Comments Add Comment

साग पदक विजेता प्रहरीका खेलाडी नगदसहित सम्मानित

मन्डेकाजीले पाए २ लाख

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई नेपाल प्रहरीले आइतबार नगदसहित सम्मान गरेको छ ।

सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य जितेको राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान समेत रहेका खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जनाएका छन् । व्यक्तिगत स्पर्धामा स्वर्णलाई १ लाख २५ हजार, रजतलाई ६० हजार र कांस्यलाई ३० हजार नगद प्रदान गरियो । त्यस्तै टिममा स्वर्णलाई ७५ हजार, रजतलाई ४० हजार र कांस्यलाई २५ हजार नगदबाट पुरस्कृत गरियो ।

दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख नगद पाए । उनले करातेको व्यक्तिगत र टिम कातामा स्वर्ण जितेका थिए ।

महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे । सोही अवसरमा प्रशिक्षकहरुलाई पनि प्रशंसा पत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।

१३औं सागमा कुल ५१ स्वर्ण जित्दै नेपाल दोस्रो भएको थियो। नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment