Comments Add Comment

यस्तो देश, जहाँ मन्त्रीले रक्सी पिएर बजेट भाषण गर्न पाउँछन् !

हामीकहाँ चाहे मन्त्री हुन् वा कर्मचारी कार्यालयमा मदिरा सेवन बर्जित छ । अझ संसदमा मुलुकको बजेट पेश गर्दा अर्थमन्त्रीले रक्सी पिउने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन ।

तर दुनियामा एउटा यस्तो देश छ, जहाँका मन्त्रीले बजेट पेश गर्नुअघि आफुलाई मन लाग्यो भने रक्सी पिउन पाउँदछन् ।

यस्तो अनौठो नियम भएको देश अरु कुनै होइन, प्रजातन्त्रको जननी मानिने बेलायत नै हो । बेलायत नै त्यो देश हो जसले विश्वमा बजेटको सुरुवात गरेको थियो ।

बेलायतमा एउटा यस्तो कानून छ जस अनुसार बजेट पेश गर्ने दिन त्यहाँका चान्सलरले चाहे भने रक्सी पिएर पनि बजेट पेश गर्न सक्दछन् । स्मरण रहोस् बेलायतमा संसदमा बजेट पेश गर्ने मन्त्रीलाई चान्सलर भनिन्छ ।

बेलायतको तल्लो सदन हाउस अफ कमन्सको नियम पुस्तिकामा मदिरापानका विषयमा गज्जबको नियम छ । जस अनुसार रक्सी पिएर बजेट पेश गर्ने अनुमति केवल चान्सलरलाई मात्र हुनेछ, त्यो पनि केवल एक दिनका लागि मात्रै । तर अरु कुनैप्नि सांसदलाई रक्सी पिएर संसदमा आउने छुट हुँदैन । बजेट पेश गर्ने दिन बाहेक अरु दिन चाहीँ चान्सलरले पनि रक्सी पिएर संसदमा आउन पाउँदैन ।

बेलायतमा यो नियम दशकौँ देखि प्रचलनमा छ । तथापि मानिसहरु यसलाई अहिले बेतुकको ठान्दछन् ।

बेलायतमा बजेटसँग सम्बन्धित एक अर्को पनि रोचक कुरा छ । त्यहाँ बजेट पेश गर्नका लागि १ सय ५ वर्षसम्म एउटै बि्रफकेसको प्रयोग गरिएको थियो । उक्त बि्रफकेसलाई सन् १८६० मा चान्सलर विलियम ग्लाडस्टोनले पहिलोपटक प्रयोग गरेका थिए । उक्त बि्रफकेसको नाम स्कारलेट थियो । उक्त बि्रफकेस १०५ वर्षसम्म अर्थात् १९६५ बजेट पेश गर्दा प्रयोग गरियो । सन् १९६५ मा तत्कालीन चान्सलर जेम्स क्यालेघनले नयाँ बि्रफकेस प्रयोग गरे । त्यसपछि सन् १९९७ मा आएर चान्सलर गोर्डन ब्राउनले पनि बजेट पेश गर्नका लागि नयाँ बि्रफकेस प्रयोग गरे ।

सन् २०११ को बजेट पेश गर्दा अर्को रोचक घटना भयो । तत्कालीन चान्सलर जर्ज ओसबर्नले संसदमा बजेट पेश गर्नका लागि १ सय ५१ वर्ष पूरानो बि्रफकेस प्रयोग गरेका थिए जसलाई सन् १८६० मा विलियम ग्लाडस्टोनले प्रयोग गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment