
१९ माघ, बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने बताएका छन् । एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुंग्याउन पनि उनले सरकारसँग माग गरे ।
‘अहिले बजार हल्ला एकातिर र एमसीसी अर्कोतिर छ,’ नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुंग्याउनु पर्छ । तर अनुदान भने लिनुपर्छ ।’
एमसीसी अनुदानमा सैन्य रणनीति जोडिएको कतिपयले बताइरहेका बेला कोइरालाले भने चर्चा गरिएजस्तो सैन्य रणनीति नरहेको बताए ।
प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा नेपाल बीआरआईमा गएको र एमसीसी सम्झौता पनि पनि कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुँदा भएको उनले प्रष्ट पारे । ‘पढौं,ं सच्याऊ । अमेरिका सरकारसँग छलफल गरौं र अनुदान लिऔं,’उनले दोहोर्याए ।
एमसीसी विवादमा अमेरिकी दूतावासको भूमिकाले पनि केही हदसम्म काम गरेको उनले बताए । उनले भने, ‘पहिले इन्डोप्यासिफिक भाग जस्तै भन्यो, अहिले होइन भन्यो । यसले केही विवाद पक्कै सिर्जना गरेको छ ।’
एमसीसीमा केही स्वार्थ भए पनि यसलाई नेपालको हितमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
फरक प्रसंगमा उनले कार्यकर्ताको भावनाअनुसार आगामी महाधिवेशनमा आफू अघि बढ्ने बताए । त्यसका लागि जिल्ला जिल्ललामा राय सुझाव संकलन गरिरहेको उनले जानकारी दिए । ‘कोइराला परिवारले मात्रै कांग्रेस धान्ने होइन होला । कार्यकर्ताको भावनाअनुरूप अगाडि बढ्ने सोचमा छु,’ उनले भने ।
नेता कोइरालाले सरकारमा बहुमतको दम्भ देखिएको र संघीयताकै मर्मविपरीत अघि बढेको आरोप पनि उनले लगाए ।
‘सरकारले सुशासन दिन सकेन, भ्रष्टाचार पनि बढ्दै गएको छ,’, उनले भने, ‘संघीयताको पक्षमा पनि सरकार देखिएन । केन्द्रले नै सबै कुरा लिने भए संघीयता कसका लागि ?’
प्रतिक्रिया 4