Comments Add Comment

लुम्बिनी खुकुरीलाई नेपाल टेलिकम लिगको उपाधि

१९ माघ ,बुटवल । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लुम्बिनी खुकुरी क्लब बेलहियाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बुटवल–११,बुटवललाई ७ विकेटले पराजित गर्दै लुम्बिनी खुकुरीले प्रतियोगिताको उपाधि चुमेको हो । त्यस्तै बुटवल–११ प्रतियोगिताको उपविजेता टिम बनेको छ ।

निर्धारित ५० ओभरको खेलमा टस जितेर व्याटिङ गरेको बुटवल–११ ले ४०.५ ओभरमा १० विकेट गुमाउँदै ९७ रनको योगफल बनायो । उसका लागि इशान पाण्डेले २१, शुसान तिमिल्सिनाले १७ र तौसिफ आलमले १७ (नटआउट) रनको योगदान गरे । बलिङमा लुम्बिनी खुकुरीका लाल बहादुर अधिकारीले ४, अजय लोनियाले ३, साहब आलमले २ र धिरज शाहीले १ विकेट लिए ।

जवाफमा लुम्बिनी खुकुरीले १९.३ ओभरमा ३ विकेट गुमाउँदै १०३ रन बनायो । उसका लागि प्रज्जवल थापाले ४७ (नटआउट), सन्दिप रजालीले ३३ (नटआउट) र निश्चल चौधरीले १२ रनको योगदान गरे । बलिङमा बुटवल–११ का देवेन्द्र सोमरे र सुदन श्रेष्ठले १/१ विकेट लिए । खेलमा लुम्बिनी खुकुरीका लाल बहादुर अधिकारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा म्यान अफ द सिरिज लुम्बिनी खुकुरी क्लबका शंकर राना, बेष्ट ब्याटस्म्यान लुम्बिनी खुकुरीका शंकर राना, बेष्ट बलर लुम्बिनी खुकुरीकै अजय लोनिया र इमरजिङ प्लेअर मेलवोर्न क्रिकेट क्लब (एमसीसी) भैरहवाका सन्तोष यादव घोषित भएका थिए ।

नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिएको संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका थिए । प्रतियोगिता पुस २५ गतेदेखि सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment