Comments Add Comment

बुटवलमा क्यान इन्फोटेक मेला सुरु

१७ माघ, बुटवल । बुटवलमा सूचना प्रविधिसम्बन्धी क्यान इन्फोटेक मेला सुरु भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटलवमा सञ्चालित क्यान इन्फोटेक २०२० को शुक्रबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

माघ २१ गतेसम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्रांगणमा सञ्चालन हुने मेलामा मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीका एक सय १० बढी स्टल रहेका छन् ।

मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजक क्यान महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए ।

मेलाको विशेष आकर्षणको रुपमा कम्प्युटर, मोबाइल तथा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजीको प्रदर्शनी, मोबाइल वालेट, कम्प्युटर, प्रिन्टर र ल्यापटप निशुल्क सर्भिस क्याम्प, नेपाली वैज्ञानिकद्वारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी आदि रहेको छ ।

त्यस्तै मेलामा हार्डवेयर र सफ्टवेयरमा नयाँ आविष्कारको प्रतियोगिता, खुल्ला ह्याकाथन प्रतियोगिता, वेबपेज डिजाइन प्रतियोगिता, वक्तृत्वकला, टिकटक प्रतियोगिता, डिजिटल गेमिङ जोन, सुचना प्रविधि तथा विद्युतीय वित्तिय साक्षरता बिषयमा गोष्ठी लगायत रहने महासंघले जनाएको छ ।

सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी, जेष्ठ र अपांगता भएका नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाइन टिकट खरिदको व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

मेला उद्घाटन गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञान र प्राविधिक क्षेत्रमा रुचि बढाउनुपर्ने बताएका छन् ।

मन्त्री बरालले सरकारी संयत्रलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने बताउँदै उनले हरेक योजना र नीति बनाउदा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए ।

क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरले अब कुनै पनि क्षेत्र प्रविधिबाट भाग्न नसक्ने बताए । उनले इन्टरनेट सेवाप्रदायकलाई कर छुट गरेर बुटवल नगरमा निशुल्क इन्टरनेट वितरण गर्न बुटवलका नगर प्रमुखलाइ आग्रह गरे ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सुचना प्रविधिको शिक्षामा जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment