Comments Add Comment

छोरी कुटेको निहुँमा साथीको हत्या !

१९ माघ, विराटनगर । झापा विर्तामोडका २२ वर्षीय अभिषेक कटवालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विराटनगर– १० का २८ वर्षीय विजय कार्की र बुढीगंगा गाउँपालिका–४ बस्ने २२ वर्षीय अर्जुन भण्डारीलाई पक्राउ गरेको हो ।

मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ पराल र बालुवाले छोपेको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

हत्यापछि  ज्याकेट र जुत्ता लगे

९ माघमा घुम्न जान्छु भन्दै अभिषेक घरबाट निस्किएका थिए । मे १० प ८६७५ नम्बरको स्कुटर लिएर निस्किएका उनले विराटनगरका विजयलाई फोन गरे । विजयसँग अभिषेकको चिनजान करिब तीन महिना अघि विर्तामोडमा भएको थियो । चिनजानपछि नजिकिएका दुई जना पछिल्लो समय घनिष्ट साथी बनेका थिए । बिर्तामोड पुग्दा विजयले उनकै स्कुटर प्रयोग गर्थे ।

प्रहरीका अनुसार लागूऔषध प्रयोगर्ता दुबैको भेट विर्तामोड बस्दै आएकी राई थरकी युवतीको  घरमा थियो । विजयकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा साइप्रसमा छिन् ।

लागूऔषध मुद्दामा विजय पक्राउ परेपछि उनको छोरी रेखदेखको जिम्मा बिर्तामोड बस्ने राई थरकी सालीले गर्दै आएकी थिइन् ।

सालीको घरमा अभिषेकको आउजाउ बाक्लो थियो । प्रहरी स्रोतका अनुसार मृत अभिषेक र विजयकी सालीबीच प्रेम सम्बन्ध थियो । सालीले नै अभिषेक र विजयबीच चिनजान गराएकी थिइन‍् ।

विजय छोरी भेट्न जाँदा अभिषेकले सालीको पैसा खाएको र आफ्नो सानी छोरीलाई कुट्ने गरेको सुनेका थिए । त्यसैको रिस हत्यासम्म पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

माघ ९ गते अभिषेकले विराटनगर आउने भन्दै विजयलाई फोन गरे । विराटनगर आएको जानकारी पाएपछि विजयले हत्या गर्ने योजना अर्जुनलाई सुनाए ।

अभिषेक विराटनगर आएपछि उनीहरु एउटै स्कुटरमा चढेर भारतीय बजार जोगवनी पुगे । जोगवनीमा लागूऔषध कोरेक्स सेवनपछि पुन नेपाल फर्किए ।

कटवालकै स्कुटमा तीन जना बसेर निमुवा चोकसम्म पुगे । निमुवाबाट विराटनगर रिङरोड हुँदै घटनास्थलसम्म पुगे  ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनास्थलमा पनि लागूऔषध सेवनपछि अभिषेकले नै लगाएको मफलरले उनको घाँटी बाँधे । अर्जुनले मखलर तानीरहे । उनी बेहोस भएपछि लगाएको लुगा खोलिदिए ।

विजयले इँटा खोजेर ल्याए । मफलरले तानेका कारण कटवाल अचेत भएका थिए । लगाएको लुगा खोलेपछि पालैपालो इटाले टाउकोमा प्रहार गरे । अनुहार नचिनिने बनाइसकेपछि खाल्डोमा शव हालेर बालुवाले पुरेर परालले छोपिदिए ।

घटनापछि मृतकको मोबाइल, ज्याकेट, जुत्ता, पर्स र स्कुटर लिएर उनीहरु इटहरी पुगे । कटवालले लगाएको ज्याकेट अर्जुनले लगाए भने जुत्ता विजयले बोके । त्यहाँबाट इटहरी पुगेर अभिषेकको मोबाइलबाट सीमकार्ड फालेर आगोमा हालिदिए ।

इटहरीबाट फर्किएका उनीहरु अर्जुनको घरमा आएर बसे ।  तीन दिनसँगै बसेका उनीहरु शव भेटिएपछि छुट्टिएका थिए । अर्जुनको घरबाट निस्कँदा विजयले मृतकले प्रयोग गर्ने मोबाइल, स्कुटर लिएर निस्किएका थिए ।

लागूऔषध सेवन गरी बेलबारीको बाहुनी बजार क्षेत्रमा पुगेको अवस्थामा  प्रहरीले उनलाई पक्राउ गरेको थियो । कार्कीले कुदाएको स्कुटरको डिकीमा मृतकको पर्स, लाइसेन्स, मोबाइल भेटिएको थियो ।

भण्डारी भने विराटनगरबाट पक्राउ परेका थिए । पक्राउ परेकाहरुबीच घटनाअघि पटक पटक टेलिफोन सम्वाद भएको  थियो । सम्वादका आधारमा अनुसन्धान संलग्नता खुलेको डीएसपी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment