्यो, लाइसेन्स थपियो

मिडिया काउन्सिल विधेयकमा जस्तै सुचना प्रविधि विधेयकमा पनि संशोधन गर्ने तयारी भइरहेको सूचना प्रविधि मन्त्रालय र राष्ट्रिसभाका अधिकारीहरुले संकेत गरेका छन् ।

यसैवीच, पत्रकारहरुलाई परीक्षा दिने प्रावधान विधेयकमा राखिएको भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले बिहीबार यसबारे सम्पादकहरुसँग परामर्श गर्दैछ ।

यो पनि पढ्नुहोस पत्रकारिता गर्न चाहनेले दस्तुर तिर्ने, परीक्षा दिने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment