Comments Add Comment

कुलुङले जिते तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि

१६ माघ, दमौली । शहीद दिवसका अवसरमा व्यास नगरपालिका तनहुँद्वारा आयोजित तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका–५ का २८ वर्षीय सुमन कुलुङले जितेका छन् । ६८ जना धावकलाई पछि पार्दै कुलुङले उपाधि जितेका हुन् ।

पहिलो अल्ट्रा म्याराथनमा चौथो र दोस्रो म्याराथनमा सातौं स्थान प्राप्त गरेका कुलुङले तेस्रो व्यास नगर अल्ट्रा म्याराथन उपाधि जित्न सफल भएका हुन् । २ घण्टा ५९ मिनेटमा दुरी पार गर्दै कुलुङ प्रथम भएका हुन् । करिब १५ किलोमिटर फेदीसम्म तेस्रो स्थानमा रहेका कुलुङले उकालोमा एक्कासी गति बढाएपछि प्रथम स्थान हासिल गरेका थिए ।

सोही प्रतियोगितामा कालिकोटको रासकोट नगरपालिका–६ घर भएका २३ वर्षीय देवराज महतरा द्वितीय भएका छन् । त्रिभुवन आर्मी क्लबका महतराले ३ घण्टा २ मिनेमा दुरी पार गर्दै द्वितीय भएका हुन् । भोजपुरका ३३ वर्षीय तिर्थ तामाङ तृतीय हुन सफल भएका छन् । त्रिभुवन आर्मी क्लवकै जमदार पदमा कार्यरत तामाङले ३ घण्टा ३ मिनेटमा दुरी पार गर्दै तृतीय भएका हुन् ।

सोही प्रतियोगितामा धादिङका पूर्ण तामाङ, भोजपुरका सविन तामाङ, रामेछापका गोपाल तामाङ, गोरखाका सयुनराज गुरुङ र स्याङ्जाका निराजन गुरुङ सान्त्वना भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ रुपैयाँ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।

विजेता खेलाडीहरुलाई  पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । सान्त्वना भएका ५ जनालाई जनही १६ हजार ७६ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटदेखि वडा नम्बर ८ को पुलिमराङसम्मको ४४ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन प्रतियोगिता भएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रतियोगिता गरिएको बताए । सो प्रतियोगितामा ६९ जना धावकको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment