+
+
Shares

नेकपा केन्द्रीय कमिटीको सन्देश : एमसीसी तत्काल अनुमोदन हुँदैन

एमसीसीबारे बहुमत वा अल्पमतले निर्णय नगर्न बैठकको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १८ गते २२:२४

१८ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सुरुमा सम्बोधन गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा नेपाललाई होच्याउने केही कुरा छैनन् । यसमा धेरै बहस र विवाद नगरौं ।’

१५ माघको उद्घाटन सम्बोधनपछि राष्ट्रिय सभागृहबाट हिँडेका प्रधानमन्त्री ओली केन्द्रीय समितिको बैठकमा फर्किएर गएनन् । तर बैठक एमसीसीकै वरिपरि घुम्यो ।

राजनीतिक र सांगठनिक प्रतिवेदन तथा तथा विधान संशोधन प्रस्ताव १५ वटा समूह बनाएर छलफल गराएको थियो । समूहगत छलफलमा सबैले एमसीसीबारे बोल्न छुटाएनन् । एक नेता भन्छन्, ‘एमसीसी त को कता भनेर छुट्याउने ‘इण्डिकेटर’ जस्तो बन्यो र बोल्ने कुनै पनि नेताले यसलाई छुटाएनन् ।’

नेताहरुका अनुसार प्रधानमन्त्री ओलीको प्रष्ट आशय थियो, एमसीसी छिटो अनुमोदन गरौं । जब कि नेताहरु एमसीसीबारे उठेका केही प्रश्न र केही भ्रमपूर्ण प्रचारका कारण जनस्तर र कार्यकर्ता पङ्तीको चर्को दबावमा आएका थिए । दोहोरो चेपुवामा परेका कारण बोल्दा कसैले पनि यसलाई छुटाएनन् ।

शनिबार १५ समूहका टोली नेताले छलफलको निष्कर्ष पूर्ण बैठकमा पेश गरेका छन् ।
एक नेता भन्छन्, ‘यदि सचिवालयले प्रस्तावका रुपमा यसो गरौं भनेर ल्याएको भए केही सहज हुन्थ्यो होला । त्यो पनि नभएपछि धेरैले आफ्ना धारणा राखेका छन् र बहुसंख्यकले परिर्माजन नगरी पारित नगरौं भनेका छन् ।’

प्रधानमन्त्रीको चाहना र समूहगत छलफलको निष्कर्षमा अन्तर देखेपछि नेताहरुले भने एमसीसीबारे बहुमत वा अल्पमतले निर्णय नगर्न पनि आग्रह गरेका छन् । पूर्वएमाले नेताहरुले त महाकाली सन्धी गर्नेबेला बहुमत र अल्पमतबाट निर्णय गर्दाको परिणाम स्मरण गर्दै त्यो गल्ती नदो¥याउन आग्रह गरेका हुन् ।

बैठकमा नेताहरुले यदि थप परामर्श वा प्रष्टता आवश्यक भए विज्ञहरुसहित सानो टिम बनाएर छलफल गर्नुपर्ने तर हतारिएर निर्णय गर्न नहुनेमा जोड दिएका छन् ।

एमसीसी तत्काल अनुमोदन नहुने संकेत

समूहगत छलफल सकिएपछि नेकपा केन्द्रीय कमिटी बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । भोलिको बैठक अघि सचिवालय बैठक बस्नेछ, जसमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने एक नेताले जानकारी दिए ।

तर, बैठकको छलफलले एमसीसी तत्काल अनुमोदन हुने संकेत नदेखिएको उनले बताए । उनले भने, ‘फेरि सचिवालयमा छलफल गर्ने वा विज्ञहरुसँग परामर्श गरेर निर्णय गर्ने भन्ने हुन्छ होला । तत्काल अनुमोदन भने नहुने सम्भावना बढ्यो ।’

सचिवालयपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव विष्णु पौडेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् । नेताहरुले सचिवालय सदस्यहरु बोल्नुपर्ने माग गरेको भए त्यो सम्भावना छैन ।

सचिवालय सदस्यहरु केन्द्रीय कमिटीमा नबाल्ने सहमति नै भएको स्रोतको दाबी छ ।

निर्वाचन प्रणालीबारे पुनर्विचार गरौं

नेकपा केन्द्रीय कमिटी बैठकमा नेताहरुले भड्किलो निर्वाचन प्रणालीबारे प्रश्न उठाएका छन् । अहिलेको निर्वाचन प्रणालीले पार्टी न सार्वहारावर्गको न पूँजीपतिहरुको हुने अवस्था आउने भन्दै नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

पूर्व माओवादीबाट आएका नेताहरुले भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिएका छन् ।

महाधिवेशन हुनेमा शंशय

बैठकमा पार्टी महासचिव विष्णु पौडेलले २०७७ चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । अरु निर्वाचन कार्यतालिका नआएको भन्दै नेताहरुले प्रस्तावित मितिमा महाधिवेशन हुनेमा शंशय व्यक्त गरेका छन् ।

अहिलेसम्म पार्टीको सांगठनिक एकता नटुंगिएको स्मरण गराउँदै नेताहरुले मिति तोक्दा महाधिवेशन गर्न सकिने गरी तोक्नुपर्नेमा जोड दिएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?