Comments Add Comment

यस्तो छ सूर्यको सतह, पहिलोपटक खिचियो तस्वीर !

सूर्य वैज्ञानिकहरुका लागि सधै रहस्यको केन्द्र बन्दै आएको छ । समय समयमा सूर्यका विषयमा अनेक खालका अनौठा जानकारीहरु सार्वजनिक हुने गरेका छन् । वैज्ञानिकहरुले हालै पहिलोपटक सूर्यको सतहको प्रष्ट तथा क्लोजअप तस्वीर खिच्न सफल भएका छन् ।

अमेरिकाको हवाइ टापुस्थित एउटा पहाडको टुप्पोमा रहेको नेसनल साइन्स फाउन्डेसनको ड्यानियल के इनोए नामक टेलिस्कोपबाट सूर्यको क्लोजअप तस्वीर खिचिएको हो । उक्त तस्वीरबाट सूर्यका विषयमा कतिपय रोचक तथ्यहरु समेत बाहिर आएका छन् ।

यो टेलिस्कोपले सूर्यको ३० किलोमिटर क्षेत्रको विस्तृत तस्वीर खिचेको छ । तस्वीरमा सूर्यको सतह स-साना दाना आकारले बनेको देखिएको छ । तर ती दाना वास्तवमा सानाचाहीँ होइनन् । वैज्ञानिकहरुका अनुसार हरेक दानाको क्षेत्रफल युरोपेली मुलुक फ्रान्सको क्षेत्रफल जत्तिकै छ ।

यसरी हेर्दा सूर्यको सतहको संरचना मानिसको सरीरका कोषहरुको संरचना जस्तै देखिन्छ । उक्त साइन्स फाउन्डेसनका निर्देशक थोमस रिममेलेका अनुसार यस तस्वीरले सूर्यको सतहमा रहेका संरचनाका बारेमा जानकारी प्राप्त भएको छ । उनका अनुसार यो टेलिस्कोपले नासाको पार्कर सोलार प्रोबसँग काम गर्नेछ । उक्त सोलार प्रोबले सूर्यको परिक्रमा गरिरहेको छ ।

पृथ्वीभन्दा करीब १५ करोड किलोमिटर टाढा रहेको सूर्यको प्रष्ट तस्वीरका अलावा वैज्ञानिकहरुले सूर्यको एउटा भिडियो पनि सार्वजनिक गरेका छन् जसमा सूर्यभित्र हुने विस्फोटको दृश्य छ । सूर्य वास्तवमा हाइड्रोजन र हिलियम ग्यासको विशाल पिण्ड हो र परमाणु विलय प्रक्रियाद्वारा यसले आफ्नो केन्द्रमा उर्जा पैदा गर्दछ ।

वैज्ञानिकहरुका अनुसार सूर्यको कोरोना अर्थात् केन्द्र निकै तातो छ । सूर्यको सतहको तापक्रम झण्डै ५८ सय केल्भिन छ भने केन्द्रको तापक्रम १५.७ करोड केल्भिन रहेको छ । एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment