Comments Add Comment

सोमकुमारको जिन्दगी : मलेसियामा ट्राजेडी, नेपालमा पुनर्मिलन

१८ माघ, काठमाडौं । सोमकुमार तामाङ ११ वर्ष मलेसिया बसेर फर्किएका ‘लाहुरे’ हुन् । तर बिहीबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिँदा उनको हातमा न अरुको जस्तो ब्यागेज थियो, न केही कोसेली ।

एकसरो टिर्सट लगाएका उनीसँग काठमाडौंमा माघको चिसो धान्ने ज्याकेजसम्म छैन । विमानस्थलबाट निस्किएर कता जाने पनि थाहा छैन । छ त हातमा एउटा कागजको चिर्कटो, जसमा उनी नेपाली नागरिक हुन् भनेर प्रमाणित गरिएको छ ।

सोमकुमार ११ महिना अघि मलेसियामा पक्राउ परेका थिए । त्यसबेला लगाएकै टिसर्ट लगाएको अवस्थामा उनलाई मलेसियाबाट डिपोर्ट गरिएको हो ।

भाइलाई नै चिनेनन्

मलेसियामा पक्राउ परेर जेलमा बसेका उनी नेपाली हुन् कि होइनन् भन्ने समेत पत्तो थिएन । नेपाली टोली जेलमा पुगेका बेला उनको अवस्था सञ्चार माध्यममा आएपछि परिवारले पहिचान गर्‍यो र नेपाल आउने बाटो खुल्यो ।

सोम आउने खबर भाइ राजकुमारले पनि पाए । क्वाललाम्पुरस्थित नेपाली दूताबासमार्फत दाइ नेपाल आउँदैछन् भन्ने थाहा पाएपछि विमानस्थलमा पुगेका उनी दाइलाई कसरी चिन्ने भन्ने चिन्तामा थिए । त्यसैले उनलाई विमानस्थलमा खटिएका प्रहरीलाई दाइको कथा सुनाए र खबर गर्न आग्रह गर्दै दाइको प्रतिक्षामा थिए ।

यो पनि पढ्नुहोस मलेसियाको जेलमा रहेका सोमकुमारको परिवार सम्पर्कमा

जेलमा बस्दा खिचिएको फोटोमा देखिएकै सेतो टिसर्टमा आएका सोमलाई देखेपछि राजकुमारले अनुमान लगाए । तर, न हातमा ब्यागेज थियो, न पासपोर्ट । कतै अलमिलएजस्तो, नर्भस भएजस्तो सोमलाई देखेपछि राजकुमारलाई चिन्न गाह्रो भएन ।

११ वर्षपछि दाइलाई देख्दा राजकुमारलाई अंगाली हालौं र माया साटौं झै लागेको थियो । तर मन थामेर बसे । दाइले चिन्छ कि चिन्दैन ? के गर्छ हेर्ने निर्णय गरे । विमानस्थलबाट निस्किएर सोमकुमार अलमलमा परे र यता-उता गर्न थाले । राजकुमारले आफूलाई रोक्न सकेनन् र अगाडि उभिएर हाँस्दै भने, ‘सोम दाइ मलाई चिन्नुभयो ?’ सोमकुमार अक्क न बक्क परे ।

उदयपुर हिँडेका सोमकुमार र भाइ राजकुमार

राजकुमारले आफ्नो परिचय दिए, दाइलाई अंगालो मारे । सोम जतिबेला विदेश गएका थिए, त्यतिबेला राजकुमार सानै थिए । त्यही भाइको साथ पाउँदा सोमकुमार खुसी भए । राजकुमारले उनलाई होटलमा लगे, दाह्री जुँगा कटाए, ज्याकेट किनिदिए र परिवारसँग कुराकानी गराए । अब सोम घर पुग्न आतुर छन् ।

त्यसैले शनिबार विहानै दाजु भाइ मोटरसाइकलमा गृहजिल्ला उदयपुरतिर हुँइकिएका छन् ।

त्यो कठीन १० वर्ष..

यो एक दशकमा सोमकुमारले भोगेका कथा फिल्मी काहानीभन्दा कम लाग्दैन ।

उदयपुर जिल्लाको साविक मयंखु वडा नं ३ (हाल कटारी नगरपालिका वडा नं १३, बरबास) का सोम सानैदेखि लजालु र कम बोल्ने स्वभावका थिए । २०६४ मा संविधानसभाको चुनावमा भोट हालेपछि सोम विदेश जान काठमाडौं आएका थिए । राम्रो कम्पनीमा गजबको कमाइ हुन्छ भनेर म्यानपावरले उनलाई मलेसियाको जोहोरबारुस्थित एक प्लाष्टिक कारखानामा पठायो ।

मलेसियामा पुगेर एक वर्षसम्म परिवारको सम्पर्कमा थिए । आफ्नो कमाइ घरमा पठाउँदै पनि थिए । तर एकाएक सोमको फोन आउन छाड्यो । सोम कम्पनी छाडेर अवैधानिक भएर भागेका थिए । भाग्नुपर्ने कारण थियो, खान बस्न नै नपुग्ने तलब ।

कम्पनीमै पासपोर्ट छाडेर भागेपछि उनले दुःख पाए । प्रहरी र अध्यागनबाट बच्ने चक्करमा मोबाइल मात्र होइन, घर परिवार र साथीभाइ सबैको सम्पर्कबाट टाढा भए । ‘जंगलमा पनि बस्नुपर्‍यो, समातिन्छ भनेर लुक्नु पर्‍यो’ उनी भन्छन् ।

अनेक ठक्कर खाँदै सोम विरक्तिएर पेनाङ पुगे । पेनाङमा उनले सेक्युरेटी गार्डको काम पाए । तर घरमा सम्पर्क गर्न उनीसँग न नम्बर थियो न कोही चिनेजानेको व्यक्ति । एक्लिएका उनले सँगै काम गर्ने इन्डोनेसियन युवतीले साथ पाए ।

दुःखमा साथ दिएकी युवतीलाई मन पराउन थाले, बिहे गरे । करिब तीन वर्षअघि छोरीको बाबु बने । अवैधानिक हैसियत बसेकाले उनी आफ्नो परिचय नेपालीका रुपमा गराउँदैनथे । त्यसैले उनीहरुको जोडीलाई इण्डोनेसियनको रुपमा धेरैले चिने ।

तर उदयपुरमा भने परिवार चिन्तामा डुब्यो । गाउँबाट गएका केहीले सोमलाई देखेको बताए, उतै घरबार बसालेको सुनाए । त्यसपछि पनि परिवारले फेसबुक लगायतका माध्यमबाट सोम र उनको परिवारसम्म पुग्ने प्रयास गरिरहृयो । ‘दशैं तिहारमा सबै जम्म्ाा हुँदा आमा सोम आएन भनेर खिन्न मान्नुहुन्थ्यो,’ राजकुमार भन्छन् ।

तर सोमकुमारले न नेपालमा परिवारको नियमित सम्पर्कमा बसे न कुनै सोधखोज गरे । उनी उतै ‘रमाए’ । जिन्दगी पनि ठीकठाक चल्दै थियो । तर ११ महिना अघि उनी बसेकै घरमा मलेसियाको अध्यागमनले छापा हान्यो र सोम समातिए ।

सम्भवतः उनकी श्रीमती पनि समातिइन् । सोमलाई भने लाग्छ, श्रीमती उनलाई जेलमा भेट्न आएकी थिइन्, तर दिइएन । भन्छन्, ‘उसलाई पनि इन्डोनेसिया फर्काइयो ।’ अहिले पनि छोरीको खुब याद आइरहेको उनले सुनाए ।

११ महिना मलेसियाको अध्यागमनसँग सम्बन्धित जेल -लेङगेङ इमिग्रेसन डेटिन्सन सेन्टर)मा बस्दा उनले अध्यागमनमा आफू नेपाली भएको भनेर टिपाए । तर उनी नेपाली भएको प्रमाणित गर्ने कागजात थिएन । राष्ट्रियता र त्यसलाई पुष्टि गर्ने कागजात नखुलेसम्म नेपाल फर्किन सम्भव पनि थिएन ।

टुटेफुटेको नेपाली बोल्ने भएकाले पनि होला, सोमले आफू नेपाली हुँ भन्दा जेलमै बसेका नेपालीले पत्याएनन् । सोम जेल परेपछि दर्जनौं नेपाली जेलमा आए, नेपाली दूतावासका अधिकारी आएर छुटाए । तर सबैले सोमलाई भने ‘इन्डोनेसियन’ भन्दै फर्किन्थे । उनी पनि न परिवारका सदस्यको नाम भन्न सक्ने, न त नेपालको ठेगाना । न गाउँको नाम भन्न सक्थे, न आफूलाई विदेश पठाउने म्यानपावरको नाम । उनले दिने एउटै जानकारी हुन्थ्यो, घर उदयपुर ।

त्यसैले नेपाली हुन् भन्नेमा कसैले विश्वास गरेन । इन्डोनेसियन श्रीमती र उनीबाट जन्मिएकी छोरी छे भन्ने जानकारी दिँदा उनको राष्ट्रियतामाथि थप प्रश्नचिन्ह थपिन्थ्यो । ‘कसैले पनि म नेपाली हुँ भन्दा पत्याएनन्,’ उनी भन्छन् ।

सोमको भाग्य, महानिर्देशकको प्रयास

तर सोमलाई नेपाल ल्याउन एउटा संयोगले महत्वपूर्ण भूमिका खेल्यो । गत मंसिरको अन्तिम सातामा मलेसिया भ्रमण गएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल नेतृत्वको टोलीले अध्यागमनसम्बन्धी जेलमा पुग्दा सोम भेटिए ।

यो पनि पढ्नुहोस मलेसियाको जेलमा सोमकुमार : न बाबुआमाको नाम याद छ, न गाउँ

महानिर्देशक भुसालले सोमकुमारको पहिचानका लागि सञ्चार माध्यममार्फत सहयोग मागे । उनको तस्वीरसहित प्रकाशित खबरहरु भाइ राजकुमारले पनि पढे । उनले वैदेशिक रोजगार विभागमा सम्पर्क गरे र दाइलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरे । र, उनले जेलको कालकोठरीबाट मुक्ति पाए ।

‘टेलिफोन गर्छु प्रिय..’

जेलबाट छुटेर सोमकुमार नेपाल आइपुगे । तर एक्लै आफू घर जाने आँट आएको छैन । किनकी मलेसियामा बसाएको घरबार, श्रीमती र छोरीसँग अलग हुँदाको पीडा त छ नै, उदयपुरमा भएका परिवारका सदस्यहरु चिन्न नसक्ने डर छ । उनलाई याद छ त केबल आमाको अनुहार र सिमेन्टीले ढलान गरेको घर ।

अब परिवारका अरु सदस्यहरुलाई पनि सोमले घर नै पुगेर भेट्लान्, रमाउलान् । तर, सोमभित्र अहिले के बितिरहेको छ, त्यो उनीमात्र जान्छन् । मलेसियामा ट्राजेडी भोगेका सोमलाई नेपालमा परिवारसँग हुने पुनर्मिलनले पक्कै घाउमा मल्हम लगाउला ।

तर अब उनले श्रीमती र छोरीलाई चाँही भेट्न पाउलान् कि नपाउलान् ? त्यसका लागि कति हन्डर खेप्लान् ? थाहा छैन ।

उनले आश भने मारेका छैनन्, र नेपाल आइपुग्दै गर्दा वैदेशिक रोजगार एपमा उनले मलेसियन भाषामा सन्देश छाड्दै भनेका छन्, ‘म नेपाल आईसकेँ, घर पुगेपछि मिलाएर तिमीलाई टेलिफोन गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment