Comments Add Comment

रामग्राम स्तुप क्षेत्रको गुरुयोजना तयार

१ सय १७ बिघा जग्गा र ७ अर्ब लागत अनुमान

१६ माघ, बुटवल । बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको गुरुयोजना बनेको छ । बुद्धको जीवनीसँग अभिन्नरुपमा जोडिएको स्थल भएर पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेपछि गुरुयोजना बनाएर विकास गर्न लागिएको हो ।

राज्यले उपेक्षा गरेको भन्दै आलोचना र छुट्टै रामग्राम विकास कोषको माग भइरहेका बेला लुम्बिनी विकास कोषले सात अर्ब लागतको गुरुयोजना बनाएको हो ।

नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलहरुको विकास गरिने छ । यहाँ बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् ।

ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजना अनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचनाहरु निर्माणका लागि साढे पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

गुरुयोजनालाई लुम्बिनी विकास कोषको कार्यसमिति वैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरी फाइल अर्थ मन्त्रालय पठाइएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए ।

रामग्राम स्तुपा क्षेत्रको गुरुयोजना अनुसार ध्यान केन्द्र, १६ वटा विभिन्न देशका विहार, पुरातत्व र वातावरणमैत्री चिल्ड्रन पार्कलगायतका संरचनाहरु बनाइने उनले बताए ।

नेपाल सरकारले बनाएको ग्रेटर लुम्बिनीको परिकल्पना अनुसार अव लुम्बिनीसँगसँगै देवदह, रामग्राम र तिलौराकोटको एकीकृत विकास गर्ने गरी योजना बनाइएको भट्टराईले बताए । ‘लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाले भौगर्भिक सर्भे गरेर रामग्रामको विकासका लागि गुरुयोजना तयार गरेका हौं,’ भट्टराईले भने, ‘रामग्राम स्तूपकै स्वरुपमा गोलो आकारमा गुरुयोजना तयार भएको छ ।’

रामग्राम र तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने कार्यमा लागेको भट्टराईले बताए । नवलपरासीको रामग्राम नगरपालिकामा पर्ने रामग्राम ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल मानिन्छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाई र ३० फिट उचाइ भएकोे स्तूपमा बुद्धको महापरिनिर्वाण पछि अस्तु राखिएको छ ।

बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण पछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि आठ भाग लगाइएको थियो । बुद्धको अस्तु मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो । पछि सम्राट अशोकले सबै राज्यको अस्तु संकलन गरे हात्तीले संरक्षण गरेर राखेकाले रामग्रामको लिन सकेन ।

लुम्बिनीसँग जोडिएका स्थलहरुको एकीकृत विकास नहुँदा लुम्बिनी आएका पर्यटक बुद्धको मावली गाउँ देवदह, अस्थिधातु रहेको रामग्राम, सिद्धार्थ हुर्केको तिलौराकोट र आसपासका बुद्ध क्षेत्रमा पुग्न सकेका छैनन् ।

सरकारले लुम्बिनी विकास कोषलाई विशेष प्राथमकितामा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याइरहेको तर लुम्बिनीबाहेक अरु क्षेत्र ओझेलमा परेको भनेर आलोचना हुँदै आएको छ । ती क्षेत्रहरुको एकीकृत विकास गर्ने उद्देश्यले ग्रेटर लुम्बिनीको गुरुयोजना बनेको हो ।

अब तिलौराकोट र देवदहको विकासमा पनि जोड दिँदै गुरुयोजना बनाइ काम गर्न सके लुम्बिनी आउने पर्यटकको बसाइँ लम्ब्याउन सकिने रामग्राम नगरपालिकाका प्रमुख नगेन्द्रकुमार गुप्ताले बताए । ‘रामग्रामको गुरुयोजना र छुट्टै विकास कोषको माग रामग्रामवासीले गर्दै आएका थिए’-नगर प्रमुख गुप्ताले भने, ‘अब गुरुयोजनालाई संघीय सरकारले स्वीकृत गरी कार्यान्वयनका लागि बजेट छुट्टाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment