Comments Add Comment

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधन

१६ माघ, बाँके । बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । ९२ वर्षीय गुप्ताको बुधबार राति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

केही वर्षयता अस्वस्थ रहेका पत्रकार गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको जानकारी दिए ।

नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेका थिए ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुप्तालाई नेपाल पत्रकार महासंघले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । उनी २०५६ साल भदौदेखि २०५८ साल फागुनसम्म महासङ्घ बाँके शाखाको सभापति रहेका थिए । स्व गुप्ताका चार छोरा र तीन छोरी छन्‍ ।

गुप्ताको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत नेपालगञ्जको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका गुप्ताको निधनले नेपाली पत्रकारिता जगत्ले एक सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको उल्लेख गरेका छन् ।

अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनले बाँकेको पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बताए ।

गुप्ताको दाहसंस्कार शुक्रबार राप्ती नदीको चिदनिया घाटमा गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment